८ मंसिर २०८३, मंगलबार

एमाले निकट मुस्लिम संगठनद्वारा दुई चरण चुनावको बिरोध

2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १० वैशाख । एमाले निकट नेपाल मुस्लिम इत्तेहाद संगठनले स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने सरकारको निर्णयको कडारुपमा बिरोध गरेको छ ।

संगठनका उपाध्यक्ष एवम् केन्द्रीय हज कमिटीका पूर्वअध्यक्ष ताजमोहम्मद मियाँले जेठ ३१ दोस्रो चरणको चुनाव गर्ने निर्णय गरेर सरकारले मुस्लिमहरूप्रति ठूलो अन्याय गरेको आरोप लगाए ।

‘जेठको १५ गतेदेखि एक महिनासम्म मुस्लिमहरूको रमजान हुन्छ’, उनले भने, ‘चुनावमा मुस्लिमहरू सहभागी नहोउन् भन्ने उद्देश्यले सरकारले स्थानीय निर्वाचनलाई दुई चरणमा गर्न लागेको छ ।’

एक महिनाको रमजान पर्वमा मुस्लिम समुदाय बिहान ३ बजेदेखि बेलुका साढे सात बजेसम्म रोजा अर्थात ब्रत बस्ने गर्छन् ।

संगठनका उपाध्यक्ष मियाँले भने, ‘जेठ १४ गतेभित्र जति चरणको चुनाव गरे पनि हामीलाई कुनै आपत्ति छैन । तर, जेठको ३१ गतेसम्म दोस्रो चरणको चुनावको मिति तोकेर अन्याय गरिएको छ ।’ उनले वैशाख ३१ गतेभित्र एक चरणमा मुलुकभरि चुनाव गर्न माग गरे ।

मधेसी मोर्चाले पनि मुस्लिमहरू स्थानीय तहको निर्वाचनमा सहभागी होस् भनेर नचाहेको उनको आरोप छ । ‘मधेसी मोर्चा र सरकारको डिजाइनमा यति धेरै चलखेल भएर मस्लिमहरू विरुद्ध षड्यन्त्र भएको हो’, उनले भने, ‘यो षड्यन्त्रको मुस्लिमहरूले भण्डाफोर गर्छन् ।’

मन्त्रिपरिषदको आइतबार बसेको बैठकले स्थानीय तहको निर्वाचन वैशाख ३१ र जेठ ३१ गते दुई चरणमा चुनाव गर्ने निर्णय सार्वजनिक गरे लगत्तै नेपाल मुस्लिम इत्तेहाद संगठनले विरोध गरेको हो ।