काठमाडौं, १५ चैत । राष्ट्रिय योजनाका आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ एशिया प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसंघ आर्थिक तथा सामाजिक आयोग (UNESCAP) ले यही मार्च २९ देखि ३१ तारिकसम्म थाइल्याण्डको बैंककमा आयोजना गर्न लागेको दीगो विकासको लागि एशिया प्यासिफिक फोरम २०१७ (Asia-Pacific Forum for Sustainable Development) मा भाग लिन मंगलबार त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।
उपाध्यक्ष डा. श्रेष्ठले उक्त फोरमको मुख्य कार्यक्रमको रुपमा रहेको पहिलो दिनको सन् २०३० सम्ममा दीगो विकासका लक्ष्यहरु हासिल गर्ने सम्बन्धी दृष्टिकोणहरु (Perspectives on Achieving the 2030 Agenda on Sustainable Development) विषयको सत्रको अध्यक्षता गर्नुहुनेछ भने सोही दिन उहाँले गरिबी निवारणसम्बन्धी राउण्ड टेवलमा प्यानलिष्टको रुपमा भाग लिनुहुनेछ ।
दोस्रो दिन उपाध्यक्ष डा. श्रेष्ठले योजना कार्यन्वयनका साधनको वितरणप्रणालीलाई सबलीकरण (Strengthening the Delivery of the Means of Implementation) सम्बन्धी सत्रको सहजीकरण गर्नुहुनेछ भने तेस्रो दिन एशिया प्रशान्त क्षेत्रको गरिबी निवारणको लागि प्रकोप जोखिम न्यूनीकरणसम्बन्धी (Disaster Risk Reduction for Poverty Eradication in Asia Pacific) विषयको सत्रमा मुख्य वक्ताको रुपमा भाग लिनुहुनेछ ।
एशिया प्रशान्त क्षेत्रका ६२ सदस्य र सदस्य राष्ट्र तथा संस्थाहरुबाट दीगो विकाससम्बन्धी कार्य हेर्ने मन्त्रालयका मन्त्री तथा योजना आयोगका प्रमुखहरुको सहभागिता रहने उक्त फोरममा नेपालको तर्फबाट भाग लिने उपाध्यक्ष डा. श्रेष्ठको नेतृत्वको टोलिको सदस्यमा योजना आयोगका सहसचिव लालशंकर घिमिरे तथा थाइल्याण्डका लागि नेपाली राजदूत खगनाथ अधिकारी तथा काउन्सलर जंगबहादुर गुरुङ्ग रहनु हुनेछ ।
उपाध्यक्ष डा. श्रेष्ठ आइतबार नेपाल फर्कने कार्यक्रम छ ।
















प्रतिक्रिया