काठमाडौं, १ वैशाख । पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०७४ को अवसरमा बिहीबार शुभकामना सन्देश दिँदै विगत ११ वर्षमा के भयो भनेर गम्भीर प्रश्न उठाएका छन् ।
उनले दिएको शुभकामना सन्देशमा भनिएको छ, ‘अतीतका कतिपय आदर्शलाई जीवन्त राख्दै आगतलाई अझ चहक बनाउदै लैजानू समयको माग हो । विगत एधार वर्ष के कसरी विते ? यो अवधिमा के–के भए ? यस अवधिमा तमाम नेपाली दिदी वहिनी दाजू भाइहरूको सामाजिक, आर्थिक तथा नागरिक हक हितमा के कति सूधार आयो ? देशको अखण्डता, एकता एवं सार्वभौम स्वतन्त्रतामाथि आंच नपूगोस् त्यो यतिखेर सोचनीय विषय हो ।’ नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।
‘२०६३ सालमा जन चाहनालाई विचार गरि राजनीतिक दलका नेताहरूसंग बनेको सहमति अनुसार संसद पुनःस्थापना गरिंदा राजनीतिक संकट अन्त्य भई मूलूकमा शान्ति, स्थायित्व र संबृद्धिको द्वार खूल्ने अपेक्षा हामी सबैले राखेका थियौं । संसद पुनःस्थापनापछि पूर्वसहमति प्रतिकुल निर्णय हुँदै जाँदा पनि हामी सबैले देशको भविष्य र जनताको हितलाई केन्द्र विन्दुमा राखी मौनतापुर्वकसाथ दिएका हौं । यस अवधिमा कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाबीचको शक्ति सन्तूलन असन्तूलित भएको र विश्वमा प्रचलित प्रजातान्त्रिक मूल्य, मान्यता र मर्म प्रतिकूल व्यवहार राजनीतिक तहमा प्रकट भएको पाइन्छ । जनताको चाहना वमोजिम शान्ति, स्थिरता र संवृद्धिको मार्ग तय गर्ने दिशामा पटक पटक चूकेको अनुभूति जनताले गर्नु परिरहेको छ’, उनले सन्देशमा भनेका छन् ।












प्रतिक्रिया