३० आश्विन २०८३, शुक्रबार

किन समर्थन नगर्ने रवीन्द्र मिश्रको पार्टीलाई ?

9.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रबिन्द्र मिश्र नेपाली समाजमा एक सशक्त युवा पत्रकार (खैर उनी ५० वर्षको हाराहारीमा छन्) तथा एक समाजसेवीका रुपमा स्थापित प्रस्तावित साझा पार्टीका संयोजक हुन्, बिबिसी नेपाली सेवाको प्रमुख पदबाट राजिनामा दिएर ‘दुषित’ नेपाली राजनीतिलाई स्वच्छ बनाउने उद्देश्य राखेर नेपाली राजनीतिमा होमिएका मिश्र को चर्चा, बहससँगै साझा पार्टीमा संलग्न हुनेहरुको जमात बढ्दो छ । नयाँ राजनीतिक शक्तिको नाउँमा सिके राउत वा अन्य कुनै पात्रको नेतृत्वमा राजनीतिक पार्टी जन्माएको भए साझा पार्टीप्रति मानिसहरुको यति आकर्षण यति पक्कै हुने थिएन, यस हिसाबले रबिन्द्र मिश्र साझा पार्टीको लागि अतिउपयुक्त नेतृत्वकर्ता हुन् जस्तो लाग्छ ।

केहि आशाका किरणहरु बाहेक (गगन थापा, जनार्दन शर्मा, गोकर्ण बिष्ट, लालबाबु पण्डित र अन्य समग्रमा नेपाली राजनीतिलाई सफा गर्नु पूर्वको बागमती नदीको रुपमा लिइन्छ । ठूला राजनीतिक दलहरु जनता भन्दा व्यक्तिगत र पार्टीगत स्वार्थमा केन्द्रित भई जनताको चाहना र इच्छाबिपरित अदृश्य शक्तिको निर्देशनपालकको रुपमा चित्रित भैराखेको परिस्थितिमा रबिन्द्र मिश्रको अचानक सुरु भएको राजनीतिक यात्रालाई शुभ संकेतको रुपमा बुझिनुपर्छ, नेपाली राजनीतिलाई बाहिरबाट कटाक्ष मात्र गर्ने बानी परेका हामीहरु नेपाली राजनीतिका अलि फरक पात्रलाई सकेसम्म सक्रिय रुपमा वा नसके पनि नैतिक रुपमा समर्थन गरे चुनौतिका बाबजुद पनि छिटै नै केही सकारात्मक परिबर्तनको आशा गर्न पाइन्छ कि । एउटा नैतिक रुपमा बलियो मानिसले पारदर्शिता, इमान्दारिता, पद्दति र उत्कृष्टता जस्ता कुरालाई केन्द्रमा राखेर राजनीतिको मूल सफा गर्छु भनेर सुरु गरेको अभियानलाई समर्थन किन नगर्ने ? त्यसैले हामीमा दुर्इ विकल्प छन् कि उनको अभियानलाई समर्थन गर्ने कि पुराना राजनीतिक दलहरुको शासनलाई निरन्तरता दिने । त्यसैले सोच्ने बेला आएको छ ।

लेखक : बैकुण्ठ खनाल

नेपाली राजनीतिमा मैले उनका अगाडि चुनौतिका पहाडहरु नदेखेको होइन तर पनि चुनौतीबाट भागेर समाज परिबर्तन सम्भब छ र ? भनिन्छ नि दुखाईको अनुभव लिन पहाडमा ठोक्किनै पर्दछ, त्यसैले नैतिक रुपमा भएपनि उनको उद्देश्यलाई समर्थन गर्ने बेला आएको छ ।

किन समर्थन नगर्ने त साझा पार्टीलाई ?

पहिलो, एउटा व्यक्तिको बिगत नै वर्तमान र भबिष्यको विश्वासको आधार हो । भविष्यको ग्यारेन्टी त कसले कसलाई दिन वा लिन सक्छ र ? बिगतमा देखिएका भ्रष्टाचार बिरोधी अभियान, परोपकारी सेवा र इमान्दारिताबाट केही आशा गर्न सकिन्छ कि उनले नेतृत्व गर्न लागेको साझा पार्टी पुराना राजनीतिक दलहरु जस्तो भ्रष्टाचारयुक्त र जनताप्रति बेइमानी गर्न सक्ने छैन् ।

दोश्रो, जसले नेपाली राजनीतिलाई दुषित देख्दछ उसले समस्याको जड पहिल्याउने र निराकरण गर्ने सामर्थ्य पनि राख्नु पर्दछ । मलाई यस्तो लाग्छ कि पत्रकार भएर उनले नेपाली राजनीतिलाई राम्रैसंग बुझ्ने मौका पाएका छन् । नेपाली राजनीतिको समस्या र विश्लेषण गरेर यसका समाधानका उपायसहित नै राजनीतिमा लागेका हुन कि भन्ने मलाई लागेको छ परोपकारी संस्थाबाट पनि नेपाली समाजको सानो पाटोलाई केहि हदसम्म बुझ्न सहयोग मिल्यो कि भन्ने मेरो बुझाई छ । नेपाली राजनीतिज्ञसँग कडा सवालजवाफ गरी धेरै समय पत्रकारिता गरेका मिश्रलाई भोलि त्यहि प्रश्न आफूलाई आएको खण्डमा आफू दोषरहित बनेर उम्कन सक्ने स्थिति नहुने भएकाले साझा पार्टी जनताको अपेक्षाबिपरित जान सक्ने छैन भन्ने बिश्वास छ ।

तेस्रो, पार्टी भन्ने बितिक्कै सामुहिक नेतृत्व, पद्दति र आचरणलाई बुझिन्छ्र । त्यस पार्टीमा को को व्यक्ति संलग्न हुन्छ वा छ भन्ने कुराले पार्टीको भबिष्य र कार्यदिशामा निकै अर्थ राख्दछ । हुन त उनको पार्टीमा कस्तो चरित्रको व्यक्ति छ र आउँछ भन्ने कुरा थाहा छैन् तर उनको भनाइमा विश्वास गर्ने हो भने उनको पार्टीमा भ्रस्टाचार लागेको व्यक्ति, डन, र गन भएका व्यक्तिले प्रश्रय पाउने छैनन् । यो पनि साझा पार्टी लाई विश्वास गर्ने अर्को आधार हो ।

चौंथो, नेपाली राजनीतिक दलहरुलाई जनताप्रति अनुत्तरदायी र बेइमानीको आरोप लगाइन्छ किनकि तिनीहरुले निर्बाचन को दौरानमा जनतासमक्ष बाचा गरेका कुरालाई निर्बाचनपश्चात मिनेटभरमा उल्टाइदिन्छन, हामीलाई नेपालमा डोनाल्ड ट्रम्पको जस्तो अडान भएका नेताहरुको आबश्यक छ जसले निर्बाचनपूर्व गरेको बाचालाई निर्बाचनपश्चात जस्ताको को त्यस्तै पूरा गरिदिन्छन्, साझा पार्टी पनि धेरै हदसम्म जनताप्रति उत्तरदायी हुन्छ कि भन्ने विश्वास छ ।

पाँचौँ, नेपालका ठूला राजनीतिक दल हरुलाई जनताको आवाज नसुन्ने बहिरोको रुपमा चित्रित गरेको पाइन्छ । चाहे त्यो लोकमानको नियुक्तिको बिषय होस् या कार्यकारी रास्ट्रपति वा प्रधानमन्त्री या अन्य बिबिध बिषयहरु बैकल्पिक राजनीतिक शक्तिको रुपमा उदाएको साझा पार्टीले जनताको आवाजलाई उपेक्षा गर्न सक्दैन कि ?

छैटौं, अहिलेसम्मको नेपाली राजनीतिमा खड्केको बिषय हो, उत्कृष्टता । उत्कृष्टलाई पाखा लगाएर आफ्ना नातागोतालाई भर्ति गर्ने अनि पैसामा पद किनबेच गर्ने रबैयाबाट समाज परिबर्तनको आशा कसरी गर्न सकिन्छ र ? नारामा जस्तै व्यवहारमा पनि साझा पार्टीले उत्कृष्टता गर्ला कि भन्ने आशा छ ।

अन्त्यमा, मैले माथिनै भनिसकेँ ग्यारेन्टी त कस्ले कस्लाई दिन या लिन सकिन्छ र ? यी सबै आशा र विश्वासका कुराहरु हुन्, अझ भन्नु पर्दा दर्ता नै नभइसकेको पार्टीबाट यति आशा राख्नु निःसन्देह विश्वास नै एउटा प्रमाण हो । तर मनलाई साक्षी राखेर यति चाँहि भन्न सक्छु रबिन्द्र मिश्रको प्रस्तावित साझा पार्टी अहिलेका राजनीतिक पार्टी भन्दा कम भ्रष्टाचारयुक्त, बढी जवाफदेहिता, उत्कृष्टता र जनताप्रति उत्तरदायी हुनेछ । यदि हाम्रो विश्वासलाई विश्वास घात गरे भने रबिन्द्र मिश्र लगायत साझा पार्टीले कहिल्यै जनताबाट क्षमा पाउने छैनन् । त्यसैले किन समर्थन गर्ने हैन कि, किन समर्थन नगर्ने साझा पार्टीलाई ?

लेखक डेनमार्कमा बस्छन् ।