८ मंसिर २०८३, मंगलबार

विप्लवका जिल्ला नेता भन्छन्- प्रचण्डजी राष्ट्र र जनतालाई धोका दिएर ‘दलाल’ बन्नुभएको छ

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सरकारले यही बैशाख ३१ गते स्थानीय तहको निर्वाचन गराउने अन्तिम तयारीमा पुगेको छ । तर नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टी निर्वाचन खारेजको माग जोडदार रुपले उठाइरहेका छन् । विप्लव माओवादीले देशभर नै निर्वाचन खारेज गर भन्ने पर्चा पम्पलेट समेत टाँस्ने अभियान र सँगसँगै शहर देखि गाउँसम्म सभाहरु पनि गरिरहेको छ । सरकारले सेना प्रयोग गरेर भएपनि निर्वाचन गराउने योजनामा रहेको बेला निर्वाचनको खारेज माग कसरी सम्भव होला भन्ने विषयमा विप्लव माओवादीका सिरहा इन्चार्ज तथा चर्चित यूवा नेता लक्ष्मण पौड्यालसँग संवाददाता सन्तोष यादबले गरेको कुराकानी :

निर्वाचनले व्यस्त बनाएको छ है ?

– व्यस्त नै छौं । जनतालाई चाहि यो संसदीय व्यवस्थामा हुने निर्वाचनले अधिकार सम्पन्न बनाउँदैन । राष्ट्र पनि स्वाधिन हुन सक्दैन् । देश पनि समृद्धिको बाटोमा अगाडी बढ्न सक्दैन । त्यसैले संसदीय व्यवस्था र यो कथित निर्वाचन खारेजको माग बोकेर जनताको घरदैलोमा व्यस्त भएका छौं ।

लामो समयपछि स्थानीय तहको निर्वाचन हुन लाग्दा जनतामा खुसीको माहोल छ, अनी तपाईहरु निर्वाचन खारेजको माग राखेपछि जनताकै विरुद्धमा गएको लाग्दैन ?

– होइन्, निर्वाचन खारेजको माग जनताकै हो । जनताको माग तपाई हुर्नुहुन्छ भने विभिन्न चरणमा जनताहरु परिवर्तनको आन्दोलनमा लाग्यो । जस्तै १० बर्षको जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन जनताले गर्यो । हरेक नेपाली जनताको चाहना थियो– संसदीय व्यवस्था अन्त्य गर्ने । अधिकार सुनिश्चित गर्ने खालको व्यवस्था, जनताको आधारभुत कुराको ग्यारेण्टी गर्ने व्यवस्था र नेपाल राष्ट्रलाई स्वाधिन तथा समृद्धि बनाउने व्यवस्थाका लागि नेपाली जनताले हरेक आन्दोलनमा बलिदान गरेका छन् । तर जनताकै भावना विपरित संविधान जारी गर्ने काम भयो । यस्तो संविधान कदापी मान्य हुँदैन् । त्यसैले जनता नै निर्वाचन खारेजको पक्षमा उभिएका छन् । हामीले गर्ने हरेक सभामा लाखौं लाखको जनताको उपस्थिति हुन्छ । यसले पनि पुष्टि हुन्छ कि जनता निर्वाचनको पक्षमा छैन् ।

जनताको अधिकारको लागि निर्वाचनको खारेज हुनुपर्छ तपाईले भन्नुभयो, तर मधेसी जनताले अधिकार पाउनुपर्छ भन्ने खै कहिल्यै पनि तपाईको पार्टीको महासचिव विप्लवको बोल्नु भएन् नी ।

– तपाईले नेपालको एउटा राजनीतिक पार्टी हेर्नुहुन्छ भने त्यसमा सबैभन्दा हामी हौं उत्पीडनमा परेको जनताको पक्षमा बोल्ने वा उनीहरुको प्रतिनिधित्व गर्ने पार्टी । चाहे मधेसको कुरा होस् वा नेपालको । देशमा अहिलेको व्यवस्थाले जति पनि उत्पीडन थुपारेको छ, यो उत्पीडनबाट मुक्त हुनुपर्छ भन्ने कुरा चाही हामीले मात्र उठाएका छौं । हो मधेसमा समस्या छ । निकै ठूलो समस्या छ । जनताहरु उत्पीडित छन् राज्यसत्ताबाट । उत्पीडित जनतालाई मुक्त गर्ने र अधिकार सम्पन्न गराउने बाटो वैज्ञानिक समाजवादी व्यवस्था मात्र हो । संसदीय व्यवस्थाले मधेसीको अधिकार पनि सुनिश्चित हुन सक्दैन् । त्यसैले म मधेसका जनतासँग पनि संसदीय व्यवस्था ध्वस्त पार्न अपिल गर्दछु ।

के निर्वाचन खारेज गराउन सक्नुहुन्छ ?

– खारेज हुन्छ । हामी विश्वस्त छौं । हाम्रो शक्ति नेपाली जनताको हामी प्रतिको विश्वासले खारेज गर्न सक्छ । राज्यसत्ता भनेको ठूलो कुरा होइन् । जनता सबभन्दा ठूलो शक्ति हो । र हामीले बोकेको एजेण्डाहरुप्रति जनता उत्साहीत छन् । त्यसैले हाम्रो एजेण्डामा उत्साहीत देखिएका जनताको शक्तिले नै निर्वाचन खारेज गराउँछ ।

सरकारले सेना प्रयोग गरेर भएपनि निर्वाचन गराउने तयारीमा छ, बन्दुकको आडमा हुने निर्वाचन खारेज गराउन सम्भव छ त ?

– यहाँ बन्दुकको कुरा होइन्, पहिलो कुरा विचारको हो । हिजो पनि सेना र पुलिससँग बन्दुक थियो । जनताको ताकत पैदा भएपछि सेना र पुलिसको बन्दुक फिका हुन्छ । त्यसैले जनताको भावना विपरित यदि जर्वदस्त केहि कुरा लाद्न खोज्यो भने विद्रोह हुन्छ । त्यो विद्रोहले तिनीहरुलाई नै सखाप पार्नेछ ।

दोस्रो संविधानसभाको चुनाव बहिष्कारको नाममा वैद्य माओवादीले बम पड्काए, तपाईहरुले स्थानीय तहको निर्वाचन खारेजको नाममा बन्दुक पनि पड्काउनुहुन्छ ?

– हामीले पड्काउने विचार हो । राज्यले जुन ढंगले आउँछ, जनताले त्यही ढंगबाट प्रतिकार गर्न तयार छन् । राज्य बन्दुक देखाएर जनतालाई दमन गर्न खोज्यो भने त्यसको प्रतिवाद हुन्छ हुन्छ । जनतालाई हामीले विचार दिन्छौं । र, जनताले विचारमा आधारित राज्यको हर्कत अनुसारको आफ्नो प्रतिजवाफ दिन्छन् ।

कस्तो प्रतिवाद ?

– हामीले राजनीतिक हिसाबले प्रतिवाद गर्छौं । उनीहरु कुन हिसाबले प्रस्तुत हुन्छ, हामी त्यसैको मुल्यांकन गरेर प्रस्तुत हुन्छौं ।

तपाईको पार्टीको केहि नेता भुमिगत भइसकेका छन्, तपाईहरु कहिले हुने ?

– होइन्, हामीलाई भुमिगत हुने रहर र इच्छा छैन् । शान्तिपूर्वक नेपाली जनताको मागहरु पुरा होस् चाहेका छौ । तर मुखमा पट्टी बाँध्ने काम वा हाम्रो हातहरुमा हथकडी लगाउने काम भयो भने त्यसको प्रतिवाद त्यही ढंगबाट गर्छौ । भुमिगत बाध्यताको उपज हुनेछ, रहर होइन् ।

तपाईको पार्टीले बाँडेको पर्चा पम्पलेटमा अब फेरी जग्गा कब्जा गर्ने अभियान चलाउने लेखिएको छ, किन मधेसमै जग्गा कब्जा गर्नुपर्यो ?

– मधेसमा मात्र होइन् । आम सुकुम्बासी, किसान, भुमिहिनहरुको प्रश्न जोडिएको छ । नेपालमा क्रान्तिकारी वा वैज्ञानिक भुमिसुधार नीति लागु हुनुपर्छ भन्ने उदेश्य पनि १० बर्षे जनयुद्धको थियो । जमिन चाँहि कुनै व्यक्तिको होइन्, जमिन चाँहि प्राकृतिक चिज हो । जमिन राज्यको मातहत हुनुपर्छ । जनयुद्धमा, किसान आन्दोलनमा, सुकुम्वासी आन्दोलनमा लाखौं जनताहरु संगठित भए । उही संगठित भएकाहरुको छोरा–छोरीले ति आन्दोलनहरुमा बलिदान गरेका छन् । तर समस्याको हल नगरी जसको जोत, उसको पोत भन्ने माओवादी पार्टीको नेताहर आज सामन्तीसँग मिलेर कब्जा गरिएका जग्गाहरु फिर्ता गर्यो । हिजो किसानलाई सपना बाडेका माओवादी नेताहरु आज सरकारको नेतृत्व गरिरहँदा पनि किसानलाई कुनै पनि राहतको समान नदिइ उल्टै सामन्तसँग मिलेर पुलिसको लाठी र बुट उपहार दिन लगाए । उल्टै राज्यको ढुकुटीबाट सामन्त तथा जमिनदारलाई क्षतिपुर्ती भराउने काम भयो । त्यसैले हामीले पुनः जमिनदारको जग्गा कब्जा गरिरहेका छौं । यो एउटा अभियान हो– देशैभरी जारी छ ।

मधेसमा १० विघा जग्गा हुनेलाई जमिदार भन्ने, अनी काठमाडौंमा अरबौंको सम्पत्ति भएकाहरुलाई के भन्ने ? त्यहाँका अरबपतिहरुको घर जग्गा किन कब्जा गर्न सक्नुभएको छैन् त ?

– १० विघा जग्गा भएको त वास्तावमा किसान हुनसक्छ । एउटा किसानले चाह्यो भने १० विघा जग्गा जोत्न सक्ने प्रविधि नेपालमा पनि विकास भइसकोको छ । त्यस्ता किसानलाई हामीले संरक्षण दिने हो । जमिन धेरै हुने तर आफ्नो जमिनमा काम नगर्ने र अर्को व्यक्तिलाई काममा लगाएर आफू बसेर खाने जमिनदार हो । अहिले मुलुक दलाल र पुँजीवादतीर जाँदैछ । अहिले चाहिँ सम्पूर्ण सामन्त पुँजीवादतीर केन्द्रित हुंदैछ । बजारमा, शहरमा चाँहि पुँजीवादहरु भएछन् । हाम्रो लडाइ भनेको दलाल र पुँजीवादसँगको हो । तिनका विरुद्ध हामीले योजनाबद्ध तरिकाले लडिरहेका छौं ।

त्यसो भए, काठमाडौंका दलाल पुँजीपतिहरुको घर जग्गा पनि तपाईको पार्टीले कब्जा गर्छ ?

– हो, हामीले तिनीहरुको घर जग्गा पनि कब्जा गर्छौ र राज्यको सम्पत्ति बनाउछौं । दलाल पुँजीपतिहरुको सम्पत्ति राष्ट्रियकरण गरेर उत्पादनशील क्षेत्रमा लगानी गर्ने अभियानमा छौं । हामीले मधेस–पहाड छुट्याएको छैन् । यो अभियान देशैभरी जारी छ ।

प्रचण्ड तत्कालिन नेकपा माओवादीका सर्वोच्च कमाण्डर हुँदा र अहिले प्रधानमन्त्री भएर देशको नेतृत्व गरिरहँदा तपाई के फरक पाउनु भो ?

– प्रचण्ड जतिखेर जनयुद्धको नेतृत्व गर्दै हुनुहुन्थ्यो, त्यतिबेला हामी सम्पूर्ण नेता, कार्यकर्ता तथा उत्पीडित जनताको साथ उहाँलाई थियो । केहि नेताले सुरु गरेको जनयुद्धमा केहि बर्षमै लाखौं लाख जनताले साथ दियो । प्रचण्ड लोकप्रिय पात्रको रुपमा स्थापित हुनुभयो । जब उहाँ गलत कार्यदिशा लिएर अगाडी बढ्न थाल्यो, त्यसपछि हामीले उहाँबाट अलग हुनुपरेको हो । प्रचण्ड सहि ठाउँमा भएको बेला हामीले सहयोग गर्यो । नेपालमा राजतन्त्रसँगै संसदस्य व्यवस्थाको अन्त्य र त्यसको ठाउँमा वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नु जनयुद्धको मुल उदेश्य थियो । तर प्रचण्ड जी, अहिले संसदीय व्यवस्थामा आएर फस्नुभएको छ । उहाँ हिजो जनताको प्रतिनिधिको पात्रको रुपमा हुनुहुन्थ्यो, अहिले उहाँ दलालहरुको प्रतिनिधित्वको पात्रको रुपमा हुनुहन्छ । उहाँ राष्ट्र र जनतालाई धोका दिएर दलालको पात्र बन्नुभएको छ । प्रचण्ड जी सत्ताको लोभमा संसदीय व्यवस्थामा फसेर जनताको मुद्दा विर्सिनुभयो ।