माथि मन्दिरको त्यो कालो ढुङ्गा बोलेन
मैले उसलाई दुई हात जोडेँ:
भगवान भनेँ, प्रभु भनेँ, देवता भनेँ
अहँ ! ऊ बोल्दै बोलेन
मैले उसलाई धेरै बोलाएँ
उसको अघि अनुनय गरी आँशु झारेँ
निराहार भई उसकै पाउ परेँ
अहँ ऊ अझै बोलेन
एक शब्द पनि बोल्दै बोलेन
न मेरा आँशु पुछ्यो
न अरुका आँशु नै पुछेको देखेँ मैले
न मेरा हाँसो थाम्यो
मलाई एकोहोरो तिरस्कार गर्यो,
म चिच्याएँ:
ऊ न हाँस्यो,न रोयो
आमा ! मलाई अब प्रष्ट भयो:
ढुङ्गा भनेको ढुङ्गै रहेछ
त्यसैले
अब म अरु केही सोच्दिन
मलाई माफ़ गर आमा:
म अब देखि ढुङ्गा पूज्दिन!
—————–
मैले फूल चढ़ाएँ, जल चढाएँ:
ऊ बोलेन
मैले धुप सल्काएँ:
ऊ बोल्दै बोलेन
म निहुरिएँ, परिक्रमा गरेँ, लम्पसार परेँ
तर उसले गुनेन
म घोरिएँ: उसले देखेन
मैले आग्रह गरेँ: उसले सुनेन
म समर्पित भएँ, उसले बुझेन
मैले उसलाई सर्वष्व सुम्पेँ
तर ,
त्यो देवता भनाउँदो ढुङ्गाले मलाई
न देख्यो, न सुन्यो
न डोर्यायो, न लछार्यो
त्यसैले,
मेरा बिनयहरु ब्यर्थ पार्ने
मलाई पटक्कै नबुझ्ने
त्यो निर्दयी देवता भनाउँदो ढुङ्गा बारे
म पनि अब देखि केही बुझ्दिन
मलाई माफ़ गर आमा!
म अब देखि ढुङ्गा पूज्दिन!
——————
हो आमा ! अचेल मलाई
मन्दिरको ढुङ्गा भन्दा
बाहिर माग्ने हातहरु देवता लाग्छन्
मान्छेको रमिता हेर्ने ढुङ्गा भन्दा
बर्र रुने आँखाहरु भगवान लाग्छन्
त्यसैले होला
नचल्ने त्यो गतिहीन ढुङ्गाको मूर्ति भन्दा
बरु ढुङ्गा ओढ्ने ज्यानहरु प्यारा लाग्छन्
म त्यो ढुंगालाई खुवाउन्न अचेल
बरु ढुङ्गा कुटेर खानेहरुलाई खुवाउँछु
म अब ढुङ्गालाई ध्वजा हैन
ढुङ्गा कुटेर घाउ बनाउनेलाई
मलमपट्टी गर्ने बारे सोच्छु
म त ढुङ्गाको सिरानी लगाउनेहरु
देखेर भावविभोर हुन्छु
किनकी म बिश्वस्त छु
मेरो देवता ढुङ्गामा हैन
ढुङ्गा कुट्नेहरु संग छ
आकाश ओढ्नेहरु संग छ
यसो भन्दा म नास्तिक नै ठहरिऊँला
तर आईन्दा
म अब त्यो ढूङ्गा बारे सोच्दिन
मलाई माफ़ गर आमा !
म अब देखि ढुङ्गा पूज्दिन !
क्रमश:
















प्रतिक्रिया