६ मंसिर २०८३, आइतबार

थ्रेसहोल्डको विरोधमा माओवादीकै सांसद ! भन्छन्- यो हत्केलाले सूर्यलाई छेक्ने प्रयास मात्रै हो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० चैत । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका सांसद एवं नेपाल प्रहरीका पूर्व आईजीपी रवीन्द्रप्रताप शाहले थ्रेसहोल्ड राख्दैमा राजनीतिक स्थिरता नआउने बताएका छन् ।

निर्वाचनमा राष्ट्रिय दलको मान्यता पाउन समानुपातिकमा तीन प्रतिशत र प्रत्यक्षमा एक सिट अनिवार्य व्यवस्थासहित थ्रेसहोल्ड समेटिएको राजनीतिक दलसम्बन्धी विधेयक संसदबाट पारित भएपछि त्यसमा प्रतिक्रिया दिँदै सांसद शाहले यो हत्केलाले सूर्यलाई छेक्ने प्रयास मात्रै भएको बताए ।

उनले नेपाली राजनीतिको विगत र वर्तमानलाई तुलना गर्दै सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन्– ‘निर्वाचनमा थ्रेसहोल्ड राखेर नेपालमा राजनीतिक स्थिरता आउछ भन्नेमा मलाई अलिकति पनि बिश्वास छैन । यो हत्केलाले सूर्यलाई छेक्ने प्रयास मात्र हो । बिगत हेरौं ।’

यस्तो छ नेपाली राजनीतिक दलको विगतः

– ०६२/६३ अगाडी नेपालमा नेपाली कांग्रेस र एमाले मात्र मुख्य शक्ति थिए र प्रत्यक्ष मतदानबाट २०५ को संख्यामा सांसद निर्वाचित हुने गर्दथे समानुपातिकको कुनै व्यवस्था थिएन ।

– ०४८ र ०५६ को निर्वाचनमा नेपाली कांग्रेसले पूर्ण बहुमत पाएर पनि दुबै पटक संसद भंग गरि मध्यावधि निर्वाचनमा जानुपर्यो ।

– ०५१ को आम निर्वाचनले एमाले (थोरै संख्याले) पहिलो, कांग्रेस दोश्रो र राप्रपा तेश्रो शक्तिका साथ त्रिशंकु सांसद बन्यो । यस अवधिमा सांसद खरीदबिक्री, प्राडो र पजेरो, सुरासुन्दरी, सरकार बनाउने र गिराउने बिदेश भ्रमण, भाईब्रोना जस्ता थुप्रै काण्डहरु भए ।

– त्यतिबेला राप्रपाका त मन्त्री नहुने कुनै सांसद नै भएनन ।

वर्तमान हेरौंः

– संविधान अनुसार संघिय संसदको तल्लो सदनमा प्रत्यक्ष १६५ र समानुतिक ११० गरि जम्मा २७५ जना सांसद निर्वाचित हुनेछन ।– कांग्रेस, एमाले, माओवादी, मधेशी मोर्चा र राप्रपा समेत गरि ५ वटा प्रमुख शक्ति देखिएका छन् ।
– ३५ प्रतिशत राखेर पनि के गर्नु ? केही साना दल हराउलान ।
तर, जति पटक निर्वाचन गराए पनि तल्लो सदनलाई त्रिशंकु बन्नबाट कसैले रोक्न नसक्ने निश्चित नै छ ।

निश्कर्षः

– अहिलेसम्म अस्थिरताको कारक ठुला दलहरु आफै हुन । गजेन्द्र नारायण सिंह, नारायणमान बिजुक्छे र चित्रबहादुर केसीहरु कहिल्यै पनि अस्थिरताका कारण बनेनन् ।– देशलाई यो दुर्दशामा पुर्याउन पनि ठुला दलहरु नै जिम्मेवार छन । आफ्नो आफ्नो बिचार बोकेर बसेका ती साना दलहरुले कुनै कोणबाट पनि देश बिगार्ने भूमिकामा देखा परेका छैनन् ।
– पहिले २ दलले निभएको भूमिकामा अब ५ दल हुनेछन ।
– ३५ थ्रेशहोल्ड राख्दा केही साना दलहरु भने हराउन सक्छन । तर पनि समानुपातिक कारणबाट कुनै दलको बहुमत आउछ भन्ने सोचाई राख्नु सपनामध्ये पनि दूर्लभ सपना हुनेछ ।
– ५० को दशकमा राजनीतिक दलहरु र तीनका शीर्षस्थ नेतृत्वमा देखिएको नकारात्मक प्रवृत्ति अहिले झन मौलाउदै गएको छ ।

त्यसैले, अस्थिरतामा रमाउंदै देश बिगार्ने ठूला दलहरु भने झनझन पुरस्कृत हुंदै जाने बाहेक अहिलेको थ्रेसहोल्ड ब्यबस्थाले राजनैतिक स्थिरता कायम गर्न सानो भन्दा सानो भूमिका पनि खेल्न नसक्ने बिषय अब हुने संघीय संसदको पहिलो निर्वाचनबाटै प्रस्ट हुनेछ ।

त्यसको निम्ति धेरै होईन मात्र ९ महिना कुरे पुग्छ होला !