जाजरकोट, १० वैशाख । जाजरकोट जिल्लामा गाउँपालिका प्रमुखको टिकट नपाएपछि एमाले परित्याग गरेका लालबहादुर थापालाई माओवादी केन्द्रले टिकट दिएको छ ।
एमाले जिल्ला कमिटी सदस्य थापाले पार्टीले टिकट नदिएको झोँकमा माओवादी केन्द्रको सदस्यता लिएका थिए । पार्टी प्रवेशसँगै माओवादी केन्द्रले थापालाई शिवालय गाउँपालिकाको प्रमुखको टिकट थमाएको छ ।
शिवालय गाउँपालिका–३, राग्माका थापा २०५४ सालको स्थानीय निर्वाचनमा साबिकको सीमा गाविसबाट एमालेको तर्फबाट निर्वाचित भएका थिए ।
नेपाली कांग्रेसका नेताहरू जुनीचाँदे गाँउपालिकाका नरजीत शाही र वारेकोट गाँउपालिकाका दिलबहादुर नेपाली वडा अध्यक्षको टिकट नपाएको भन्दै शाही माओवादी केन्द्रमा र नेपाली एमाले प्रवेश गरी वडा अध्यक्षको टिकट हात पारेका छन् ।
आफू विगतदेखि क्रियाशील रहँदै आएको पार्टीबाट स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न नपाउने देखेपछि अर्को पार्टीमा प्रवेश गर्ने होडबाजी नै चलेको छ ।
नयाँ शक्ति पार्टीका जिल्ला अध्यक्ष प्रशान्त शर्मासहितका दर्जन नेताहरू माओवादी केन्द्रमा प्रवेश गरेका छन् । माओवादी केन्द्रबाटै नयाँ शक्तिमा गएका शर्माले उक्त पार्टीलाई जनताले साथ नदिएकोले पुरानै घर फर्किएको बताएका छन् ।











प्रतिक्रिया