६ मंसिर २०८३, आइतबार

स्थानीय तहमा १३ हजार ३ सय ६० महिला वडा सदस्य बन्ने निश्चित

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ चैत । आगामी स्थानीय निजर्वाचनमा १३ हजार ३ सय ६० महिला वडा सदस्य निर्वाचित हुने सुनिश्चित देखिएको छ ।

‘राज्य पुनःसंरचना र स्थानीय निर्वाचनमा महिला सहभागिता’ विषयमा राजधानीमा आयोजित राष्ट्रिय परामर्श गोष्ठीमा विज्ञहरूले सो जानकारी गराएका हुन् ।

‘स्थानीय तहको निर्वाचनमा महिला सहभागिताका लागि साझा अभियान’ को आयोजना र जागरण नेपालको संयोजनमा भएको परामर्श गोष्ठीमा, सांसद, अभियानकर्ता, भगिनी संगठनका प्रमुख तथा प्रतिनिधि, कानून व्यवसायी, विज्ञ तथा महिला मुद्दामा कलम चलाउने संचारकर्मीहरूले आगामी चुनावलाई महिला सहभागिता बढीभन्दा बढी बनाउन क्रियाशील हुनुपर्ने जोड दिए ।

आगामी चुनाव र महिला सवाल विषयक कार्यपत्र प्रस्तुत गर्दै विज्ञ कृष्णप्रसाद सापकोटाले कानूनले स्थानीय तहमा उम्मेदवारी दिँदा प्रत्येक महानगर, उपमहानगर र नगरपालिकाका वडाहरुबाट ५ जना र गाउँपालिकाको वडाहरुबाट गरी ४ जनाका दरले महिलाहरु आउने भएकाले जम्मा ३ हजार २ सय ३९ जना महिलाहरु चुनावबाट निर्वाचित भएर आउने सुनिश्चित गरेको जानकारी गराए ।

७ सय ४४ स्थानीय तहको संख्यामा ६ हजार ६ सय ८० वटा वडा रहेका छन् । ४ महानगरपालिकाका १२३, १३ वटा उपमहानगरपालिकामा २७८, नगरपालिकाकामा २ हजार ८ सय ४९, र ४६६ गाउँपालिकाका ३ हजार ४ सय ३० वटा वडा रहेको जानकारी दिँदै उनले आगामी स्थानीय तहको गाउँसभा, जिल्ला सभा र जिल्ला समन्वय समितिमा महिला सहभागिताको अवस्था कस्तो रहने भन्ने प्रष्ट पारे ।

एमाले सांसद रामेश्वर फुयाँलले अहिलेको स्थानीय तहको निर्वाचनले नेपाललाई दक्षिण एसियाली मुलुकहरुमै उदाहरणीय भएको बताए । उनले सहभागिताका लागि अझै धेरै व्यवस्था भने गर्न आवश्यक रहेको र त्यसका लागि आफू जहिले पनि सँगै रहने बताए ।

कांगे्रस सांसद रामहरि खतिवडाले नेपालमा महिलाको सहभागिता अहिले विश्वकै उदाहरणीय भएको भन्दै स्थानीय चुनावमा भएको महिला सहभागिताको अवस्थालाई उपयोग गर्दै आगामी दिनमा अझ बढाउनुपर्ने बताए ।

उनले विगतका समानुपातिक प्रतिनिधित्व चयनमा पनि पद्धति विकास हुनुपर्ने जति नभएको भन्दै हरेक ठाउँमा पद्धतिको विकास हुनुपर्ने बताए ।

एमाले नेतृ थममाया थापाले मतदाता महिलाहरु झण्डै ५६ प्रतिशत भएको भन्दै महिलालाई जिताउनेमा महिलाहरु निर्णायक हुन सक्ने उल्लेख गरिन् । दलीय व्यवस्थामा दललाई नै मनाउँदै आफ्नो स्थान खोज्न सक्नुपर्ने र त्यसका लागि राजनीतिभन्दा बाहिर बसेर महिला अधिकारका लागि काम गर्नेहरुले सहयोग र समन्वय गरिदिनुपर्ने बताइन् ।

मालेकी पोलिव्यूरो सदस्य जनककुमारी चालिसेले सबै वडामा दलित महिलाको सीट सुनिश्चित गर्नु सकारात्मक भन्दै स्थानीय निर्वाचनमा महिला निर्वाचिन गराउनका लागि साझा अभियानसंग समन्वय गरी राजनीतिक दलका भगिनी संगठनले पहल गर्नुपर्ने पनि बताइन् ।

अखिल नेपाल महिला संघ (क्रान्तिकारी) का संयोजक अमृता थापामगरले परिवर्तन सकारात्मकरुपमा अघि बढिरहेको तर महिलालाई पूर्ण विश्वास गर्ने अवस्था अझै नभईसकेकाले महिला आन्दोलन जारी रहनुपर्ने बताइन् ।

नेपाल महिला संघका महासचिव धना खतिवडाले गाउँ–गाउँसम्म मतदाता शिक्षा तथा महिलाको क्षमता अभिवृद्धिका कार्यक्रम संचालन गर्नुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा एमाले नेतृ एवम् जागरण नेपालका संस्थापक अध्यक्ष शर्मिला कार्कीले अझै नेपाली समाज महिलामय हुन बाँकी रहेको अवस्थामा यो चुनावबाट बढीभन्दा बढी महिला जिताउन सके साच्चै उदाहरणीय हुने र आगामी दिनमा स्थानीय तह महिलामैत्री हुँदै जाने बताइन् ।

अधिकारकर्मी सलोनी सिंहले निर्वाचनमा महिलाको लागि भएका व्यवस्था सकारात्मक भएको र त्यसको जानकारी स्थानीय तह सम्मका महिलाहरुलाई पुर्याउनु पर्ने विचार राखिन् ।