काठमाडौं, १७ चैत । महानगरीय प्रहरी परिसर ललितपुरको प्रहरी टोलीले टेलिफोनको तार र मोबाइल चोरलाई पक्राउ गरेको छ । ललितपुरको भैसेपाटी छम्पी एरियामा विगत केही समयदेखि पोलहरुमा टाँगिएका नेपाल टेलिकमको टेलिफोनको तारहरु चोर्ने दुई जना रंगे हात समातिएका छन् ।
पक्राउ पर्नेमा काभ्रे चौवास ४ भई काठमाण्डौ वालाजु बस्ने ३० वर्षीय रमेश खत्री र नुवाकोट चारघरे ९ घर भई काठमाण्डौ बालाजुमै बस्ने ४५ वर्षीय विष्णु घिमिरे छन् ।
सो क्षेत्रमा टेलिफोनका तारहरु हराउने, चोरी हुने गरेको भन्ने गुनासोको आधारमा प्रहरी १३ गते राती गस्तीमा खटिएको टोलीले पोलवाट तारहरु निकालेर बोरामा राख्ने क्रममा उनीहरुलाई रंगेहात पक्राउ गरेको थियो । उनीहरुको साथबाट टेलिफोनका १८ केजि तार बरामद समेत गरिएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको महानगरीय परिसर ललिपुरका प्रहरी प्रबक्ता प्रहरी नायव उपरीक्षक ईश्वर कार्कीले जनाकारी दिए ।
त्यस्तै, गत १३ गते नै साँझको समयमा बसमा यात्रा गरिरहेको बेला एक महिलाको मोबाइल चोरी गरेर फरार हुने दुई जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । चोरी गर्ने नुवाकोट बेलकोट वडा नम्बर–३ घर भई ललिपुरमा बस्ने २३ वर्षीय गन्ज्याक भनिने बसन्त तिवारी र मकवापुर मनहरी वडा नम्बर ९ घर भई ललिपुरमै बस्ने २४ वर्षीय विकास कार्की पक्राउ परेका हुन् ।
ललितपुर मंलबजार इमाडोलतर्फ गइरहेको यात्रुवाहक बसमा यात्रा गरिरहेकी लामाटार बस्ने २४ वर्षीय रजनी घिमिरेको साथबाट उनीहरु करिब रु. १५,००० पर्ने स्यामसुङ कम्पनीको मोवाइल चोरी गरेर भाग्दै गर्दा सोही क्षेत्रमा खटिएको गस्ती टोलीले पक्राउ गरेको थियो । उनीहरुमाथि पनि थप अनुसन्धान भइरहेको महानगरीय परिसर ललिपुरका प्रहरी प्रबक्ता कार्कीले जनाकारी दिए ।












प्रतिक्रिया