काठमाडौं, १० वैशाख । छ वटा मधेस केन्द्रित राजनीतिक दलहरू एकीकरण पछि बनेको राष्ट्रिय जनता पार्टीले आफ्नो मुख्यालय राख्नका लागि उपयुक्त घरको खोजी सुरु गरेको छ ।
तराई मधेस लोकतान्त्रिक पार्टीको मुख्यालय रहेको बिजुलीबजारको घर सानो रहेको र अरु मधेस केन्द्रित दलका कार्यालय पनि साना रहेकाले ठूलो घर र धेरै पार्किङ गर्न मिल्ने कार्यालयको खोजी भएको हो । राजपाका नेता मनीषकुमार सुमनले पार्टी कार्यालयका लागि उपयुक्त घरको खाजी भैरहेको बताए ।
छ वटा दलमध्ये केही दलको केन्द्रीय कार्यालय नै छैनन् । पार्टी केन्द्रीय कार्यालय रहेका दलहरूले पनि आफ्ना कार्यालयहरूलाई जनवर्गीय संगठनका लागि दिने तयारी गरेका छन् ।
‘छ वटा दल गठन भएपछि नेता, कार्यकर्ताहरू धेरै हुनु स्वभाविक हो’, सुमनले भने, ‘बैठक बस्नेदेखि सांगठनिक काम गर्नका लागि उपयुक्त कार्यालयको खोजी भइरहेको छ ।’
सुमनका अनुसार ३–४ दिनमै कार्यालय खोजेर व्यवस्थापन गर्ने तयारी भएको छ ।
तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी, मधेसी जनअधिकार फोरम गणतान्त्रिक र नेपाल सद्भावना पार्टीबीच पार्टी एकीकरण भएर राष्ट्रिय जनता पार्टी गठन भएको छ ।
नयाँ पार्टी राजपाको अध्यक्ष महन्थ ठाकुरले पाएका छन् । अन्य दलका अध्यक्षहरूलाई अध्यक्षमण्डलमा राखिएको छ । एक वर्षभित्र महाधिवेशन गरेर अध्यक्षको चयन गरिनेछ ।











प्रतिक्रिया