
– अंकुश कुँवर/ दैनिक नेपाल
दुई दिनअघि मात्रै काठमाडौं आइपुगेका नेपालका लागि भारतीय राजदूत मन्जीभ सिंह पुरीले आफ्नो पहिलो राजनीतिक भेटवार्ता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग गरे । प्रधानमन्त्री, परराष्ट्रमन्त्री, चीन भ्रमणमा छन् । प्रचण्डले कार्यबहाक प्रधानमन्त्री नतोकेका कारण उनले सरकारका उपप्रधानमन्त्री, मन्त्री तथा अन्य दलका नेताहरुलाई नभेटी पहिलोपटक ओलीलाई नै भेट गरेका हुन् । सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा भएको भेटलाई विभिन्न ढंगले अथ्र्याउन थालिएको छ ।
केपी ओली प्रधानमन्त्री बनेका बेला सल्लाहकार रहेका प्रमोद दाहालले प्रधानमन्त्री नभएको अवस्थामा प्रमुख प्रतिपक्षी दलका नेतालाई भेट्नु स्वाभाविक भएको टिप्पणी गरेका छन् । उनले ओली भारतविरोधी भएकै आधारमा उनलाई हतारमा भेटेको भनेर पनि भन्न नमिल्ने बताए पनि कुटनीतिमा निकै अनुभवी मानिएका नयाँ राजदूत पुरीले ओलीलाई सबैभन्दा पहिला भेट्नुलाई संयोग मात्रै पनि मान्न सकिन्न । उनले राजनीतिक रुपमा सन्देश दिने ढंगले वा ओलीलाई पनि फकाउने हिसाबले भेट गरेका हुन् । पहिलो भेट भएकाले हुन सक्छ, उनीहरु तस्वीरमा निकै हँसमुख देखिन्छन् । ओली र राजदूत पुरीको अनुहारमा मुस्कान प्रष्टै देखिन्छ ।
भेटमा दुई देशको आपसी सम्बन्ध, कला संस्कृति लगायतका बारेमा सौहार्दपूर्ण वातावरणमा कुराकानी भएको रेडिमेड खबर बाहिर आयो । तर, भारतीय राजदूतले ओलीलाई भेट्नुको अन्तर्य अर्कै छ ।
ओलीलाई भेट्न भारतीय राजदूतावासले एक साता अघि नै परराष्ट्र मन्त्रालयमार्फत समय तय गरेको बुझिएको छ । भेटमा दुई देशको आपसी सम्बन्ध, कला संस्कृति लगायतका बारेमा सौहार्दपूर्ण वातावरणमा कुराकानी भएको रेडिमेड खबर बाहिर आयो । तर, भारतीय राजदूतले ओलीलाई भेट्नुको अन्तर्य अर्कै छ ।
भारतीय रणनीति
नेपालमा आएका राजदूतहरु पटकपटक बदनाम भइरहेका छन् । राकेश सुदको माओवादीसँग राम्रो सम्बन्ध हुन सकेन । नरम भनिएका रञ्जिय रेको पनि एमालेसँग पानी बाराबारको अवस्था सिर्जना भयो । खासगरि, ओलीसँग उनको व्यक्तिगत टकरावझैं देखियो । रञ्जित रेकै पालामा नेपालीले नाकाबन्दी समेत झेल्न बाध्य हुनुपर्यो । रञ्जित रेलाई बिस्थापित गरेका राजदूत पुरीले भने एमालेसँग हार्दिक साँट्न चाहेको सन्देश दिएका छन् । त्यसैले उनी ओलीलाई फकाउन पुगेको सहजै अनुमान लगाउन सकिन्छ ।
राष्ट्रवाद र स्वाधिन नेपालको मुद्दालाई बोकिरहेको एमालेसँगको दूरी कम गर्न भारत लागिपरेको छ । राष्ट्रवादी छवि बनाएका ओलीलाई सुरुमै भारतीय राजदुतले भेट्नु भनेको भारतको रणनीतिक योजना नै हो ।
भारतले एमालेसंगको सम्बन्धलाई सुधार्न सक्छ कि सक्दैन भन्ने कुरा राजदुतको क्षमतामा भर पर्छ । भारतको खरो विरोधमा उत्रेका ओलीलाई अब चिढ्याएर नभई साथमा लिएर हिँड्न सके आफ्नो पनि जित हुन्छ भन्ने भारतले राम्रैसँग बुझेको छ ।
भारतको खरो विरोधमा उत्रेका ओलीलाई अब चिढ्याएर नभई साथमा लिएर हिँड्न सके आफ्नो पनि जित हुन्छ भन्ने भारतले राम्रैसँग बुझेको छ ।
भारतबाट नेपालका लागि आएका राजदूतहरुको चाहना भनेको नै आफ्नो कार्यकालभर नेपालमा भारत विरोधी गतिविधि नहोस् भन्ने हुन्छ । त्यति मात्रै नभई दलहरुलाई आफ्नो हातमा लिएर आफू अनुकुलको राजनीतिक माहोल बनाउने र दलहरुलाई उपयोग गर्ने मसाय हुन्छ । त्यसका लागि भारतीय राजदूतहरुले अनेक उपाय अपनाउँछन् । विगतदेखि नै भारतको नेपाल नीति भनेकै साम, दाम, दण्डभेद गरेर नेपालमा आफू अनुकल सत्ता बनाउने हो । त्यही तालमेल नमिल्दा नेपालमा बेलाबेला भारतविरोधी आवाज घन्किरहन्छ ।
यसअघि पनि भारतले भारतीय राजदुतहरुमार्फत नेपालको राजनीतिलाई चलायमान गरेका थुप्रै उदाहरणहरु छन् । नेपाली राजनीतिमा भारतको हस्तक्षेपकारी भूमिका रहँदै आएको छ । सरकार ढाल्ने र बनाउने खेलमा अप्रत्यक्ष रुपमा हस्तक्षप गर्दै आएको भारतले संविधान निर्माणको क्रममा भने प्रत्यक्ष रुपमै हस्तक्षप गर्न खोज्यो । तर, त्यो बेला दलहरुले (खासगरि केपी ओलीले) भारतको कुरा नसुनेकै कारण नेपालको संविधान २०७२ जारी भयो । यद्यपि, भारतले संविधानलाई नमानेको संकेत दिँदै अघोषित रुपमा नाकाबन्दी गरेको थियो । सुशील कोइराला प्रधानमन्त्री हुँदै सुरु भएको नाकाबन्दी केपी ओली सरकारले नराम्रोसँग झेल्नुपर्यो । नाकाबन्दीविरुद्ध लड्दा केपी ओलीले जनताबाट निकै राम्रो साथ पाए । उनको कद झनै उच्च भयो । जनता सामु लोकप्रिय बनेका ओलीको भारतसँग भने दूरी बढ्दै गयो ।
संविधान निर्माणका क्रममा एक भएका दलहरु अहिले भारतीय इशारामा संविधान संशोधन लगायतका विषयमा दुई किनारा भएका छन् । सरकारमा भएको एमाले प्रतिपक्षीको भूमिकामा पुगेको छ । जसले भारतको हस्तक्षेपको खरो विरोध गरिहेको छ । सरकारबाट बहिर्गमन हुँदा होस् या मेची महाकाली अभियानमा ओलीको भारतप्रतिको अडान उस्तै छ ।
ओली आफैले चाहेर पनि अब भारतको नजिक पुग्न सक्दैनन् । किनकी उनका कार्यकर्ता, शुभेच्छुकहरु ओलीमा यही राष्ट्रवादी छवि निरन्तर देख्न चाहन्छन् । नेपालका नेताहरु देखेर नैराश्यता छाएका बेला जनतामा दल र नेताहरुप्रति आकर्षण जगाइदिने यिनै ओली हुन् ।
भर्खरै नेपाल आएका भारतीय नयाँ राजदूतले आफूलाई आफू नजिक ल्याउन निकै प्रयास त गर्लान, तर त्यो सफल हुने देखिन्न । किनकी ओलीलाई व्यापक जनमत र राष्ट्रवादी नेताको आँखाबाट हेर्न थालिएको छ । ओली आफैले चाहेर पनि अब भारतको नजिक पुग्न सक्दैनन् । किनकी उनका कार्यकर्ता, शुभेच्छुकहरु ओलीमा यही राष्ट्रवादी छवि निरन्तर देख्न चाहन्छन् । नेपालका नेताहरु देखेर नैराश्यता छाएका बेला जनतामा दल र नेताहरुप्रति आकर्षण जगाइदिने यिनै ओली हुन् ।
ओलीले के भने ?
पहिलोपटक आफूलाई भेट्न आएका भारतीय राजदूतलाई ओलीले प्रशिक्षण शैलीमा पूर्वीय दर्शन सुनाएका थिए । उनले नेपाल–भारत सम्बन्धका आयाम र जातीय, भाषिक र सांस्कृतिक विविधताको सन्दर्भ ल्याएका थिए । ओलीको आशयनै भारतले नेपालमाथि हस्तक्षप गर्न नहुने भन्ने थियो ।
को हुन पुरी ?
नेपालमा भारतीय कुटनीतिक मिसन निकै अप्ठेरो अबस्था रहेका बेला नेतृत्व सम्हालन आएका पुरी कुटनीतिक मामिलामा निकै असल अधिकृत मानिन्छन् । ५८ वर्षीय पुरी सन् १९८२ का व्याचका भारतीय परराष्ट्र सेवाका अफिसर हुन् । उनी यसअघि युरोपीय संघ, बेल्जियम र लक्जम्बर्गमा रहेर भारतीय मिसनको नेतृत्व गरिसकेका छन् । सन् २००९ देखि २०१३ सम्म न्युयोर्कस्थित राष्ट्रसंघीय मिशनको उपप्रमुख भएर काम गरेका उनी सन् २०११ देखि २०१२ सेक्युरिटी काउन्सिलको टिममा वरिष्ठ सदस्यको हैसियतमा काम गरेका थिए । विभिन्न देशमा रहेका भारतीय नियोग र दिल्लीस्थित मन्त्रालयमा रहेर पनि उनले काम गरेका छन् । उनी सन २०१२ मा ब्राजिलको रियो डी जनेरियोमा आयोजित विकास सम्बन्धी संयुक्त राष्ट्र सम्मेलनमा भारतको तर्फबाट प्रतिनिधिमण्डलका एक प्रमुख वार्ताकार पनि थिए ।












प्रतिक्रिया