काठमाडौं, ७ वैशाख । नेकपा (माओवादी केन्द्र)का प्रभावशाली नेता वर्षमान पुनले स्थानीय तहको निर्वाचनमा नेपाली सेनाले तेस्रो तहमा बसेर सुरक्षा दिने बताएका छन् ।
नेपाली रेडियो नेटवर्कमा बिहीबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पुनले भने, ‘स्थानीय तहको निर्वाचनमा नेपाली सेना तेस्रो घेरामा रहेर सुरक्षा दिने हो । पहिलो घेरामा नेपाल प्रहरी हुन्छ । दोस्रो घेरामा सशस्त्र प्रहरी रहन्छ । चुनावमा सेनाको अवश्यक्ता छ ।’ उनले सेनालाई निर्वाचनमा सिधै प्रयोगको नहुने बताए पनि घुमाउरो भाषामा सेना परिचालन भएरै छाड्ने बताए ।
बंगलादेश, पाकिस्तान, भारतको जम्मुकश्मिरमा सेना परिचालन गरेर चुनाव हुने गरेको उदाहरण दिँदै माओवादी नेता पुनले भने, ‘विश्वका धेरै देशमा चुनावमा सेना परिचालन भएका हुन्छन् । विपक्षी दलहरूले स्वीकार गरेकै छन् त ।’
स्थानीय तहको निर्वाचनमा नेपाली सेना परिचालनलाई लिएर मधेस केन्द्रित दलहरूले विरोध गरिरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल निकटका नेता पुनले सेना परिचालनको विषयलाई उठाएका हुन् ।











प्रतिक्रिया