उदयपुर, ५ वैशाख । चुरेभावर राष्ट्रिय एकता पार्टी नेपालले मुलुकको पछिल्लो राजनीतिक अवस्था र स्थानीय तहको निर्वाचन रणनीति बनाउन उदयपुर जिल्लामा केन्द्रीय कार्यसमितिको पूर्ण बैठक बोलाएको छ ।
वैशख ८ गते शुक्रबारका दिन गाईघाटमा बैठक बस्ने अध्यक्ष बद्रीप्रसाद न्यौपानेले जानकारी दिए । उनले भने, ‘स्थानीय तहको निर्वाचन आएको छ । उम्मेदवार र भावी रणनीति बनाउन केन्द्रीय कार्यसमितिको पूर्ण बैठक बोलाएका हौँ ।’
पूर्ण बैठकमा चुरेभावर पार्टीले आफ्ना सबै जिल्लाका जिल्ला अध्यक्षहरूलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ ।
बैठकमा मधेसी मोर्चाले घोषणा गरेको आन्दोलन र त्यसले जनतामा पार्ने असरका विषयमा छलफल गर्नेछ । अध्यक्ष न्यौपानेले भने, ‘मधेसी मोर्चाको आन्दोलनले जनतालाई दुःख दियो भने हामी चुप लागेर बस्ने पक्षमा छैनौँ ।’
मधेसी मोर्चाले गरेको नाकाबन्दी र अनिश्चितकालीन आमहड्तालको यसअघि प्रतिकार गरिसकेको चुरेभावर पार्टीले मोर्चालाई फेरि पनि प्रतिकारको अवस्था सृजना नहोस् भनेर सचेत गराएको छ । अध्यक्ष न्यौपानेले भने, ‘जनताले दुःख पाउन थाले भने हामी प्रतिकारमा उत्रन बाध्य हुने छौँ ।’











प्रतिक्रिया