१ कार्तिक २०८३, आइतबार

जनताले चाहे भने राजतन्त्र फर्किन सक्छः रामशरण महत

9.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ चैत । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसका नेता डा. रामशरण महतले संविधान संशोधन प्रस्तावलाई टुँगो लगाएर मात्रै निर्वाचनमा जानुपर्ने बताएका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता महतले संसदमा विचाराधिन संविधान संशोधन प्रस्तावलाई छलफल गराएर टुँगोमा पुर्याउनुपर्ने बताएका हुन् । उनले भने, ‘संशोधन प्रस्तावलाई अब अड्काएर राख्नुहुँदैन्, यसलाई टुँगो लगाउनुपर्छ, यसलाई छिनोफानो गर्नुपर्छ, प्रस्ताव पास भएपनि नभएपनि मधेशी मोर्चाले संसदबाट आउने नतिजालाई स्वीकार गर्नुपर्छ, अनि चुनावमा भाग लिनुपर्छ ।’

साक्षात्कारमा बोल्दै नेता महतले संशोधन प्रस्ताव पारित गराउनैपर्छ भनेर अड्डी लिन नहुने समेत स्पष्ट पारे । उनले भने, ‘अब संशोधन प्रस्तावलाई टुँगोमा पुर्याएर सबै दलहरुलाई निर्वाचनमा सहभागी गराउनुपर्छ, मधेशी मोर्चालाई पनि चुनावमा लिएर जानुपर्छ ।’ उनले मधेशी मोर्चालाई बाईपास गरेर चुनावमा जान नहुने धारणा राखे । महतले भने, ‘मधेशी मोर्चा चुनावमा गएन भने यो चुनावको कुनै औचित्य रहँदैन्, र यो संविधानको औचित्यमाथि नै प्रश्न चिन्ह खडा हुन्छ ।’

नेता डा. महतले संविधान संशोधन प्रस्ताव पारित गराउनको लागि मधेशी मोर्चाले पनि प्रत्यन गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘दुई तिहाई जुटाउनको लागि मोर्चाले पनि आफ्नो तर्फबाट गम्भिर पहल गर्नुपर्छ ।’ महतले निर्वाचन र संविधान संशोधन सँगसँगै लैजानुपर्ने बताए । उनले निर्वाचनमा मधेसी मोर्चालाई पनि सहमत गराएर लैजानुको विकल्प नभएको पनि बताए ।

उनले निर्वाचनमा भाग लिनको लागि जनतामा ठूलो उत्साह रहेको स्पष्ट पारे । उनले भने, ‘निर्वाचनको लागि सबै दलहरु तयार हुनुपर्छ, जनतामा ठूलो उत्साह छ, तर दुई नम्बर प्रदेशमा पनि चुनाव गराउनुपर्छ,’ मधेश केन्द्रित दलहरुलाई पनि चुनावमा लिएर जानुपर्छ, मधेशमा चुनाव भएन भने चुनावको कुनै औचित्य हुँदैन् ।’

‘निर्वाचन आयोगले गलत गर्यो, जनताले चाहे भने राजतन्त्र फिर्ता हुन सक्छ’

नेता महतले निर्वाचन आयोगले राप्रपाको विधानबाट हिन्दुराष्ट्र र राजतन्त्र भन्ने वाक्यांश हटाएको विरोधमा राप्रपाले गरिरहेको आन्दोलनको विषयमा टिप्पणी गर्दै भने, ‘निर्वाचन आयोगले आँफै समस्या सिर्जना गरेको छ, आयोगको यो कदम उचित छैन ।’

उनले संविधान अनुरुप छैन भनेर आयोगले यस्तो काम गर्नु अत्यन्तै गलत भएको टिप्पणी गरे । महतले भने, ‘जनताले चाहे भने राजतन्त्र त फिर्ता हुन्छ, सम्प्रभुता, राष्ट्रिय एकता र भौगोलिक अखण्डतामा सम्झौता हुन सक्दैन्, अरु सबै विषयमा जनताले चाहे भने संशोधन हुन सक्छ ।’

‘वर्तमान सरकार अल्पकालिन सोचबाट सरकार ग्रसित’

त्यस्तै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकार अल्पकालिन सोचबाट सरकार ग्रसित बनेको समेत आरोप लगाए । उनले भने, ‘अहिले सुशासनको अभाव छ, प्रशासन त्यही अनुसार ग्रसित छ, विकास खर्च भएको छैन् ।’

‘पूरानै संरचनाअनुसार निर्वाचनमा गए सबै दलले भाग लिन्छन्’

उनले पूरानै संरचना अनुसार निर्वाचनमा गए सबै दलले निर्वाचनमा भाग लिने वातावरण बन्ने थियो भन्दै गुनासो पोखे । उनले भने, ‘मैले त पूरानै संरचना अनुसार निर्वाचना जानुपर्छ भनेको थिएँ, अहिले नयाँ संरचना अनुसार जाँदा झनझट हुन्छ, कार्यालय कहाँ राख्ने, प्रशासनीय संरचना कस्तो हुने समस्या हुन्छ भनेर मैले यो कुरा भनेको थिएँ ।’

अहिले स्थानीय तहमा विवाद सिर्जना भए पुरानै स्थानीय निकायको निर्वाचन गर्नुपर्ने उनको भनाइ थियो । ‘नयाँ संरचनामा जाँदा समस्या हुन्छ भने पुरानै संरचनामा गएर निर्वाचन गरौंं,’ उहाँले भन्नुभयो– ‘पुरानो संरचनामा जाँदा मधेसवादी दलमा पनि आउँछन् ।’

‘राष्ट्रिय सहमतिको सरकार गठनको लागि काँग्रेस खुल्ला’

मुलुकको निकासको लागि प्रमुख दलहरु सम्मिलित राष्ट्रिय सहमतिको सरकार गठनको लागि पनि काँग्रेस खुल्ला रहेको उनको भनाई थियो । उनले भने, ‘म त पहिलेदेखि नै यसको पक्षमा छु, स्थिरता भयो भने मुलुकमा विकास हुन्छ, दिगो विकासको लागिपनि राष्ट्रिय सहमतिको सरकार आवश्यक छ ।’

‘गणतन्त्र राजतन्त्रभन्दा बढी महँगो’

उनले स्थानीय तहको निर्वाचन भएपछि सहमतिको सरकार बन्ने विश्वास दिलाए । उनले राजतन्त्र महँगो भयो भनेर गणतन्त्र ल्याउने अनि सरकार चाही गलत काममा लाग्न थाल्यो भने गणतन्त्र पनि राजतन्त्रभन्दा बढि महँगो साबित हुने बताए ।