६ मंसिर २०८३, आइतबार

काठमाडौंको मेयरमा गगन थापा उम्मेदवार ! को–को छन् काँग्रेसबाट दाबेदार ?

12.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ चैत । काठमाडौँ महानगरपालिकाको मेयरमा काँग्रेसका युवा नेता गगन थापालाई उम्मेदवार बनाउन पहल सुरु भएको छ ।

काँग्रेसभित्र सम्भावित उम्मेदवारको पहिलो नम्बरमा युवा नेता एवम् स्वास्थ्यमन्त्री गगन थापा परेका छन् । देशकै राजधानी र राजनीतिक रुपमा पनि अर्थपूर्ण भएका कारण काँग्रेसमा गगन थापाबाहेक क्षमतावान व्यक्ति नभएको तर्कसहित उनलाई उम्मेदवार बनाउन शुभचिन्तक सक्रिय भएका हुन् । काँग्रेसका युवा नेताहरु यसमा सक्रिय भएका छन् ।

पार्टीमा समेत काठमाडौं महानगरको नेतृत्व गर्ने व्यक्तिको खोजी थालिएको र गगन थापालाई उम्मेदवार बनाउनेबारे पनि आन्तरिक परामर्श भइरहेको स्रोतले बताएको छ । थापाका शुभचिन्तकहरुलाई उनलाई भेटेर मेयरमा प्रतिस्पर्धा गर्न सुझाव र दबाब दिइरहेका छन् ।

के भन्छन् गगन थापा ?

शुभचिन्तक तथा पार्टीका युवा नेताहरुले आफूलाई काठमाडौं महानगरको उम्मेदवार बनाउन प्रयास गरिरहेका बेला गगनले अहिले मेयरको उम्मेदवार हुने विषयमा आफूले केही नसोचेको बताए । भन्छन्– ‘मेयरको उम्मेदवार बन्नेबारेमा पार्टीमा अहिलेसम्म कुनै छलफल भएको छैन्, बाहिर मेरो सम्भावनाबारे छलफल भइरहेको पाएको छु । मैले बाहिर भएका यी छलफललाई हेरिरहेको छु ।’ यद्यपी उनले उम्मेदवारी दिने नदिनेबारे केही बताएनन् ।

कांग्रेसबाट को-को छन् दाबेदार ?

बाहिर गगन थापाको चर्चा भएपनि काठमाडौं महानगरपालिकाको मेयरका लागि कांग्रेसभित्र तीन जनाको नाम चर्चामा छ । तीर्थराम डंगोल, नरोत्तम वैद्य र राजुराज जोशी अहिले मेयरको टिकटका लागि दौडधुपमा छन् । डंगोल कांग्रेसका पुराना नेता हुन् भने जोशी उद्योग मन्त्री नविन्द्रराज जोशीका दाई हुन् ।