लिबाङ (रोल्पा), १५ चैत । घरबाट विद्यालय जान डिँडेका एउटै घरका दुई बालकको आज बिहान रुकुम र रोल्पाको सिमानामा रहेको बागतारे भन्ने स्थानमा तालमा डुबेर मृत्यु भएको छ ।
यसरी मृत्यु हुनेमा रुकुम–७ धरमशालाका विष्णु बुढाकी ११ वर्षीया छोरी सपना बुढा र नौ वर्षीय छोरा जितमान बुढा रहेको थबाङ इलाका प्रहरी कार्यालका प्रहरी नायब निरीक्षक भीमबहादुर सुनारले जानकारी दिनुभयो ।
उहाँका अनुसार रुकुम घर भएका ती बालबालिका थबाङ, रोल्पास्थित वीर बलभद्र मावि थबाङमा नर्सरी र एलकेजीमा अध्ययनरत थिए ।
निर्माणाधीन सडकमा पिलर र ब्लक भिजाउनका लागि बनाएको तालमा उनीहरु डुबेका हुन् । प्रहरीका अनुसार बाटोमा डिँडिरहेको भाइ तालमा परेपछि तान्न खोज्दा दिदीको पनि तालमा डुबेर मृत्यु भएको हो ।
सपना र उनका ठूलो भाइ जितमान तालमा परेपछि उनका साना भाइ निर्मल कराइ कराइ रोएको देखि घर बनाउने काठ लिएर आउँदै गरेका छिमेकीले ताल फोरेर सपना र जितमानलाई बाहिर निकाल्न खोज्दा उनीहरुको मृत्यु भइसकेको थियो । रासस












प्रतिक्रिया