
देश परिवर्तनको खोक्रो नारा दिएर भ्रमको खेती गर्ने र जनताको मुक्तिको बाहानामा राजनीति गर्नेहरुलाई केही समयअघि सीमावर्ती कञ्चनपुरको पुनर्वासमा भएको घटनाले गतिलो झापड दिएको छ । जहाँ सीमा विवादका कारण भारतीय एसएसबीको गोली लागेर नेपाली नागरिक गोविन्द गौतमले मृत्युबरण गरे ।
उनको मृत्युपछि सरकारले आफै राहात दियो । तर, भारतलाई क्षतिपूर्ति दिनुपर्छ भनेर भन्न सकेको छैन । बाह्य जिब्रोले भारतलाई माफी माग्नुपर्छ मात्र भन्न सकेको छ । तर, भारतले अझै माफीसम्म मागेको छैन । यतिसम्मकी भारतले औपचारिक रुपमा भारतीय एसएसबीकै गोली लागेको भनेर स्वीकारेको छैन । यता, नेपाल सरकार भने अहिले मौन बसेको छ । त्यो घटनालाई भुलिसकेको छ ।
नेपाल सरकारको नालायीकीपन, कमजोर कुटनीति र भारतीय दलाली नेताहरुको कारणनै आज गोविन्द गौतमहरु दिनदहाडै मरिरहेका छन् । यति हुँदा पनि देशका नेताहरु केही बोल्न नसक्नुले उनीहरुको हैसियत प्रष्ट भएको छ । सत्ता र शक्तिका लागि जतापनि ढल्किने र एक अर्कोको खुट्टा काट्ने प्रवृत्ति झन बढ्दै छ । जसले गर्दा गर्दा नेपाल र नेपाली नागरिकको छवि विश्व सामुनै नााङ्गिदै गइरहेको छ । जुन हाम्रो लागि भयावह अवस्था हो ।

यो घटना घट्नमा नेपाल र भारतवीच भएको खुल्ला सीमाना जति कारक मानिन्छ, त्यति नै नेपालका शासकवर्ग र आफूलाई क्रान्तिकारी, अव्वल र देशका लागि काम गरेको ठान्ने कथित नेताहरु पनि त्यतिकै दोषि छन् । हजारौं गोविन्द गौतमहरु मारिरहँदा पनि उल्टै जनताको दोष देख्ने नेताहरुको यो अवस्थाले देशको सार्वभौमसत्ता, अस्तित्व र राष्ट्रिय अस्मिता माथिनै खतरा उत्पन्न भएको छ ।
सरकारमा रहँदा क्रान्तिकारी देखिने पार्टीहरु सत्तावाट बाहिरिएपछि सत्तामा आफूले देश र जनताका लागि के–कति काम गरेँ भन्ने कुराको कुनै पनि लेखाजोखा राख्न सक्दैनन् । देशको भू–भाग ठूलो होस् वा सानो जे भएपनि राष्ट्रिय अखण्डता, स्वतन्त्रता, राष्ट्रभाव र सार्वभौमसत्ता विश्वव्यापी रुपमा समान हुन्छन् । यो सामान्य व्यवस्थालाई समेत ख्याल नगरी देश र जनताको रक्षा गर्न नसक्ने कथित सरकार र यसका मतियाराहरु कदापि राष्ट्रवादी र योग्य हुन सक्दैनन् ।
भारतीय पक्षको ज्यादतीको बारेमा सरकारले जबसम्म खुलेर प्रतिवाद गर्न सक्दैन र भारतीय नेतृत्व बर्गसँग कुरा गर्न सक्दैन तवसम्म यस्ता अन्य धेरै गोविन्दहरुले भारतीयको गोली खानुपर्ने अवस्था आइरहन्छ । जुन विगतदेखिको निरन्तरताले पनि पुष्टि गरेको छ ।
देशको सीमा मिचिरहँदा, नेपालीले ज्यान गुमाइरहँदा ‘चु’ सम्म पनि बोल्न नसक्ने सत्तासिनहरुले अब कुर्सी छोड्नुपर्छ, अति भयो ।
जव कोही आफनो अस्तित्व धरापमा पार्दैछ भने मानिस चुप लागेर बस्न सक्दैन । मर्न र मार्न पछाडि पर्देनन् । यसका लागि कोही नेपाली पनि पछि हट्दैनन् । यसको उदाहरण हामीले कञ्चनपुर घटनाबाट देखिसकेका छौं । यहि अवस्था रहेमा अझै धेरै मानिस गोविन्द गौतम बन्ने निश्चित छ । कहिलेसम्म मृत्यृवरण गरिरहने ? गम्भीर प्रश्न चिन्ह खडा भएको छ ।
देश बनाउने नाममा सत्तामा पुग्ने ए, व्वाँसोहरु हो, कम्तीमा सीमामा बस्ने नेपाली जनताले भोगेको त्यो दर्दनाक जीवनशैली त हेर ए पटक । जसले सँधै आफनो जननी जन्मभूमिको रक्षार्थ जागा बसेका छन् । दिनहुँ मिचिएको, लुटिएको देख्न सकेका छैनन् । आफ्नो भूमि चपेटामा परेपछि धैर्यताको बाँध भत्किएपछि ज्यान थाँथी राखेर तातो गोली खान तयार भइरहेका छन् । कसैले देशको लागि प्राण त्याग गरिरहेका छन् भने कोही अंगभंंग भइरहेका छन् । त्यो हेर्न, भोग्न र रोक्न सक्ने हैसियत छ तिमीहरुसंग ? के अब नेपालीले सँधै भारतीय एसएसबीको तातो गोली पनि खानुपर्ने र जमिन पनि गुमाउनु हो ? जनतालाई उत्तर चाहिएको छ अब । बस, अब तिमीहरुले जनताको नाममा राजनीति गर्नुपर्दैन । जनताका आँसुले तिमीहरु कहिलै पनि खुशी हुन सक्ने छैनौं । सुख मिल्नु र खुशी मिल्नु भनेको फरक कुरा हो । आफू र आफ्नो परिवारको सम्पन्नतालाई नै विकास देख्ने तिमीहरुको चेतना नेपाली जनताले राम्रोसँग मापन गरिसकेका छन् ।
देशको सीमा मिचिरहँदा, नेपालीले ज्यान गुमाइरहँदा ‘चु’ सम्म पनि बोल्न नसक्ने सत्तासिनहरुले अब कुर्सी छोड्नुपर्छ, अति भयो । भारतीय विस्तारवादसँग लडने तिमीहरुका हातहरु सोझियो भनेपनि अव अन्यथा नसोचे हुन्छ । देश वनाउने ठेक्का हाम्रो पनि हो भन्ने भावना आम नेपाली जनतामा संचार भइसकेको छ ।
जनता एक हुनुको विकल्प छैन
देश मेरो मात्र हो भन्ने अहमता बेलामा नै त्यागे राम्रो । अव पनि देश र जनताका लागि काम गरेको अभिव्यक्ति नदिएकै राम्रो । देशलाई विक्री गर्न, देशको अस्मितामा आँच पुर्याउने गतिविधिमा बोल्नेहरुको अब दिन सकिएको छ । बेलामा नै हेक्का राखेको राम्रो । हाम्रो सहनशीलतालाई कमजोर नठानियोस् । सत्ता र शक्तिमा रमेर भारतको गुणगान गाउनेहरुले अब बसाई पनि उतैतिर सारे हुन्छ । नेपालमा बस्ने हैसियत पनि रहेन अब तिमीहरुसंग ।
यो अवस्थामा अब जनता एक हुनुको विकल्प छैन । अव पनि नेता र सरकारको मुख ताकेर सीमामा फेरिपनि गोविन्द गौतम बनाउनु छैन । देशको सीमाको रक्षा सीमाको नेपाली जनताहरुले मात्र होइन, हरेक कुना–कुनामा रहेका नेपाली जनताको नशा नशामा देशप्रतिको माया हुनुपर्दछ । अनि मात्र भारतीय विस्तावादको मुकाविला गर्न सकिन्छ । नेपाल र नेपालीको अस्तित्व जोगाउन सकिन्छ । नभए केही समयपछि भारतले सिक्किमलाई निलेझै नेपाललाई पनि निल्ने दिन आउन बेर छैन ।
किन मधेशी नेताको मन दुखेन ?
आफ्नो भूमि प्राप्तिका लागि भारतीय एसएससंग संघर्ष गर्दै गर्दा तातो गाली खाएर एक नेपाली दाजुभाई मर्दा के यो सम्पूर्ण नेपालीको सरोकारको विषय होइन ? हो, भने किन मधेशबादी दलका नेता र जनताले भारतीय ज्यादतीको विरोध नगर्ने ? किन देशको पश्चिमतिरको सीमा मिचिदा मधेशबाट प्रतिनिधित्व गर्ने नेताले नबोल्ने ? प्रश्न यहाँ उब्जिएको छ । सीमा रक्षाको क्रममा कञ्चनपुरमा एक नेपालीले ज्यान गुमाउँदा मेधशी नेताले किन बोलेनन्, किन ?
एक नेपाली मर्दा अर्को नेपालीको मुटु दुख्नुपर्ने होइन र ? त्यसैले त मधेशी नेताहरुले राष्ट्रिय नेताको पहिचान बनाउन सकेका छैनन् । उनीहरुले आफ्नो पहिचान मधेशी नेताको रुपमा मात्रै बनाइरहेका छन् । मधेशसंग मात्रै मतलव राखिरहेका छन् । केही समयअघि मधेशमा सीमा विवादमा त्यहाँका जनताले भारतीयको सामना गरेका थिए । त्यो बेला पहाड, हिमालमा बस्ने जनताले वाहवाही गरेका थिए । सीमा रक्षाका लागि मुकाविला गर्ने ती दाजुभाईलाई सलाम गरेका थिए । त्यो घटना सबैको चाँसोको विषय बनेको थियो । तर, मधेशबाट प्रतिनिधित्व गर्ने नेताले भारतको विरोध गर्न सकेनन् ।
राष्ट्रियताको कुरामा यहाँ मधशी नेताहरुको पहिचानको कुरा गरेर मात्र पुग्दैन । भारतबाट निर्देशित भइरहेका मधेशी नेताहरुले यो घटनामा भारतको विरोध गर्नुृ भनेको कुनैपनि स्वार्थसिद्ध अवसरबाट बन्चित हुनु हो । भारतको नजरबाट गिर्नु हो । यदि नेपाली नागरिक हो र देशप्रति माया छ भने के मधेशी, के पहाडी, के हिमाली हामी सबै नेपाली हौं भन्ने भावनाका विकास हुनुपर्छ ।















प्रतिक्रिया