काठमाडौं, २३ चैत । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तह निर्वाचनको तयारी तीव्र बनाउँदै चैत मसान्तभित्र आफ्नो गाउँपालिका/नगरपालिका पुग्न केन्द्रीय सदस्यदेखि सबै तहका नेताहरूलाई निर्देशन दिएको छ ।
स्थायी समितिद्वारा गठित महासचिव ईश्वर पोखरेल नेतृत्वको ‘स्थानीय तह निर्वाचन अनुगमन तथा समन्वय समिति’ ले मंगलबार चैत मसान्तभित्र आफू मतदाता रहेको गाउँपालिका र नगरपालिकामा पुगेर निर्वाचनमा केन्द्रित काम थाल्न निर्देशन दिएको हो । राजधानी दैनिकले समाचार छापेको छ ।
संयोजक पोखरेलको अध्यक्षतामा बसेको बैठकले सम्पूर्ण ध्यान स्थानीय तहको निर्वाचनमा केन्द्रित गर्ने निर्णय गर्दै चैतभित्र सबै तहका नेताहरूलाई आफू मतदाता रहेको स्थानीय तहमा पुगेर काम थाल्न निर्देशन दिने निर्णय गरेको हो ।
‘स्थायी कमिटीको निर्णयअनुसार सबै केन्द्रीय सदस्य, केन्द्रीय निकाय, सल्लाहकार परिषद्, केन्द्रीय विभाग, जनसंगठनका केन्द्रीय पदाधिकारी तथा सदस्यहरू एवं सांसदहरूलाई चैत मसान्तसम्ममा सम्बन्धित भूगोलमा पुगेर निर्वाचन अभियानमा सहभागी निर्देशित गरिएको छ । सम्पर्क समन्वय कमिटी र मातहत सम्पर्क मञ्चका सबै सदस्यलाई स्थानीय तह निर्वाचनमा सम्पूर्ण रूपमा केन्द्रित हुन आह्वान गरिएको छ,’ बैठकपछि समिति सदस्य तथा सचिवालय सचिव प्रदीप ज्ञवालीले भने ।
काठमाडौंमा रहेका केन्द्रीय सदस्यदेखि केन्द्रीय निकाय, विभागमा रहेका नेता र सांसदहरू आफ्नो भूगोलमा जान ढिलाइ गर्ने विगतको अनुभवका आधारमा एमालेले यस्तो निर्देशन दिएको हो । यस्तै, बैठकले सबै प्रदेश संगठन कमिटीका संयोजक र जिल्ला अध्यक्षहरूलाई २५ चैतभित्र आफ्नो हस्ताक्षरको नमुना केन्द्रीय कार्यालयमा उपलब्ध गराउन निर्देशन दिएको छ ।
उम्मेदवारी दर्तामा हुनसक्ने गडबडी रोक्न यस्तो निर्देशन दिइएको एमालेले जनाएको छ । यस्तै, बैठकले निर्वाचन आयोगलगायत निकायहरूसँग समन्वय गर्न संसदीय दलका उपनेता सुवास नेम्वाङको संयोजकत्वमा रघुजी पन्त, राजेन्द्र पाण्डे, अग्नि खरेल र भानुभक्त ढकाल रहेको उपसमिति गठन गरेको छ ।
यस्तै, सुरक्षा निकायलगायत प्रशासनसँग समन्वयका लागि संयोजक पोखरेलको संयोजकत्वमा प्रदीप ज्ञवाली र कृष्णगोपाल श्रेष्ठ रहेको उपसमिति गठन गरिएको छ भने प्रचार संयोजनको जिम्मा प्रचार विभाग प्रमुख योगेश भट्टराईलाई दिइएको छ ।
त्यस्तै, प्रदेशमा निर्वाचनको तयारीका काम सम्बन्धमा जानकारी लिन र समन्वय गर्न भानुभक्त ढकाल, वंशीधर मिश्र, रघुजी पन्त, वेदुराम भुषाल, रामकुमारी झाँक्री, छविलाल विश्वकर्मा र अग्नि खरेललाई जिम्मा दिइएको सचिवालय सचिव ज्ञवालीले जानकारी दिए ।
बैठकले स्थानीय तह निर्वाचन सम्बन्धमा आवश्यक कानुनी जानकारीका लागि सम्बन्धित कानुनहरूको संक्षिप्त जानकारी पुस्तिका प्रकाशन गर्ने र मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरेको छ । एमालेले घोषणापत्र मस्यौदाको तयारी पनि तीव्र पारेको छ ।
उपाध्यक्ष वामदेव गौतमको संयोजकत्वमा गठन भएको घोषणापत्र मस्यौदा कमिटीको बैठक मंगलबार बसी सो निर्णय गरेको हो । बैठकमा आसन्न स्थानीय निर्वाचनमा पार्टीका तर्फबाट बनाइने घोषणापत्रका बारेमा प्रारम्भिक विषयमा छलफल भएको छ ।
नेपाली जनताका प्रतिनिधिहरूद्वारा संविधानसभामार्फत जारी संविधानले नै अबका हाम्रा कार्यभार आर्थिक–सामाजिक रूपान्तरणमार्फत समाजवादउन्मूख तय गरिसकेकाले समाजवाद प्राप्तिका लागि आवश्यक घोषणापत्र जनतासमक्ष लैजाने गरी छलफल अघि बढाइएको एमालेले जनाएको छ ।












प्रतिक्रिया