काठमाडौं, ११ वैशाख । स्थानीय तह निर्वाचनको तयारीका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल, मधेसी मोर्चासहितका दलहरू आवद्ध संघीय गठबन्धन र निर्वाचन आयोगका पदाधिकारीहरूको परामर्श भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान भएको संयुक्त बैठकमा आयोगका प्रमुख आयुक्त र आयुक्तहरूले निर्वाचनको तयारी र कठिनाइहरूका विषयमा जानकारी गराएका थिए ।
बैठकमा स्थानीय तह निर्वाचनको राजनीतिक तथा प्राविधिक तयारीबारे कुराकानी भएको प्रधानमन्त्री दाहालको निजी सचिवालयद्वारा जारी प्रेस नोटमा उल्लेख छ ।
निर्वाचन आयोगको काम र तयारी पनि प्रभावित नहुने र दर्ता प्रक्रियामा छुटेका दलहरूलाई पनि निर्वाचनमा समावेश गर्ने विधिका विषयमा छलफल केन्द्रित भएको थियो ।
संयुक्त बैठकले पहिलो चरणको निर्वाचनका लागि उम्मेदवारी दर्ताको मिति वैशाख १६ गतेलाई वैशाख १८ मा सार्ने, निर्वाचन आयोगको आफ्नो अन्य तयारीलाई यथावत् राख्ने निर्णय गरेको छ ।
दोस्रो चरणको निर्वाचनका लागि दल दर्ताको व्यवस्था गर्ने तर तत्काल कानून संशोधन सम्भव नभएकाले नयाँ चुनाव चिन्ह र मतपत्र छापेर निर्वाचन गर्दा निर्वाचन प्रभावित हुने भएकाले चुनाव चिन्हसम्बन्धि व्यवस्था निर्वाचन आयोगले तोकेबमोजिम हुने निर्णय पनि बैठकले गरेको छ ।
बैठकमा जेठ १५ मा बजेट ल्याउने संवैधानिक व्यवस्थाले निर्वाचन आचारसंहिता आकर्षित हुने भएकाले बजेटलाई केही समय पर सार्ने विषयमा पनि कुराकानी भएको थियो ।
निर्वाचनसँग सम्बन्धित सम्पूर्ण अन्यौल हटेको प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले जानकारी दिए ।
आयोगसँगको छलफल अघि सरकार र संघीय गठबन्धनमा आवद्ध दलहरूबीच कुराकानी भएको थियो ।
सरकार र गठबन्धन बीचको बैठकले संविधान संशोधन र निर्वाचनबारे गरिएको सहमति महत्वपूर्ण भएको निष्कर्ष निकाल्दै केही दिनभित्रै राष्ट्रिय सहमतिको दस्तावेज बनाएर हस्ताक्षर गर्ने निर्णय पनि भएको छ ।











प्रतिक्रिया