काठमाडौं, ७ चैत । मधेसी मोर्चाका नेता एवम् मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले प्रमुख राजनीतिक दलका नेताहरूले जिम्मेवारीका साथ सम्वाद र सहमतिको राजनीतिमा केन्द्रित हुनुपर्ने बताएका छन् ।
दैनिक नेपाल डटकमसँग सोमबार बिहान कुरा गर्दै अध्यक्ष यादवले मधेसी मोर्चा सधैँ सहमति र सम्वादबाट मधेसको निकास निकाल्नुपर्ने पक्षमा रहेको बताए ।
‘हामी सहमति र सम्वादका बिरोधी होइनौँ । तर, हामीलाई सधैँ सौताको व्यवहार किन गरिन्छ । सहमति गरेर कार्यान्वयन किन गरिँदैन ?’, उनले भने, ‘मधेसका माग पूरा गराउन आन्दोलनमा रहँदा पनि सम्वाद र सहमतिलाई सधैँ अग्रस्थानमा राख्यौँ । अहिले पनि सहमतिबाटै अगाडि बढ्नुपर्छ भन्ने पक्षमा छौँ । हाम्रो लचकतालाई कमजोरिका रुपमा नलिइयोस् ।’
अध्यक्ष यादवले जवरजस्ती चुनाव गरियो भने मुलुक द्वन्द्वमा जाने र त्यसको असर मुलुकलाई दीर्घकालसम्म पर्ने बताए । ‘जवरजस्ती चुनावमा जाने हो भने मुलुकमा द्वन्द्व हुन्छ । अहिले चुनाव हुने अवस्था छैन’, उनले भने, ‘सबै राजनीतिक दलहरू जिम्मेवार बन्नु पर्छ । सम्वाद र सहमतिका साथ जानु पर्छ । हठ त्याग्नु पर्छ ।’
मधेसी मोर्चा अहिलेकै अवस्थामा पछाडि फर्कने अवस्था नरहेको बताएका फोरम गणतान्त्रिका अध्यक्ष यादवले भने, ‘मधेसी जनताको आधिकारका लागि मोर्चाका नेताहरूलाई कार्यकर्ता लेबलबाट ठूलो दबाब आएको छ । आन्दोलन चर्काउन प्रेसर आइरहेको छ ।’
उनले यथाअवस्थामा मधेसी मोर्चा चुप लागेर बस्न नहुने भन्दै मधेसको आन्दोलनलाई मोर्चाले मात्रै नेतृत्व दिन सक्ने बताए । ‘मधेसी मोर्चाले खुट्टा कमायो भने मधेसको राजनीति अर्कैतिर जान सक्छ’, अध्यक्ष यादवले भने, ‘विगतमा हामीबाट पनि भुल भएको हो । अब हामी नयाँ राजनीतिक कोर्षमा जानुपर्छ । पहिलो र दोस्रो मधेस आन्दोलन जेका लागि भएको थियो त्यसलाई समीक्षा गर्नुपर्छ ।’
मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिएर आन्दोलन चलाइरहेका बेला मोर्चाका नेता यादवले मधेस आन्दोलन र जनताको भावना बुझ्न प्रमुख दलका नेताहरूलाई आग्रह गरेका हुन् ।











प्रतिक्रिया