३१ आश्विन २०८३, शनिबार

गौतमबुद्ध विमानस्थल निर्माणमा चिनियाँ कम्पनीकै बदमासी

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– नरेश केसी

भैरहवा, ११ चैत । राष्ट्रिय गौरवको परियोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाको निर्माण कार्य विगत ८ दिनदेखी रोकिएको छ । निर्माण कार्य रोकिएपछि विमानस्थलको भविष्यको बारेमा समेत चिन्ता प्रकट हुन थालेको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणको काम रोकिएपछि यहांको बारेमा धेरै थरिका टिका टिप्पणी पनि बाहिर आइरहेको छन् । सरकारले अत्यन्तै महत्व दिएर निर्माण कार्य शुरु गरेको यो विमानस्थलको निर्माण कार्यको ठेक्का चिनियां कम्पनी नर्थवेस्ट सिभिल कन्सट्रक्सन ग्रुप लिमिटेड चाइनाले पाएको भएता पनि काम भने सब कन्ट्रयाक्टर नर्थवेस्ट नेपाल ईन्फा प्रा.लिले गरिरहेको छ । अहिलेसम्म निर्माण कम्पनिले २७ प्रतिशत काम भएको दाबी गरेको छ ।

विमानस्थलबारे भैरहवा सम्वाददाता नरेश केसीको रिपोर्ट:

भैरहवा विमानस्थल जसलाइ गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल भैरहवाको रुपमा चिनिन्छ । ०२३ सालदेखी नियमीत उडान भदै आएको भैरहवा विमानस्थलमा सन् २०१८ मा अन्तराष्ट्रिय उडान र अवरतण हुनेगरी २०७१ साल माघ १ गते विहीबारका दिन तत्कालिन प्रधानमन्त्री स्वर्गिय शुसील कोइरालाले आयोजनाको शिलान्यास गरेसंगै यस क्षेत्रमा खुसी छाएको थियो । तर एकाएक पछिल्लो एक हप्ता यता निर्माणको ठेक्का पाएको मुख्य ठेकेदार चिनियां कम्पनी नर्थवेस्ट सिभिल कन्सट्रक्सन ग्रुप लिमिटेड चाइना र सब कन्ट्रयाक्टर नर्थवेस्ट नेपाल ईन्फा प्रा.लिबीच लेनदेन विवाद सतहमा आएपछि काम रोकिंदा लुम्बिनी क्षेत्रबासी चिन्तीत भएका छन् ।

सन् २०१७ को जनु २ तारिख अर्थात २०७४ जेठ १९ गतेभित्र निर्माण सम्पन्न गर्नेगरी ठेक्का सम्झौता गरेको चिनीया कम्पनि नर्थवेस्ट सिभिल कन्सट्रक्सन ग्रुप लिमिटेड चाइनाले आफुले प्राप्त गर्ने रकम मध्ये ८० प्रतिशत रकम नेपाली कम्पनिलाई दिनेगरी सब कन्ट्रयाक्टरको रुपमा नर्थवेस्ट नेपाल ईन्फा प्रा.लिलाई निर्माणको कामको सम्पुर्ण जिम्मा दिएको थियो ।

यी दुई कम्पनिबीचको आन्तरिक सम्झौता अनुसार नेपाली कम्पनिले काम गर्दै जादा अहिले सम्म जम्मा कामको २७ प्रतिशत काम सम्पन्न भएको जनाएको छ । विमानस्थलसंग सरोकारित दातृ संस्था एडिबी, कन्सलट्यान्टको जिम्मा पाएको युसीन कोरियन कन्सलट्यान्ट र परियोजना क्यानले संयुक्त रुपमा मूल्यांकन गर्दा समेत २७ प्रतिशत काम भएको जनाएकोछ । चाइनीज कम्पनिले क्यान र एडिबी बाट रकम बुझ्ने तर काम गर्ने सब कन्टयाक्टरलाई रकम नदिने गर्दा अहिले विवाद चूलिएको हो । नेपाली कम्पनि नर्थवेस्ट नेपाल ईन्फा प्रा.लिले अहिले सम्म चाइनीज कम्पनिसंग करिब ५५ करोड लिन बाकी रहेको दाबी गरेको छ । तर यसै हप्ता क्यानबाट २ करोड, एडिबीबाट ६ करोड गरी कुल ८ करोड रकम बुझेको चाइजीन कम्पनिले नेपाली कम्पनिलाई एक रुपैयां पनि नदिएपछि लेनदेनको विवाद सतहमा आएको हो ।

सब कन्ट्रयाक्टर नर्थवेस्ट नेपाल ईन्फा प्रा.लिका अध्यक्ष राजु गुरुंगले भने “हामीले चाइनिज कम्पनिसंग आन्तरीक सम्झौता अनुसार काम गरिरहेका थियौं । उसले दातृ निकाय एडिबी र क्यानसंग रकम नपाउदां हामी आफै रकम जुटाएर निर्माणलाई निरन्तरता दिएका थियौं तर यसै हप्ता ८ करोड रकम बुझ्दा समेत चाइनिजले हामीलाई दिनुपर्ने रकम मध्ये एक रुपैया पनि दिन नखोज्दा हामीले असन्तुष्टि व्यक्त गरेका हौं । ”

विमानस्थलमा टाइप वानको काम सम्पन्न भइसकेको छ । प्रथम चरणमा बिमानस्थलको ३ हजार मिटरको रनवे, ट्याक्सी वे, अन्तर्राष्ट्रिय टर्मिनल भवन, टावर, प्रशासकिय भवन, आन्तरीक तथा बाह्य पेरीफेरी रोड, एअर कार्गो बिल्डींग, सुरक्षा पोष्ट भवन, बिमानस्थल सडक, नदि डाईभर्सन लगायतका भौतिक निर्माणका कार्यहरु गर्ने गरी कन्सट्रक्सन ग्रुपले ठेक्का पाएको थियो । जस अनुसार घाग्रा नदिको डाइर्भसन, धावन मार्गमा माटो फिलिंग, भस्कट फिलिंग र मिस्कट फिलिंग भइसकेको छ । सबै विल्डििंगहरुको जग निर्माण कार्य तथा जहाज पार्किंक स्थल निर्माण पनि अन्तिम चरणमा पुगेको नेपाली निर्माण कम्पनि नर्थवेस्ट नेपाल ईन्फा प्रा.लिका अध्यक्ष गुरुंगले जानकारी दिए ।

अध्यक्ष गुरुंगले भने “मधेस आन्दोलन, राजनितीक उतावचढाव र निर्माण सामग्रीको अभावको कारण अहिले १ सय ६७ दिन म्याद थपिएको छ । चिनिया कम्पनिले २०१४ को लगत इस्टीमेटसंग अहिलेको मूल्य नमिल्ने हुदां लागत बढाएर काम गर्नुपर्छ भनेको छ तर हामिले मानेका छैनौ । उसले लागत र समय बढाएर पैसा भरी कुम्लाएर चिन जाने सोंचमा छ । हामी नो भेरियसन, नो ड्युरेशन भनिरहेका छौं । ६ सय २२ करोड भित्रै यो काम सम्भब छ, सोहि बजेटमा काम गर्नुपर्छ भन्दा चिनीया कम्पनिले विभिन्न विवाद निकालेको हो ।”

चाइनिज ठेकेदार कम्पनिले सन् २०१४ मा सम्झौता गरे अनुसारको रकममा हाल निर्माण सामग्री नपाइने भन्दै रकमको भेरियसन बढाई समय पनि थप गरेर काम गर्न चाहेको पनि बुझिएको छ । यदि त्यस्तो भएमा हाल सम्झौता भएको रकमको तिन गुना थप लागत लाग्ने देखिन्छ ।
यता गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल भैरहवामा देखिएको विवाद समाधानउन्मूख भएको आयोजना प्रमुख ओम शर्माले जानकारी दिए ।

शर्माले भने “यहांको कामको ठेक्का चिनीया कम्पनीले लिएको हो । उसको फाइनान्सीयल म्यानेजमेन्ट कमजोर छ । यसबारेमा हामीले बारम्बार चिनी स्थित उसको हेडक्वाटरलाई समेत पत्र पठाएर सचेत गराएका छौं पछिल्लो समय उसैले आफै सब कन्ट्रयाक्टर बनाएको नेपाली नर्थवेस्ट नेपाल ईन्फा प्रा.लिसंग लेनदेन विवाद नमिलेर केही समस्या आयो । केहि दिनदेखी काम बन्द छ । तर अब केहि दिनमै यो काम सूचारु हुन्छ । किनकी चाइनीजक कम्पनिका उपाध्यक्ष र नेपाली कम्पनिबीच विवाद समाधान गर्नेगरी ४ बूंदे सहमति हाम्रो मन्त्रालयका सहसचिव डन्डु घिमिरे सहितको रोहबरमा भइसकेको छ ।

शर्माले विवाद समाधानतर्फ उन्मूख भएको पनि जिकीर गरे । चिनीया कम्पनिले विहीबारदेखी मिस्कट र बालुवाको रोयल्टी रकम तिर्न जिल्ला विकास समिती गएको बुझिएको छ । दुबैपक्षको सम्झौता अनुसार तत्काल लेनदेन हिसाब गर्नुपर्ने शर्त अनुसार ओभर ल्याप नहुने काम जारी राख्नेगरी तिनाउबाट निर्माण सामग्री लिन चिनीया कम्पनिले शुरु गरेको हो ।

शर्माले त्यसो भनिरहदा भने आयोजना स्थलमा एक हप्तादेखी काम नै रोकिदा नेपाली ठेकेदार कम्पनिमा काम गर्ने अढाइसय मजदूर हरु दिनभर घाम तापेर दिन कटाउन बाध्य देखिएका छन् ।

स्थानियको चिन्ताः

सबैको सपनाको केन्द्र गौतमबुद्ध विमानस्थल निर्माणमा विवाद देखिएपछि तोकिएकै समयमा काम सम्पन्न नहुदां कतै सदियौंको सपना यसै तुहिने त होइन भनी यस क्षेत्रका नागरिक अगुवाले चिन्ता व्यक्त गरेका छन् ।

नागरिक अगुवा ओमकार गौचनले भने “यो वा त्यो मानेमा निर्माण काम रोकिनु हुदैन । कुनैपनि हालतमा निर्माण कार्यलाइ निरन्तरता दिनुपर्दछ । ”

लुम्बिनी अभियन्ता अग्रज पत्रकार चेतन पन्तले गौतमबुद्ध विमानस्थल निर्माणसंगै यस क्षेत्रमा बढेको चार्मिंग र पर्यटन व्यवसायमा आइरिएको लगानीमा धक्का लाग्ने जनाए । उनले तत्काल सरोकारवाला निकायले ध्यान दिएर निर्माण कार्यलाइ निरन्तरता दिनुपर्नेमा समेत जोड दिए । भैरहवा क्षेत्रका उद्योगी मोहित अग्रवालले विमानस्थल संगै यस क्षेत्रमा भइरहेको लगानीमा समेत धक्का पुग्नेगरी निर्माण काम रोकिनु गलत भएको जनाए ।