१४ कार्तिक २०८३, शनिबार

को हुन् नयाँ प्रहरी महानिरीक्षक अर्याल ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ चैत । सरकारले प्रहरी महानिरीक्षकमा प्रकाश अर्याललाई नियुक्त गरेको छ । लामो समयपछि सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले कार्यक्षमताका आधारमा अर्याललाई आईजीपी नियुक्त गरेको हो ।

नवनियुक्त आईजीपी अर्याललाई सोमबार राति नै गृहसचिव लोकदर्शन रेग्मीले दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । राजधानी दैनिकले समाचार छापेको छ ।

५६ दिनदेखि निमित्तको भरमा चल्दै आएको नेपाल प्रहरीको कमान्ड सोमबार रातिदेखि नै उनले लिएका छन् ।

सरकारले १ फागुनमा तेस्रो वरीयताका डीआईजी जयबहादुर चन्दलाई आईजीपी नियुक्त गरेपछि त्यसप्रति असन्तुष्टि जनाउँदै पहिलो वरीयताका डीआईजी नवराज सिलवालले सर्वोच्च अदालतमा मुद्धा दायर गरेका थिए ।

सर्वोच्चले चन्दलाई तत्काल आईजीपी नबनाउन भनेपछि सरकारले ३ फागुनमा प्राविधिक अतिरिक्त महानिरीक्षक दिनेशचन्द्र पोखरेललाई निमित्त आईजीपी नियुक्त गरेको थियो । सर्वोच्च अदालतले ८ चैतमा आईजीपीमा चन्दको नियुक्ति खारेज गरेको थियो ।

नवनियुक्त आईजीपी अर्यालले अब ठ्याक्कै एक वर्ष नेपाल प्रहरीको नेतृत्व गर्नेछन् । दाङको त्रिभुवन नगरपालिका–११ मा १४ असार २०२० मा जन्मिएका नवनियुक्त आईजीपी अर्यालले २९ चैत २०७४ सम्म प्रहरी संगठनको नेतृत्व गर्नेछन् ।

उनी २९ चैत २०४४ मा प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका थिए । ३० बर्से सेवा अवधिका कारण उनी आगामी चैतसम्म प्रहरी महानिरीक्षक रहने छन् ।

प्रहरीमा कडा स्वभावका अधिकृतका रूपमा गनिने अर्यालले दैलेख, तेह्रथुम, रुपन्देही, मकवानपुर र कास्कीमा प्रहरी प्रमुख भएर काम गरेका थिए । उनी अञ्चल प्रहरी कार्यालय रुपन्देही र मध्य क्षेत्रीय प्रहरी कार्यालय हेटौंडाका प्रमुख पनि भए ।

स्नातकोत्तरसम्मको अध्ययन गरेका अर्याल तालिम लिने प्रहरी अधिकृतहरूमध्ये पहिलो नम्बरमा पर्छन् । उनले अमेरिकामा एफबिआई तालिमका साथै सिनियर प्रहरी कमान्डो, विशेष व्यक्तिको सुरक्षा, मानवअधिकार, अपराध अनुसन्धान, अपराध व्यवस्थापन, प्रति आतंकवाद कमान्डो तालिम लिएका छन् । साथै उनले विपत व्यवस्थापन, प्रशिक्षक, प्रशिक्षण, जघन्य अपराधसम्बन्धी तालिम पनि लिएका छन् । अर्यालले सिनियर म्यानेजमेन्ट र आतंकवाद अपराध अनुसन्धान र घटनास्थलसम्बन्धी तालिम पनि लिएका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको प्रमुख हुँदा अर्यालले मिटर चलाउन नमान्ने, मनपरी भाडा असुल्ने, लेन मिच्ने चालकलाई कारबाही गर्ने अभियान नै चलाएका थिए ।

यसैगरी, सिआइबीमा रहँदा उनले भिओआइपीविरुद्ध अप्रेसन चलाएका थिए । त्यसबेला उनले आर्थिक अपराध अनुसन्धानलाई प्राथमिकता दिएका थिए ।