३१ आश्विन २०८३, शनिबार

नेपालको जलविद्युतमा लगानी गर्न दक्षिण कोरिया तयार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ चैत । दक्षिण कोरिया सरकारले नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्ने इच्छा व्यक्त गरेको छ ।

विश्वव्यापी रुपमा जलवायु परिवर्तन भइरहेको र हरित ऊर्जामा ध्यान दिनुपर्ने अवस्था सिर्जना भइरहेको सन्दर्भमा दक्षिण कोरियाले नेपाललाई सहयोग गर्ने वचन दिएको छ ।

ऊर्जामन्त्री जनार्दन शर्मासँग दक्षिण कोरियाका विद्युत् तथा व्यापार उपमन्त्री हान जीनह्युनले गर्नुभएको भेटवार्तामा नेपालको जलविद्युत् क्षेत्रमा कोरियाले लगानी गर्ने वचन दिनुभएको हो ।

विकासको चरम सीमामा पुगेको दक्षिण कोरियाले हरित ऊर्जामा ध्यान दिनुपर्ने भन्ने अन्तर्राष्ट्रिय मान्यतालाई सहयोग गर्नसमेत नेपाल लगानीका लागि उपयुक्तस्थल भएको भन्दै कोरियाली उपमन्त्रीले उपयुक्त आयोजनाको पहिचान गरी जानकारी गराउन आफूलाई आग्रह गर्नुभएको मन्त्री शर्माले जानकारी दिनुभयो ।

“नेपालसँग सहकार्यका हात अगाडि बढाउन कोरिया सरकार तयार रहेको मैले थाहा पाएँ, उनीहरुले नेपाललाई सहयोग गर्ने विभिन्न मुलुकमध्ये उच्चकोटीमा राखेर हेरेका छन्, नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न उनीहरु इच्छुक छन्”– मन्त्री शर्माले भन्नुभयो ।

दक्षिण कोरिया सरकारले सरकारी तवरबाटै वा निजी क्षेत्रलाई समेत लगानीका लागि प्रेरित गर्ने जानकारी उपमन्त्रीले मन्त्री शर्मालाई गराउनुभएको थियो । सार्वजनिक निजी साझेदारीको अवधारणामा पनि काम गर्न सकिने तथा निजी लगानीलाई पनि नेपालमा प्रोत्साहित गर्न सकिने भन्दै सरकारले त्यसको वातावरण बनाएको भन्दै मन्त्री शर्माले लगानीको सुरक्षा र प्रतिफलका विषयमा समेत निश्चित भएर आउन आफूले आग्रह गरेको उल्लेख गर्नुभयो ।

यस्तै, दक्षिण कोरियाको अन्तर्राष्ट्रिय सहयोग संस्था (कोइका)का तर्फबाट समेत लगानी गर्न सकिने तथा निजी लगानीकर्तालाई समेत स्वागत गरिने मन्त्री शर्माले कोरियाली उपमन्त्री र कोइकाका प्रतिनिधिलाई जानकारी गराउनुभएको थियो ।

मन्त्री शर्मासँगको भेटमा कोरियाली उच्च सरकारी अधिकारीले नेपाली कामदार इमान्दार र मेहनती भएको भन्दै नेपालीको पेसागत सुरक्षा एवम् अन्य सेवा तथा सुविधाका सम्बन्धमा आफूहरुकातर्फबाट इमान्दार प्रयास गर्ने वचन दिएको उल्लेख गर्नुभयो ।

दक्षिण कोरियामा रोजगार अनुमति प्रणालीमार्फत ३५ हजार नेपाली युवालाई रोजगारी प्रदान गरेको छ । यस्तै, यसैवर्ष थप १० हजार नेपाली युवालाई रोजगारी प्रदान गर्ने जनाएको छ ।

नेपालको जलविद्युत् क्षेत्रमा लगानी जुटाउने लक्ष्यका साथ ऊर्जामन्त्री दक्षिण कोरियाको भ्रमणमा हुनुहुन्छ । उहाँले आइतबार नेपाली समुदायसँग अन्तक्र्रिया गरी लगानीका लागि आग्रह गर्नुभएको उहाँका निजी सचिव कृष्ण केसीले जानकारी दिनुभयो । रासस