
– शारदा गैरे
काठमाडौँ, ३ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले नचाहँदा नचाहँदै पनि सरकारले भारत भ्रमणका क्रममा बिदा दिएको खुलासा भएको छ । आफ्नो भारत भ्रमणको बेला सरकारले विदा दिन लागेको बारे जानकारी पाएपछि राष्ट्रपति भण्डारीले समेत चासो देखाएकी थिइन् । तर, प्रधानमन्त्री दाहालले बिदा दिने निर्णय गरिछाडे । आवरणमा राष्ट्रपतिको भ्रमणलाई राजकीय बनाएर विदा दिइएको देखिएपनि यसको पछाडि निकै ठूलो कारण लुकेको छ ।
भारतीय राष्ट्रपति प्रणव मुखर्जी गत कात्तिक १७ गते नेपाल भ्रमणमा आउँदा सरकारले सार्वजनिक विदा दिएको थियो । जसको सामाजिक सञ्जालमा मात्र होइन्, नागरिक तहमै पुष्पकमल दाहाल सरकारप्रति कडा कटाक्ष गर्दै आलोचना गरिएको थियो । त्यही लाजछोप्न सरकारले सोमबार राष्ट्रपति भण्डारीको भारत भ्रमणमा बिदा दिन लागेको कार्यालयका राष्ट्रपति कार्यालयका कर्मचारीहरु बताउँछन् ।
स्रोतले भन्यो- ‘विदा नदिए राष्ट्रपति नेपाल भ्रमणमा आउँदा बिदा दिने, आफ्नै राष्ट्रपतिको भ्रमणमा नदिने ?’ भन्ने आरोप लाग्ने तर बिदा दिँदा त्यसको दोष राष्ट्रपतिलाई जाने देखेर सरकारले जानाजान राष्ट्रपतिलाई बिवादमा तान्ने काम गरेको हो ।’
जबकी राष्ट्रपति भण्डारी स्वयम् बिदा दिन नहुने पक्षमा थिइन् । भारत भ्रमणका विषयमा छलफल गर्न आइतबार राष्ट्रपति कार्यालयमा कार्यालयका सचिव, कर्मचारी र सल्लाहकारहरुको बैठक बोलाइएको थियो । बैठकमा समेत राष्ट्रपति भण्डारीले आफू विदेश भ्रमणमा जाँदा बिदा दिन नपर्ने बताएकी थिइन् । सरकारले बिदा दिन लागेको भनेर गाइँगुइँ चलेपछि राष्ट्रपतिका सल्लाहकार सुशील प्याकुरेल समेत यो विषयमा कुरा उठाएका थिए । तर, राष्ट्रपति भण्डारीले सरकारले गर्ने निर्णय बारे आफूलाई जानकारी नभए पनि बिदा दिन नपर्ने बताएकी थिइन् । राष्ट्रपतिको यो कुरा सुनेपछि उनका सल्लाहकार तथा कर्मचारीहरुले समेत बिदा नहुने बताइरहेका थिए ।
तर, आइतबार दिउँसो मन्त्रिपरिषद्को बैठक बोलाइयो र राष्ट्रपतिको इच्छाविपरीत सार्वजनिक बिदाको निर्णय गराइयो । ज्वरो र झाडापखालाले थला परेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारस्थित सरकारी निवासमा मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । बैठकले राष्ट्रपति भारत जाने दिने सोमबार र फर्कने दिन शुक्रबार बिदा दिने निर्णय गरेको छ । यसैगरी भारत भ्रमणका कार्यक्रमहरु पनि स्वीकृत गरेको छ । सरकारको यस्तो निर्णयपछि राष्ट्रपति कार्यालयका कर्मचारी र सल्लाहकारहरु समेत दंग परेका छन् ।
यसअघि राजा अर्थात राष्ट्रप्रमुख विदेश भ्रमणमा जाँदा सरकारी बिदा दिने चलन थियो । गणतन्त्रपछि राष्ट्रपति बनेका रामवरण यादवका पालादेखि यो चलन तोडिएको थियो। सन् २०१० मा तत्कालीन राष्ट्रपति यादवको भारत भ्रमणका बेला गृह मन्त्रालयले परम्परा पछ्याउँदै विदाको प्रस्ताव मन्त्रिपरिषदमा लगेको थियो। तर, माधवकुमार नेपाल नेतृत्वको तत्कालिन सरकारले रद्द गरिदिएको थियो ।
भारतीय राष्ट्रपति नेपाल भ्रमणमा आउँदा आफ्नै पार्टीका नेतादेखि सर्वसाधारण समेतको तारो बनेका प्रचण्डले आफूमाथि लागेको आरोप छल्न यसपटक भने राष्ट्रपति भण्डारीलाई नराम्रोसँग बिवादमा तानिदिएका छन् । उनको यो चलाखीपूर्ण निर्णय भएको राष्ट्रपति कार्यालयका कर्मचारीहरु बताउँछन् ।











प्रतिक्रिया