
मोरङ, १० चैत । मोरङमा सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । २५ जना घाइते भएका छन् ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बयरबन–९ लेटाङमोड स्थित पूर्वपश्चिम राजमार्गमा ना.५ ख ५३८७ नम्बरको बसले र मे.४ प ८५११ नम्बरको मोटरसाइकललाई बुधबार ठक्कर दिंदा बसमा सवार चार जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा लेटाङ–३ बस्ने १८ वर्षीय देवेन्द्र लिम्बु, २० वर्षीय तिलक लिम्बु, रुपन्देही बुटवल शंकरनगर घर भई हाल भारत बस्ने ७८ वर्षीय पुर्षोतम सुवेदी र ६८ वर्षीय टिका सुवेदी रहेका छन् ।
बसमा सवार चारै जना दुर्घटनापछि गम्भीर घाइते भएका थिए । उनीहरुलाई उपचारको लागि स्थानीय पथरी अस्पताल पठाएकोमा उपचारको क्रममा चारै जनाको मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका अन्य २४ जना मध्ये गम्भीर घाईते १ जनालाई न्यूरो अस्पताल बिराटनगर पठाइएको, मध्यम घाईते ९ जनाको बिराट नर्सिङ्गहोम बिराटनगरमा र १० जनाको पथरी अस्पतालमा उपचार भईरहेको छ भने अन्य ४ जनाको अवस्था सामान्य रहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मोटरसाइकल अनियन्त्रीत हुँदा एकको मृत्यु
यस्तै मोरङ बयरबन–९ स्थित पूर्व पश्चिम राजमार्गमा बा ४० प १२९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा हाल नाम, थर, वतन नखुलेको चालक र पछाडी सवार दुबै जना गम्भीर घाइते भएकाले पथरी अस्पताल पठाइएकोमा उपचारको क्रममा १ जनाको मृत्यु भएको छ ।
१ जनालाई थप उपचारको लागी न्युरो अस्पताल बिराटनगर पठाइएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।











प्रतिक्रिया