६ मंसिर २०८३, आइतबार

संविधान संशोधन नभए चुनाव असम्भवः डा.भट्टराई

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भैरहवा, ११ चैत । नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले संविधान संशोधन नभएसम्म चुनाव हुन नसक्ने बताएका छन् । उनले नयाँ शक्तिले चुनाव चाहेको तर सबै क्षेत्रको हकअधिकारको ग्यारेण्टी नहुँदासम्म चुनाव गर्नुको कुनै अर्थ नरहेको बताए ।

पार्टीले सुरु गरेको हिमाल, पहाड, मधेश, तराई थरुहट राष्ट्रिय एकता अभियान–२०७३ अन्तर्गत शुक्रबार भैरहवामा भएको जनसभालाई सम्बोधन गर्दै भट्टराईले सो कुरा बताएका हुन् । उनले संघीयता भनेकै सबै जातजाति, धर्म–संस्कृति र समुदायलाई अधिकार दिने माध्यम भएको जनाउँदै मधेसी, आदिवासी, थारुहरुको माग सम्बोधन गर्नका लागि जसरी भए पनि संविधान संशोधन हुुन पर्ने बताए ।

उनले पिछडिएका समुदायको अधिकार सुनिश्चत गर्नका लागि पनि संविधान संशोधन गर्न जरुरी भएको बताउँदै वर्षौंदेखि मिलेर बसेको समुदायलाई अधिकार दिँदैमा मधेश अलग देश भन्छ भन्नु हास्यापद् भएको बताए ।

केही शक्तिको हठका कारण २०४७ सालको संविधानलाई १० वर्षे जनयुद्धले च्यातेको बताउँदै पूर्वप्रधानमन्त्री समेत रहेका डा.भट्टराईले अहिले पनि संविधान संशोधन गरी थारु समुदाय, पिछडिएका समुदाय र मधेसी समुदायको हकअधिकार ग्यारेन्टी नगरे यिनै समुदायले संघर्ष गरी यो संविधान पनि च्यात्ने बताए ।

नयाँ शक्तिले देश बनाउने समृद्धिको सपना देखेर अगाडि बढिरहेको बताउँदै भट्टराईले अबको चुनावमा पार्टीलाई पहिलो शक्ति बनाई समृद्धिको सपना पुरा गर्नु पर्ने बताए । उनले अहिलेका राजनीतिक शक्तिहरुबाट देश विकास असम्भव भएको बताउँदै देश विकास गर्ने एक मात्र शक्ति नयाँ शक्ति भएको समेत दावी गरे ।

उनले पछिल्लो समय केही पार्टीहरुले एकअर्का समुदायबीच झगडा गराई सदियौंदेखि मिलेर बसेको समुदायमा विचलन ल्याउन लागेको आरोप समेत लगाए । त पहाडिया, त मधेसी भन्ने मनसाय राखेकै कारण सप्तरी घटना भएको जनाउँदै अतिवादका कारण सप्तरीमा निर्दोष ५ जना नेपाली युवाहरुले ज्यान गुमाएको भट्टराईको भनाई छ ।

फरक प्रसंगमा भट्टराईले बर्तमान सरकार संस्थागत भ्रष्टाचारमा लागेको समेत आरोप लगाएका छन् । निजी क्षेत्रको दुरसंचार प्रदायक संस्था एनसेलबाट ३६ अर्व रुपैयाँ कर नउठाई सरकारले छुट दिन लाग्नु संस्थागत भ्रष्टाचार भएको उनले बताए । उनले भने–एनसेललाई ३६ अर्व कर छुट दिन मिल्दैन, त्यो रकम असुल गरी सरकारले बिकासमा खर्चनु पर्छ । एनसेल प्रकरणमा १० बर्ष जनयुद्ध गरेको माओबादी केन्द्र समेत संस्थागत भ्रष्टाचारमा लाग्नु दुःखद भएको उनले बताए । एनसेल प्रकरण नेपाली इतिहासका सबै भ्रष्टाचारका काण्डहरुलाई उछिन्ने गरी भएको भ्रष्टाचारपूर्ण अपराध र राष्ट्रघात भएको उनको दाबी छ । अर्बौं नाफा गर्ने कम्पनीलाई कर उन्मुक्ति दिने प्रपञ्च गम्भीर र नीतिगत अपराध भएको उनको जिकिर छ ।

सभामा पार्टीका शीर्षस्त नेताहरुले सम्बोधन गरेका थिए ।