विराटनगर, ९ वैशाख । उपप्रधानमन्त्री एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले सरकार सबैको सहमति र सहभागितामा निर्वाचन गराउने वातावरण निर्माण गर्न लागेको बताउनुभएको छ ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उपप्रधानमन्त्री थापाले सो वातावरण मिलाउनका लागि मधेसी मोर्चासँग निरन्तर छलफल जारी रहेको जानकारी गराउनुभयो ।
मधेसी मोर्चासँग सहमति भए स्थानीय तहको निर्वाचन दुई चरणमा हुने उल्लेख गर्दै उपप्रधानमन्त्री थापाले मधेसी मोर्चाले स्थानीय तहको सङ्ख्या बढाउनुपर्ने माग राखेको जानकारी गराउनुभयो ।
मधेसी मोर्चासँग सहमति भए वैशाख ३१ गते नै सबै क्षेत्रमा निर्वाचन हुने स्थिति नरहेको भन्दै उहाँले केही जिल्लामा जेठभित्र दोस्रो चरणमा निर्वाचन गराउने विषयमा पनि सहमति हुनसक्ने स्पष्ट पार्नुभयो । उहाँले मधेसी मोर्चासँग सहमति हुनुअघि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को सहमति लिनुपर्ने पनि बताउनुभयो ।
पत्रकारको जिज्ञासामा उहाँले स्थानीय तहलाई प्राप्त अधिकारलाई खोस्न नहुने स्पष्ट पार्दै राष्ट्रिय सभाको निर्वाचनमा स्थानीय तहका जनप्रतिनिधिलाई पनि मतदानको अधिकार दिनुपर्ने धारणा राख्नुभयो ।
उपप्रधानमन्त्री थापाले नेपाल सरकारको सरकारी कामकाजको भाषा नेपाली हुनुपर्ने र प्रदेशमा अन्य भाषा राख्न सकिने पनि स्पष्ट पार्नुभयो । रासस












प्रतिक्रिया