काठमाडौं, १२ वैशाख । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रौतहटले स्थानीय तहको निर्वाचनमा सहभागी नहुन अपील गरेको छ ।
नेकपा रौतहटका इञ्चार्ज विजयलाल सिंह र सेक्रेटरी विष्णु बरालले संयुक्त विज्ञप्ति जारी गरेर स्थानीय निर्वाचनलाई हर क्षेत्रबाट तिरस्कार गर्न अनुरोध गरेका छन् । उनीहरूले जबरजस्ती स्थानीय चुनावमा सहभागी भए भौतिक कारबाही गर्ने चेतावनी समेत दिएका छन् ।
‘यस्तो द्वन्द्वमा सामिल नहुन, उमेदवार नबन्न, प्रचार–प्रसार नगर्न, जनभेला नगर्न, मतदान प्रक्रियामा सामेल नहुन र त्यस्तो तयारीमा नलाग्न सम्बन्धित सबैलाई अनुरोध गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ ।
नेकपाले चेतावनी दिँदै भनेको छ, ‘अन्यथा आईपर्ने जिम्मेवारी सम्बन्धित सहभागी पक्षनै हुनेछ ।’
नेकपाले निर्वाचनमार्फत जनताको बीचमा द्वन्द्वको बीउँ रोप्ने षडयन्त्रको मञ्चन गरिएको आरोप लगाएको छ ।
स्थानीय तहको निर्वाचन विथोल्न विभिन्न कार्यक्रम गर्दै आएको ‘विप्लव’ नेतृत्वको नेकपाले निर्वाचन मिति नजिकिँदै गर्दा आफूलाई कडा रुपमा प्रस्तुत गर्दै ल्याएको छ ।











प्रतिक्रिया