पोखरा, १३ चैत । नेकपा (एमाले)का महासचिव ईश्वर पोख्रेलले आफूहरु पुनः कार्यक्रम लिएर तराई मधेसमा जान लागेको बताएका छन् ।
प्रेस चौतारी नेपाल कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले मधेसमा निर्वाचन प्रचारको रणनीति तय गर्न एमालेले आगामी बुधबार र बिहीबार प्रदेश नम्बर दुईमा जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलाको आयोजना गर्ने बताए ।
एमालेले सञ्चालन गरेको मेचीकाली अभियानअन्तर्गत यसअघि स्थगित भएका प्रदेश नं २ का कार्यक्रम यही चैत १६ र १७ गते सञ्चालन गरिने जानकारी दिदैं उनले मधेस, पहाड र तराईलाई छुट्याउने गरी पेस गरिएको संविधान संशोधन प्रस्तावमा आफ्नो पार्टीले समर्थन गर्न नसक्ने बताए ।
‘एमाले डराएको छैन् फेरि मधेस जान्छौं’
सप्तरी घटनापछि स्थगन भएको कार्यक्रमलाई स्वरुप फेरेर निरन्तरता दिन लागिएको भन्दै उनले भने– ‘सप्तरी घटनापछि हामीले मधेसका कार्यक्रम री–स्ट्रक्चर फममा गर्छौ भनेका थियौं, २ नम्बर प्रदेशका जिल्ला भेला त्यसैका लागि गर्न लागेका हौं । कुनैपनि पार्टीले देशको जुनसुकै जिल्लामा जान र कार्यक्रम गर्न, आफ्ना कुरा राख्न पाउनुपर्छ । एमाले डराएको छैन, डराउँदैन । फेरि हाम्रा कार्यक्रम निर्वाचनलक्षित भएर मधेसमा पनि चल्नेछ ।’
‘स्थानीय निर्वाचन गराउन एमालेले सरकारलाई सहयोग गर्ने’
महासचिव पोख्रेलले तोकिएकै समयमा स्थानीय तहको निर्वाचन गराउनका लागि एमालले सरकारलाई सहयोग गर्ने बताए । देशमा राजनीतिक सङ्क्रमणको अन्त्य तथा संविधान कार्यान्वयनसहित मुलुकलाई आत्मनिर्भर बनाउन निर्वाचनको विकल्प नरहेको उनको भनाई छ ।
महासचिव पोख्रेलले राजनीतिक स्थायित्व, विकास र समृद्धिका लागि जिम्मेवार राजनीतिक दलका हैसियतले एमाले क्रियाशील रहेको उल्लेख गर्दै कुनै पनि बहानामा निर्वाचन प्रभावित बन्न नहुनेमा जोड दिए ।
पार्टीको नीतिअनुसार जनताले पत्याएका र लोकप्रिय नेता तथा कार्यकर्ताले नै निर्वाचनमा उम्मेदवार बन्न सक्ने स्पष्ट पार्दै उनले उम्मेदवार चयनका लागि केन्द्रबाट कुनै दबाब नदिइने विश्वास व्यक्त गरे ।












प्रतिक्रिया