काठमाडौं, ११ वैशाख । नेपाल प्रहरीको महानिरीक्षक बढुवा प्रकरणमा डिआइजी नवराज सिलवालले सर्वोच्च अदालतमा पेश गरेको कार्यसम्पादन मूल्याङ्कन फाइल छानबिन गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरेको छ ।
सिलवालले फाइल किर्ते गरिएको आशंकामा गृह मन्त्रालयले डिआइजी विजयकुमार भट्टको संयोजकत्वमा पाँच सदस्यीय छानबिन टोली गठन गरेको हो । टोलीको सदस्यहरूमा एसएसपी पवन खरेल, एसपी राजुबाबु श्रेष्ठ, डिएसपी मोहन थापा र एकजना प्रहरी निरीक्षक रहेको उच्च स्रोतले जनाएको छ ।
डिआइजी सिलवाले कार्यसम्पादन मूल्यांकन फाइलमा किर्ते गरेको भन्दै मन्त्रिपरिषदले कारबाही गर्न निर्देशन दिए लगत्तै गृह मन्त्रालयले शुक्रबार छानबिन टोली बनाएको स्रोतको भनाइ छ ।
कार्यसम्पादन मूल्यांकन फाइल कसैले पनि राख्न नपाउने व्यवस्था हुँदाहुँदै सिलवालले आफूसहित तत्कालीन डिआइजी प्रकाश अर्यालको पनि विवरण आफ्नो रिटसँगै सर्वोच्च अदालतमा पठाएका आरोप छ ।
सरकारले चैत २८ गते डिआइजी प्रकाश अर्याललाई नेपाल प्रहरीको महानिरीक्षक नियुक्त गरेपछि भोलिपल्ट अदालत खुल्ने बित्तिकै डिआइजी सिलवाल कार्यसम्पादन मूल्याङ्कनमा अर्यालभन्दा आफू अगाडि रहेको दावी गर्दै अदालत पुगेका थिए ।
महानिरीक्षक अर्याललाई दज्र्यानी चिन्ह दिने कार्यक्रम र प्रहरी समन्वय समिति (पीसीसी) बैठकमा अनुपस्थित भएको भन्दै चैत ३१ गते प्रहरी प्रधान कार्यालयले सिलवाललाई स्पष्टीकरण सोधिसकेको छ ।











प्रतिक्रिया