
देउखुरी, १६ चैत । दाङको देउखुरीस्थित लमही नगरपालिकामा यतिबेला स्थानीय तहको चुनावी माहोल ह्वात्तै बढेको छ । विशेष गरेर मेयर र उमेरका विषयमा चर्चा हुने गरेका छन् ।
मेयरमा थुप्रै स्थानीय नेताहरूले दाबी गरे पनि उपमेयरमा अहिलेसम्म खुलेर कुनै पनि महिला नेत्रीको दाबेदारी देखिएको छैन । महिलालाई अनिर्वाय रुपमा उपमेयरमा ल्याउनु पर्ने कानूनी व्यवस्था छ ।
मेयरका लागि प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा (एमाले), माओवादी केन्द्रका तर्फबाट झण्डै दुई दर्जन नेताहरूले दावेदारी प्रस्तुत गरेका छन् ।
कांग्रेसबाट लीलाराम खनाल, जोगराज चौधरी, कर्णबहादुर बुढाथोकी, रेशमबहादुर खड्का, मधु न्यौपाने, राकेश पन्त, गोविन्द रेग्मी लगायतका नेताहरूले दाबी गरेका छन् । कांग्रेसले लमही नगरपालिकामा आफ्नो बर्चश्च रहेको दाबी गर्छ । यसपटक पार्टीभित्रको आन्तरिक तालमेल मिलाएर चुनावी प्रतिपस्पर्धामा जानुपर्ने स्थानीय नेताहरूको भनाइ छ ।
कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काको गृहनगर परेकाले पनि लमही नगरपालिकाको अलि भिन्दै चर्चा हुने गरेको छ । मेयर र उपमेयरमा नेता खड्काले हस्तक्षेप गरेर आफू निकटका नेतालाई टिकट दिन सक्ने एक नेता बताउँछन् । एक नेता भन्छन्, ‘लमही नगरपालिकामा खुमबहादुर खड्काको विशेष प्रभाव छ । उहाँको सहमति बिना त खै कसले टिकट पाउला र ?’
कांग्रेसका आधा दर्जन बढी उम्मेदवारहरूमा कसले टिकट पाउने भन्नेमा ठूलो संघर्ष छ । प्रतिस्पर्धामा उद्योग वाणिज्य संघ लमहीका पूर्वअध्यक्ष लीलाराम खनाल अग्रस्थानमा देखिएका छन् । संघमा आफ्नो कार्यकाल सफलताका साथ पूरा गरेका खनालले आफ्नो उम्मेदवारीलाई जोडार रुपमा अगाडि ल्याएका छन् । हुन त मेयरको टिकटका लागि खुमबहादुर खड्काका सम्धी कर्णबहादुर बढाथोकी र उनका दाई रेशमबहादुर खड्काले पनि दाबी गरिरहेका छन् । मेयर, उपमेयर र वडा अध्यक्षका लागि खड्काले मुख खोली सकेका छैनन् ।
उता, नेकपा (एमाले)का तर्फबाट थानेश्वर गैरे, सरस्वती गौतम, कुलबहादुर केसी, रतन केसी, नारायण छम्पाली डिसी, गणेश चौधरीको नामा अग्रस्थानमा छ । केपी ओली र शंकर पोखरेल निकट मानिने थानेश्वर गैरे लमही नगरपालिकामा लोकप्रिय मानिन्छन् । तर, उनको लोकप्रियताबाट डराएका स्थानीय एमालेका नेताहरू गैरेलाई रोक्न ठूलो प्रयास गरिरहेका छन् ।
त्यसैगरी, नेकपा (माओवादी केन्द्र)का तर्फबाट लेखराज रेग्मी, नवीन गिरी, ओमप्रकाश सुवेदी र चक्रबहादुर खड्काको नाम अग्रस्थानमा छ । यीमध्ये लेखराज रेग्मी लमही नगरपालिकाभित्र लोकप्रिय मानिन्छन् । रेग्मीले आफू अहिले नै मेयरको उम्मेदवार भनेर घोषणा नगरे पनि स्थानीय कार्यकर्ताले उम्मेदवार बन्नका लागि दबाब दिइरहेको एक माओवादी नेताले बताए ।
उता, राष्ट्रिय जनमोर्चाबाट कुलचन्द्र पोखरेल अगाडि छन् । मेयरका लागि दिलीपराज खनाल, ठाकुर भण्डारी र पदम गोराथोकीले पनि दाबी गरेका छन् । तर, पार्टीले कुलचन्द्र पोखरेललाई नै अगाडि बढाउन सक्ने स्थानीय नेताहरूको भनाइ छ ।












प्रतिक्रिया