काठमाडौं, १० चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल चीन भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गर्नै लाग्दा कार्यबाहक प्रधानमन्त्रीलाई लिएर केही तनाव उत्पन्न भएको छ ।
उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधि र उपप्रधान एवम् स्थानीय विकासमन्त्री कमल थापाबीच कार्यबाहक प्रधानमन्त्रीलाई लिएर असमझादर उत्पन्न भएको स्रोतले जनाएको छ । दोस्रो बरीयतामा रहेका निधि र चौथो बरीयतामा रहेका थापाले कार्यबाहक प्रधानमन्त्रीको दाबी गर्दै आएका छन् ।
प्रधानमन्त्री दाहालले यसअघि निधिलाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइसकेका छन् । यसपटक पनि निधिले नै पाउने स्रोतको भनाइ छ ।
प्रधानमन्त्री कार्यालयको वेबसाइटमा रहेको बरीयताअनुसार निधि प्रधानमन्त्री दाहाल पछि दोस्रो बरीयतामा छन् । उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महरा तेस्रो स्थानमा छन् । कमल थापा उपप्रधानमन्त्रीहरूको सूचीमा पुछार अर्थात चौथो स्थानमा छन् ।
स्रोतका अनुसार प्रधानमन्त्री पछिको बरीयतामा रहने विवादका कारण बुधबारका लागि बोलाइएको मन्त्रिपरिषद बैठक अचानक स्थगित भएको थियो ।
मन्त्रिपरिषद कार्यालय स्रोतले भन्यो, ‘यसअघि विमलेन्द्र निधिले कार्यबाहक प्रधानन्त्रीको जिम्मेवारी पाइसक्नु भएको छ । कमल थापा चौथो बरीयतामा हुनुहुन्छ । थापाले कार्यबाहक प्रधानमन्त्री पाउनु हुँदैन । थापाभन्दा अगाडि कृष्णबहादुर महरा हुनुहुन्छ ।’
उपप्रधानमन्त्री थापाले आफू बरिष्ठ र राप्रपाको अध्यक्षको हैसियतले निधि र महराभन्दा अगाडि तथा प्रधानमन्त्री पछि दोस्रो वरीयतामा रहन पाउनुपर्ने भन्दै माग गर्दै आएका छन् ।











प्रतिक्रिया