३ कार्तिक २०८३, मंगलबार

व्यवसायिक अल्लो उत्पादनमा सक्रिय बन्दै महिलाहरु

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– अमरराज पुन

रुकुम, १८ चैत । रुकुमको एक गाउँमा व्यवसायिक अल्लो उत्पादनतर्फ महिलाहरु सक्रिय बन्न थालेका छन् । सावकिको प्वाङ्ग गाविसको वडा नं. ९ सुध्रीका एकै गाउँका ३० जना महिलाहरु अल्लो उत्पादन व्यवसायमा जुटेका हुन् ।

गाउँमा भएका प्रायजसो पुरुषहरु विदेशतिर जाने क्रम दिनहुँ बढिरहँदा उक्त गाउँका महिलाहरु भने अल्लो उत्पादनतिर विस्तारै व्यवसायिक बन्दै गईरहेका छन् । दुई जना महिला बराबर एक वटा अल्लो उत्पादन गर्ने मेसिन राखेका महिलाहरु एकै ठाउँमा बसेर सीप आदान–प्रदान गर्दै अल्लो उत्पादनमा एकदम सक्रिय बनिरहेका छन् ।

झण्डै १५ वर्ष देखी ५० वर्ष उमेर समुहका एकै गाउँका महिलाहरु समय अनुकुल अल्लो संकलन गर्न लेक तिर जाने र सबै जना मिलेर मेसिन मार्फत अल्लो उत्पादन गर्न तिर लागिरहेका छन् । तर, अल्लो संकलनका लागि करिब २ घण्टा जति उकालो चढ्नुपर्ने समस्या र सोचे जस्तो अल्लो बोट नपाईने भएकाले कतै आफूहरुले सुरु गरेको व्यवसाय धरापमा पर्छकी भन्ने चिन्ता कहिलेकाँही उनीहरुलाई लाग्ने गरेको एकजना महिला उद्यमी निर्मला घर्तीले बताईन् ।

उन्का अनुसार यदि अल्लोको व्यवसायिक खेती गाउँकै जमिनमा गर्न सकियो भने सुध्री गाउँ अल्लो उत्पादनका हिसाबले निकै राम्रो संभावना बोकेको ठाँउ बन्न सक्ने र आम्दानीको मुख्य स्रोत पनि अल्लो नै हुन सक्ने घर्ती बताउँछिन् । तर अल्लोको खेती गर्नलाई भने भेडा बाख्राको प्रशस्त मात्रामा मल चाहिन्छ, जहाँ अल्लोको बोट उम्रिन्छ ।

पछिल्लो समय नेपाल लगायत बिदेशी मुलुकमा समेत अल्लोबाट बनेका कपडाहरु माग हुने गरेको र स्वास्थ्यका लागि पनि मजबुत मानिएको हुँदा गाउँका ती महिलाहरु अल्लो उत्पादन व्यवसायमा जुटेका हुन् । अल्लो उत्पादन व्यवसायमा लागे संगै विकटताका कारण अब उत्पादित अल्लोको निर्यातमा भने केही समस्या आउन सक्ने अनुमान उनीहरुले गरीरहेका छन् ।

भौगोलिक विकटताले प्रशस्त मात्रामा खेतबारीमा अन्न उत्पादन नहुने त्यस क्षत्रमा दैनिक गुजारा चलाउनलाई पनि निकै मुश्किल पर्ने गरेको त्यहाँका स्थानीय बताउँछन् । अल्लोको व्यवसायिक उत्पादन मार्फत गाउँ घरमै महिलाहरुलाई आर्थिक संकलनको पाटोमा लगाउने उदेश्यले त्यस गाउँका दलित, जनजाती तथा विपन्न महिलाहरु लाई संयुक्त राष्ट्र संघिय विकास कार्यक्रम अन्र्तगत लघु पूंजी अनुदानबाट अल्लो उत्पादन व्यवसायमा जोडिएको हो ।

सडक सञ्जालले नजोडिएको र अहिले सम्म भरपर्दो सञ्चार सेवा समेत राम्रो संग सुचारु नभएको उक्त गाउँका प्रायजसो सबै पुरुषहरु रोजगारीका लागि विदेश जाँदै गर्दा महिलाहरु भने गाउँमै आर्थिक आय आर्जनको पाटोमा लाग्दै गरेको यस्तो काम सबैका लागि उदाहरणीय बनेको छ । यस्तै रुकुमका विभिन्न गाउँमा पनि अल्लो उत्पादनमा सबैको ध्यान जान थालेको छ । जिल्ला सदरमुकाम मुसिकोट सल्लेमा समेत अल्लो उत्पादन तथा प्रशोधन केन्द्रको स्थापना भईसकेको छ ।