काठमाडौं, ३० चैत । एमालेले आफ्नो अडानअनुसार सरकारले सीमांकन परिवर्तनसहितको संशोधन प्रस्ताव फिर्ता लिएको भन्दै सरकारलाई धन्यवाद दिएको छ ।
एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले सीमांकन परिवर्तनका लागि प्रदेशको सहमति अनिवार्य भन्दै आएको आफ्नो पार्टीको सुझावअनुसार सरकारले संशोधन फिर्ता लिएको भन्दै अब अन्य कुरामा नअल्झेर सरकारले स्थानीय तहको निर्वाचन सम्पन्न गर्न लाग्नुपर्ने बताउनुभयो । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
‘यो संशोधनले समस्याको हल गर्दैन भनेर एमालेले भनेको थियो’, नेम्वाङले भन्नुभयो, ‘अन्ततः जनताको जित भएको छ । अब एक महिना मात्र बाँकी रहेकाले सरकारको पूरै ध्यान निर्वाचनमा केन्द्रित हुनुपर्छ ।’
स्थानीय तहको अधिकार कटौती गर्न सरकारले गर्ने कुनै पनि प्रस्ताव एमालेले स्वीकार नगर्ने नेम्वाङले स्पष्ट पार्नुभयो ।
संशोधन फिर्ता लिएकोमा मोर्चाको विरोध
५ नम्बर प्रदेशको सीमांकन परिवर्तनसहित पुरानो संशोधन संसद्बाट फिर्ता लिने सरकारको निर्णयको मधेसी मोर्चाले विरोध जनाएको छ ।
संसद्मा तमलोपाका सांसद अकवाल अहमद साहले सीमांकन फिर्ता लिने सरकारको निर्णयको मोर्चाका तर्फबाट आपत्ति जनाउँदै संसद् बहिष्कारको घोषणा गर्नुभएको थियो ।
उहाँले स्थानीय तहको निर्वाचनका लागि जनसंख्याका आधारमा स्थानीय तहको संख्या निर्धारण हुनुपर्ने तथा मतदाता नामावली फेरि संकलन हुनुपर्ने सर्त राख्नुभयो । त्यसपछि मोर्चाका सांसदले संसद् बैठक बहिष्कार गरेका थिए ।
सरकारले संसद्मा दर्ता गरेको संशोधनको नयाँ प्रस्तावका विषयमा निर्णय लिन मोर्चाको बैठक बुधबार बस्ने सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।












प्रतिक्रिया