
काठमाडौं, ११ चैत । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले तराई मधेसमा पुनः जनजागरण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।
शुक्रबार महासचिव ईश्वर पोखरेलको अध्यक्षतामा बसेको एमाले केन्द्रीय सचिवालय बैठकले मेची महाकाली राष्ट्रिय अभियानअन्तर्गत प्रदेश नम्बर २ मा स्थगित गरिएका कार्यक्रमहरुलाई नयाँ सन्दर्भसहित अघि बढाउने निर्णय गरेको हो ।
यस्ता छन् कार्यक्रमहरुः
बैठकमा प्रदेश नम्बर २ संगठन कमिटीको नेतृत्वसँग परामर्श अनुसार यही चैत १६ र १७ गते महोत्तरीको बर्दिवासमा प्रदेशस्तरीय बृहत कार्यकर्ता भेला आयोजना गर्ने निर्णय भएको छ ।
उक्त भेलामा प्रदेश नम्बर २ का सबै केन्द्रीय सदस्यहरु, सांसदहरु, प्रदेश कमिटीका सदस्यहरु, जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरु, निर्वाचन क्षेत्रीय कमिटीका पदाधिकारी तथा सदस्यहरु, इलाका, नगर तथा गाउँ कमिटीका पदाधिकारीहरु, जनसंगठनका केन्द्रीय तथा जिल्ला कमिटी सदस्यहरुको सहभागिता रहने सचिव योगेश भट्टराईले जानकारी दिए ।
प्रदेश भेला सम्पन्न भएको एक हप्ताभित्र उक्त प्रदेशका सबै जिल्लाहरुमा जिल्लास्तरीय बृहत कार्यकर्ता भेलाको आयोजना गरिनेछ । ती भेलाको मिति सम्बन्धित जिल्ला कमिटीलाई तोक्न निर्देशन दिइएको छ । त्यसपश्चात जिल्ला र स्थानीयस्तरमा जनसभा, सार्वजनिक अन्तरक्रियालगायतका कार्यक्रमहरु आयोजना गरिनेछ ।
यी कार्यक्रमहरुको शृंखललाई अगाडि बढाउँदै स्थानीय निवाचनकेन्द्रीय अन्य कार्यक्रमहरु घनिभूत रुपले अगाडि बढाउन मातहत कमिटीहरुलाई निर्देशन गरिएको सचिव भट्टराईले बताए ।
‘एमाले लडाइँ र झडप चाहँदैन्’
यसैबीच एमाले प्रदेश नं. २ का संयोजक तथा स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले शान्तिपूर्ण रुपमा अभियान सञ्चालन गरिने बताए । ‘केही मधेसी दलका नेताले अभियानको विरोध गरेपनि त्यसको कुनै अर्थ रहँदैन’ उनले भने– ‘शान्तिपूर्ण अभियान सञ्चालन गर्न पाउने संवैधानिक हक भएकाले अभियान सञ्चालन हुन्छ ।’
लोकतन्त्रमा विश्वास गर्ने दलका नेताले शान्तिपूर्ण अभियानको विरोध गर्नु हुँदैन भन्दै नेता मण्डलले एमालेको कार्यसूची र नीतिबारे मधेशका जनतालाई जानकारी गराउन अभियान सञ्चालन हुने बताए । ‘एमाले लडाइँ र झडप चाहँदैन’ उनले भने– ‘पार्टीको नीति र कार्यक्रमबारे जनतालाई जानकारी गराउनु हाम्रो संवैधानिक र लोकतान्त्रिक अधिकार हो ।’












प्रतिक्रिया