
काठमाडौं, ७ बैशाख । अबैध अन्तर्राष्ट्रिय कल बाइपास (भिओआइपी)मा संलग्न एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरोबाट संचालित अपरेशन फक्स अन्तर्गत खटिएको प्रहरी टोलीले बारा निजगढ–५ घर भई हाल काठमाडौंको गोकर्णेश्वर बस्ने २४ वर्षीया अनुपा खतिवडालाई पक्राउ गरेको हो । खतिवडालाई कोठामै अवैध अन्तर्राष्ट्रिय कल बाइपास संचालन गरिरहेको अवस्थामा पक्राउ गरिएको हो ।
साथै उनको साथबाट ६४ पोर्टको ‘जिएसएम गेटवे डिभाइस’ एक थान, टीपी लिङ्क एक थान, एचपी कम्पनीको ल्यापटप चार्जर एक थान, कलर्स मोबाइल दुई थान, ८ जीबीको पेनड्राइभ एक थान र सोनी एक्सपेरिया एक थान बरामद गरिएको छ ।
खतिवडालाई पक्राउ गरि उनी विरुद्ध दूरसंचार ऐन, २०५३ अन्तर्गत जिल्ला अदालत काठमाण्डौंबाट दिन पाँच दिनको म्याद लिई अनुसन्धान कार्य भइरहेको प्रहरी प्रहरी उपरीक्षक मिरा चौधरीले जनाकारी दिइन् ।
पाकिस्तानी नागरिकको सहयोगमा कल बाइपासमा ?
कल बाइपासमा संलग्न अनुपा खतिवडा यसअघि दुबईमा काम गर्न जाँदा यहाँ आसिन भन्ने पाकिस्तानी नागरिकसंग सम्पर्क भएको थियो ।
अनुपा खतिवडा दुवईबाट फर्किसकेपछि पनि निरन्तर सम्पर्कमा रहेका आसिनले सामाजिक सञ्जाल ह्वाट्सअप मार्फत सम्पर्क गरी राम्रो आम्दानी हुने काम छ र लगानी समेत दुवईबाट नै हुन्छ भनेर खतिवडालाई सुझाए ।
उनले सो खतिवडालाई अबैध अन्तर्राष्ट्रिय कल बाइपास सम्बन्धि काम गर्न प्रस्ताव गरे । पाकिस्तानी आसिनकै योजना अनुरुप नेपालबाट अबैध अन्तर्राष्ट्रिय कल बाइपास सञ्चालन गर्नको लागि ६४ पोर्टको एक थान ‘जिएएम गेटवे डिभाइस’ खतिवडाले पाउने गरि आसिनले हङ्कङ्बाट पठाए ।
उक्त उपकरण प्राप्त भएपछि अनुपाले आफ्नो डेरा कोठामा इन्टरनेट सुविधा जडान गरि अवैध कल बाइपास संचालन गरिन् ।
आसिनको निर्देशन अनुसार अतिवडाले आफूसंग भएको ल्यापटपमा ‘टीम भिअर्स सफ्टवेर’ इन्स्टल गराइन् । त्यसपछि सो ल्यापटप आसिनले दुवइबाटै सञ्चालन गर्न थालेका थिए ।
अबैध कल बाइपासमा हालसम्म पक्राउ
अवैध अन्तराष्ट्रिय कल बाइपास बिरुद्द हालसम्म ९७ स्थानहरुमा भएको कारवाहीमा ११३ नेपाली र ३१ जना विदेशी गरि १४४ जना पक्राउ गरिएका छन् ।
पक्राउहरु बिरुद्ध रु. ११ अर्ब ६८ करोड ७० लाख ८२ हजार ८७४।४४ रुपैयाँ बिगो मागदाबी लिई अदालतमा मुद्दा दायर गरिएको छ ।
अवैध अन्तर्राष्ट्रियक कल बाइपास बिरुद्द गरिएको कारवाहीमा हालसम्म विभिन्न दुर संचार कम्पनीहरुका २२ हजार ३१७ थान सीमकार्डहरु र कल बाइपासमा प्रयोग हुने आधुनिक उपकरणहरु समेत बरामद गरिएको केन्द्रीय अनुसन्धान व्युरो महाराजगञ्ज काठमाडौंको तथ्यांकले देखाएको छ ।











प्रतिक्रिया