डोटी, १७ चैत । डोटी र अछामको सिमानामा पर्ने चौखुट्टे बजारमा स्थापना भएको रेडियो हाम्रो सफलता १०२.१ मेघाहर्जले बिधिवत रुपमा परिक्षण प्रसारण शुरु गरेको छ । नेपाल पत्रकार महासंघको स्थापना दिवसको अवसर पारेर डोटी र अछाम जिल्लाका संचारकर्मीहरुको उपस्थितीमा रेडियोले प्रशारण कार्यको थालनी गरेको हो ।
रेडियो संचालक संस्था श्रृजनशिल पाईलाका सदस्य तथा रेडियो हाम्रो सफलताका प्रबन्ध निर्देशक राजेन्द्र कुंवरका अनुसार डोटी र अछाम लगायत आसपासका बिभिन्न ८ जिल्लाका ग्रामिण क्षेत्रका जनतालाई सूचना, शिक्षा र मनोरन्जन दिने उद्देश्यले रेडियो सफलता स्थापना गरिएकोे हो ।
अछाम जिल्लामा ६० प्रतिशत र डोटीमा ४० प्रतिशत भु भागमा प्रसारण पहुंच रहेको रेडिया सफलताले स्थानीय समुदायको आबश्यकता पहिचान गरि समाचार सामग्री र रेडियो कार्यक्रम उत्पादन गरि प्रसारण गर्ने योजना रहेको रेडियोले जनाएको छ ।
परिक्षण प्रसारण शुभारम्भ कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ डोटी अछाम शाखाका संस्थापक सभापति तथा बरिष्ठ पत्रकार शंकर थापाले रेडियो सफलताले डोटी र अछाम जिल्लाका जनताको आबश्यकता अनुसार गुणात्मक सामग्री प्रसारण गर्नु पर्ने कुरामा जोड दिनु भयो ।
चौखुट्टे बजारका स्थानीय ब्यापारी तथा समाजसेवी दिर्घ बोगटीले रेडियो सफलताको स्थापना भएपछि भौगोलिक रुपमा बिकट रहेको स्थानमा संचार पहुंच पुगेको धारणा ब्यक्त गर्नुभयो ।
यसै गरि एस नेपाल अछामका कार्यक्रम संयोजक अमिर रानाले डोटी र अछाम जिल्लामा रेडियो र पत्रपत्रिकाको संख्यात्मक बिकास हुनु सकारात्मक कुरा बताउदै गुणस्तरीय सामग्रीको प्रकाशन प्रसारणमा ध्यान दिनु पर्ने खांचो औल्याउनु भयो ।
अछाम जिल्लामा ८ वटा र डोटी जिल्लामा ४ वटा एफ.एम. रेडियोहरु र दर्जन बढी पत्रिकाहरु संचालनमा रहेका छन ।













प्रतिक्रिया