६ मंसिर २०८३, आइतबार

दुई नम्बर प्रदेशमा मोर्चा मात्रै छैन, कांग्रेस, एमाले, माओवादी पनि छन् : डा.कोइराला

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ चैत । नेपाली कांग्रेसका प्रभावशाली नेता डा.शेखर कोइरालाले दुई नम्बर प्रदेशलाई छाडेर गरिने स्थनीय तहको निर्वाचनले मुलुकमा बिखण्डनको बीउ रोप्ने बताएका छन् ।

नेपाली रेडियो नेटवर्कमा आइतबार बिहान पत्रकार ऋषि धमलासँग कुरागर्दै कांग्रेस नेता डा.कोइरालाले मधेसी मोर्चालाई सहमतिमा ल्याएर चुनाव गर्नुपर्ने बताए । उनले भने, ‘मधेसी मोर्चालाई सहमतिमा ल्याएर चुनाव नगर्ने हो भने मुलुकमा बिखण्डनको बीउ रोपिन्छ ।’

उनले भने, ‘मधेसी मोर्चा मात्रै मधेसी जनता होइन । मधेसमा कांग्रेस, एमाले, माओवादी केन्द्र पनि छन् । मधेसी मोर्चाले यो कुरा भुल्नु हुँदैन ।सबै पार्टीको अस्तित्व छ । तर पनि मधेसी मोर्चालाई सहमतिमा ल्याउँदा मुलुकको भलो हुन्छ ।’

दोस्रो ठूलो दल एमालेले संविधान संशोधनलाई प्रक्रियामा जान नदिएर ठूलो गल्ती गरेको उनले आरोप लगाए । डा.कोइराले भने, ‘एमालेले संशोधन विधेयकलाई अबरोध गर्न दिनु हुँदैन । प्रक्रियामा अबरोध गर्नु हुँदैन । एमालेले सांसद खरिद बिक्री हुन्छन् भन्ने ठानेको छ भने त्यो गलत हो । त्यति बेकुब छैनन् सांसदहरू । खरिद बिक्री हुँदैन । मतदान खुला रुपमा हुन्छ ।’

कांग्रेस नेता डा.कोइरालाले निर्वाचन आयोग चुनाव विथोल्न लागेको आरोप पनि लगाए । ‘आयोगका क्रियाकलापहरू गैरप्रजातान्त्रिक र लोकतन्त्र विरोधी छन्’, उनले भने, ‘आयोगले मन्त्रीहरूलाई चुनावमा जान रोक्यो । राप्रपाको संवैधानिक राजतन्त्र र हिन्दू राष्ट्रको शब्दावल हटायो । यो त निर्वाचन विथोल्ने कार्य हो ।’

उनले भने, ‘प्रधानमन्त्रीलाई पार्टीको कार्यक्रममा जान हेलिकप्टर चढ्ने अधिकार दिने ? मन्त्रीहरूलाई चुनावमा जान किन नदिने ? मन्त्रीहरूले राजीनामा दिनुपर्छ । त्यसपछि आयोगले कसरी गर्छ चुनाव ?’

मन्त्रीहरूलाई चुनावको प्रचार प्रसारमा रोक लगाएर आयोगले ठूलो गल्ती गरेको उनको भनाइ थियो ।