
काठमाडौं, २१ चैत । गुल्मी जिल्लाको मुसीकोट नगरपालिकामा चुनावी सरगर्मी बढ्न थालेको छ । निर्वाचनको सरगर्मी बढेसँगै ठूला साना सबै राजनीतिक दलहरूले आफ्नो प्रचार प्रसारलाई तीब्रता दिएका छन् ।
मुसीकोट नगरपालिकाभित्र विशेष गरेर नेपाली कांग्रेस र एमालेका उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा हुने स्थानीय मतदाताहरूले बताएका छन् ।
नेपाली कांग्रेस गुल्मीका जिल्ला सभापति भुवन श्रेष्ठले चुनावी सरगर्मी तीब्र भइसकेको स्वीकार गरे । उनले भने, ‘चैत २४ गतेसम्म हामी निर्वाचनको तयारी र प्रचार प्रसारमा लागेका छौँ । नगरपालिका र गाउँपालिकाको उम्मेदवारका विषयमा कुनै निर्णय भएको छैन । २४ गतेपछि नगरपालिका र गाउँपालिकाका लागि उम्मेदवारको नाम सिफारिस गर्ने छौँ ।’ श्रेष्ठले उम्मेदवारीका लागि धेरैको नाम आएको स्वीकार गरे ।
मुसीकोट नगरपालिकामा चार जनाको नाम मेयरमा अग्रस्थानमा छ । स्रोतका अनुसार पूर्व पार्टी सभापति सुरेशचन्द्र भुसाल, वर्तमान कार्यसमितिकी सचिव विष्णुकुमारी सापकोटा, हीरामणि अर्याल र नेपाल तरुण दलका नेता तथा अर्लाङकोट गाविसका तत्कालीन गाविस उपाध्यक्ष कृष्णप्रसाद सापकोटा रहेका छन् । मुसीकोट नगरपालिकामा महिलालाई मेयरको उम्मेदवार बनाउनु पर्ने दवाव पनि छ ।
मेयरका प्रमुख दावेदार तरुण दलका नेता तथा अर्लाङकोट गाविसका पूर्व उपाध्यक्ष कुष्णप्रसाद सापकोटाले कांग्रेसमा आफूले पुर्याएको योगदान अनुसार टिकटको प्रमुख दाबेदार रहेको बताए । उनले भने, ‘म पहिला पनि उपाध्यक्ष भइसकेको व्यक्त हुँ । पार्टीका लागि धेरै योगदान दिएको छु ।’ तपाईले टिकट पाउनु भएन भने के गर्नु हुन्छ भन्ने प्रश्नमा सापकोटाले भने, ‘यो कुरा मलाई भन्दा पनि पार्टी नेतृत्व विशेष गरेर जिल्ला सभापतिज्यूलाई सोध्नु पर्छ । हामी जस्ता युवाहरूलाई व्यवस्थापन गर्ने जिम्मेवारी पार्टी सभापति र केन्द्रीय नेताहरूको हो ।’
सापकोटाले भने, ‘युवालाई परिचालन गर्ने क्षमता मसँग पनि छ । टिकटको प्रमुख दाबेदार हुँ । जिल्ला हुँदै केन्द्रले टिकट दियो भने पूरै टिमलाई जिताएर देखाउनेछु ।’
कांग्रेस गुल्मीका सभापति श्रेष्ठले गुल्मीमा आफूहरूको प्रतिस्पर्धी एमाले रहेको बताए । उनले भने, ‘कांग्रेस र एमालेका उम्मेदवारबीच नै कडा प्रतिस्पर्धा हुनेछ । कांग्रेस मिलेर जानु पर्छ । उम्मेदवारका आकंक्षीहरूलाई पार्टीले व्यवस्थापन गर्नेछ ।’
उता, नेकपा (एमाले)ले भने मुसीकोट नगरपालिकामा मेयरमा सोमनाथ सापकोटा र उपमेयरमा कमला शर्मालाई प्रस्ताव गरेको स्रोतको भनाइ छ । सोहीअनुसार प्रचार प्रसार पनि थालेको एमाले गुल्मीले दाबी गरेको छ ।












प्रतिक्रिया