१ कार्तिक २०८३, आइतबार

ओलीको गृहजिल्लामा राजेन्द्र महतोलाई धक्का, जिल्ला सचिवसहितका नेता एमालेमा प्रवेश

23.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, १३ चैत । राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीका झापा जिल्ला सचिव ओमनारायण राजवंशी नेकपा एमालेमा प्रवेश गरेका छन् ।

आइतबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरको बालकोटस्थित निवासमा आयोजित झापाली नेता कार्यकता भेटघाट कार्यक्रमका बीचमा राजवंशी एमाले प्रवेश गरेका हुन् । राजगढ गाविसका पूर्व उपाध्यक्षसमेत रहेका राजवंशीले गाविस महासंघ नेपालको केन्द्रीय सदस्यको जिम्मेवारी निर्वाह गरिसकेका छन् ।

आफू गजेन्द्रनारायण सिंहले नेपाल सद्भावना पार्टीको स्थापना गरेदेखि नै सो पार्टीको जिम्मेवार कार्यकर्ता भएको सुनाउँदै राजवंशीले राजगढ गाउँ सचिवबाट क्रमशः जिल्ला सचिवसम्मको जिम्मेवारी पूरा गरेको ‘तर आज सो पार्टी दिशाविहीनमात्र रहेन सप्तरीको बरमजियामा खोलिएका असली बाजेको पेडाको दोकानजस्तै भएको र मधेसी मोर्चाले अगाडि सारेका मुद्दा राष्ट्रको हित विपरित भएकाले सच्चा राष्ट्रवादी पार्टी एमालेमा प्रवेश गरेको’ स्पष्ट पारे ।

राष्ट्रियताप्रतिको नेकपा एमालेको अडान समग्र नेपाली जनताको पक्षमा रहेकाले राष्ट्रिय हित विपरीत काम गर्ने पार्टी छोड्नै पर्ने भएकोले छाडिएको उनको भनाई छ । २०७० सालमा सम्पन्न संविधानसभाको निर्वाचनमा झापा क्षेत्र नं. ५ बाट उम्मेदवारी दिएर पाँचौं स्थान हासिल गरेका राजवंशीले नेकपा एमालेले लिएको नागरिकता वितरण सम्बन्धी अडान, मातृभाषाको नाममा हिन्दी भाषालाई सरकारी कामकाजको मान्यता दिन नहुने अडानसहित आदिवासी जनताप्रतिको समानताको व्यवहार आफूलाई मन परेकाले पार्टी प्रवेश गरेको सुनाए ।

नेपाली कांग्रेस र राप्रपाले पनि आफूलाई पार्टीमा भित्र्याउन प्रयास गरेका भएपनि कांग्रेसले आदिवासीको सम्मान गर्न कहिल्यै नसकेको र राप्रपाले राजसंस्थालाई प्यारो ठानेकाले आफू एमालेमा समाहित भएको राजवंशीले सुनाए । उनले आज आफू एक्लै एमालेमा प्रवेश गरेको देखिएपनि केही समय पछि सद्भावनाका हजारौं मानिस समाहित हुनेमा आफू विश्वस्त रहेको पनि बताए ।