८ मंसिर २०८३, मंगलबार

यस्ता छन् प्रचण्डलाई काउन्टर दिने एमाले स्थायी कमिटीका महत्वपूर्ण निर्णयहरु

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ वैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले दुई चरणमा निर्वाचन गर्ने सरकार र मधेसी मोर्चाबीच भएको सहमतिलाई अस्वीकार गरेको छ । र, संविधान संशोधन असफल पार्ने निर्णय समेत गरेको छ ।

सोमबार अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको स्थायी कमिटीको ६० औं बैठकले यस्तो निर्णय गरेको हो ।

निर्णयहरु निम्नप्रकार छन्ः

१. नेकपा (एमाले) २०७४ बैशाख ३१ गतेका लागि निर्धारित मितिमै स्थानीय तहको निर्वाचन हुनुपर्छ भन्ने दृढ मान्यता राख्दछ । तर निर्वाचन सम्पन्न गर्न मुख्य जिम्मेवारी बहन गर्नु पर्ने सरकार भने एक पछि अर्को संविधान संशोधनको प्रस्ताव अगाडि सारेर निर्वाचनको वातावरण बिगार्ने र अन्यौल थप्ने काम गरिरहेको छ । गतः मङ्सिरमा प्रस्तुत गरिएको संशोधन विधेयक विरुद्ध सशक्त जनदबाब सिर्जना भइसकेपछि र विधेयकका कतिपय प्रावधानहरू संविधानको मर्म विपरित रहेको सर्वोच्च अदालतको ठहरपछि विधेयक फिर्ता लिएर वातावरण सहज बनाउनुको सट्टा संसदमा फेरि अर्को विधेयक दर्ता गरिएको छ । असन्तुष्ट पक्षलाई रिझाउने नाममा सरकारले अगाडि बढाएको यो कदम संविधान निर्माणमा मुख्य भूमिका खेलेका नेकपा (एमाले) लगायत दलहरूसँग दूरी र द्वन्द्व बढाउने उद्देश्यले प्रेरित छ । यी कामहरू सङ्क्रमणकालीन सरकारका सीमा र जिम्मेवारी विपरित छन् ।

२. संविधानको धारा २७४ का महत्वपूर्ण उपधाराहरू संशोधन गर्ने र स्थानीय जनप्रतिनिधिहरूका अधिकारहरू कटौती गर्ने प्रस्तावित संशोधनका प्रावधानहरू यस अगाडिको संशोधन विधेयकभन्दा पनि बढी पश्चगामी र जनविरोधी छन् । सम्मानित अदालतको फैसला विपरित सम्बन्धित धारा नै परिवर्तन गर्न खोज्नु भनेको अनैतिक र संविधान विरुद्धको जालसाजी समेत हो । वर्तमान सरकार नेपालको संविधानको आधारभूत संरचना र हामीले स्थापित गरेको सङ्घीयताको मौलिक ढाँचामाथि नै प्रहार गर्न उद्यत् छ भन्ने हाम्रो पार्टीको निष्कर्ष छ । पार्टी संविधानको आधारभूत संरचनालाई नै खल्बल्याउने, सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई कमजोर गर्ने तथा स्थानीय तहका अधिकारहरू कटौती गर्ने कुनै पनि प्रयाशका विपक्षमा रहेको र रहिरहने स्पष्ट पार्न चाहन्छौं ।

३. आफ्नै पूर्व–घोषणा विपरित बिना कुनै आधार र औचित्य एक महिनाको अन्तरालमा दुई चरणमा निर्वाचन गर्ने र दोस्रो चरणको मिति बर्खायाममा सार्ने सरकारको यो निर्णयले निर्वाचनलाई अन्यौलग्रस्त बनाएको छ । यस निर्णयले निर्वाचनको तयारीमा भइसकेको ठूलो धनराशीलाई व्यर्थ तुल्याउने छ र निर्वाचन खर्चमा ठूलो वृद्धि गर्नेछ । जेठ १५ गते बजेट प्रस्तुत गर्नै पर्ने संवैधानिक दायित्वलाई वेवास्ता गर्दै अगाडि सारिएको यो प्रस्ताव बजेट मार्फत् नयाँ कार्यक्रम अगाडि सारेर मतदातालाई प्रभावित गर्ने दुराशयबाट प्रेरित छ । यो निर्वाचनको सर्वमान्य सिद्धान्त र निर्वाचन आचार–संहितासमेतको विरुद्ध छ । निर्धारित समयमा बजेट प्रस्तुत गरेर मुलुकको आर्थिक विकासको व्यवस्थित पद्धति बसाल्न संविधानमै गरिएको यो व्यवस्थालाई कमजोर गर्ने कुनै पनि कदम नेकपा (एमाले) लाई मान्य नहुने स्पष्ट पार्न चाहन्छौं ।

यसैबीच स्थानीय निर्वाचनसम्बन्धी अन्य निर्णय गर्न र पार्टीको निर्वाचन घोषणा–पत्रलाई अन्तिम रूप दिन स्थायी कमिटीको अर्को बैठक भोलि बैशाख १२ गते ११ बजे अध्यक्षको निवास, बालकोट भक्तपुरमा बस्ने सचिव योगेश भट्टराईले जानकारी दिए ।