२० कार्तिक २०८३, शुक्रबार

तलबबाटै विद्यालयलाई स्वेतपाटी सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– सीताराम चौधरी

चन्द्रौटा, ५ चैत । “जहाँ इच्छा त्यहाँ उपाय” भनेझैं केही गर्नलाई धन मात्र भएर हुँदैन मन पनि हुनुपर्छ । हाम्रो समाजमा यस्ता इच्छाशक्ति भएका व्यक्ति विरलै भेटिन्छन् । कोहीसँग मन हुन्छ तर धन खर्च गर्ने इच्छाशक्ति हुँदैन । कोही भने समाजसेवामै आफ्नो सर्वस्व अर्पण गरेका पनि भटिन्छन् । त्यस्तै महान दिल भएका व्यक्तित्वमध्येका एक हुनुहुन्छ– नेपाल राष्ट्रसेवक सुरक्षाकर्मी एवं वरिष्ठ समाजसेवी डा. दिपक थापा । यसैगरी अर्का व्यक्तित्व हुनुहुन्छ –समाजसेवी एवं मोडेल रहिस शाह । जसले शैक्षिक एवं सामाजिक विकासमा उल्लेखनीय योग्दान पु-याउनुभएको छ ।

शैक्षिक विकासमा टेवा पु-याउन उहाँहरुले एक विद्यालयलाई स्वेतपाटी हस्तान्तरण गर्नुभएको छ । जिल्लाको शिवराज नगरपालिका–१, स्थित सरस्वती निमावि शिवपुरलाई उनीहरुले एक कार्यक्रमका बीच ८ थान स्वेतपाटी प्रदान गर्नुभएको हो । विद्यालयका अध्यक्ष जगतबहादुर जिसी, प्रधानाध्यापक रामविलास मण्डल तथा संस्थापक अध्यक्ष छन्दबहादुर सिंह जिसीलाई स्वेतपाटी हस्तान्तरण गर्नुभएको थियो ।

१२ वर्षदेखि नेपाल प्रहरीको प्रहरी जवानमा कार्यरत वरिष्ठ समाजसेवी डा. दिपक थापाले यस विद्यालयलाई मात्र होइन विभिन्न संघसंस्था, धार्मिक एवं पर्यटकीय स्थल, शैक्षिक संस्था, क्लब, सामाजिक कार्य लगायतमा उहाँले आर्थिक सहयोग गर्दै आउनुभएको छ । उहाँ अचम्मका व्यक्ति हुनुहुन्छ, आफूले पाएको तलबबाट खर्च कटाई सम्पूर्ण रकम समाजसेवामै लगाउँदै आउनुभएको छ । बोर्ड हस्तान्तरण गर्दै उहाँले भन्नुभयो – “अरुले आफ्नो लागि जागिर गर्छन् तर मैले समाजसेवाका लागि जागिर गरेको छु ।” जनताले तिरेको करबाट पाएको तलब जनतालाई नै फिर्ता गर्ने सोँचका साथ प्रहरीको जागिर खाएको उहाँ बताउनु हुन्छ । आफू जीवनभर सन्त भई समाजसेवामै आफ्नो जीवन खर्चिने उहाँले प्रण समेत गर्नुभएको छ । समाजमा फैलिएको गलत विचार, भ्रष्टाचार जस्ता बेथितिमा कमी ल्याउन सकारात्मक कदम चालेको कार्यक्रममा बोल्दै उहाँले बताउनुभयो ।

यसैगरी समाजसेवी एवं मोडेल रहिस शाह पनि छोटो समयमै समाजमा आफ्नो पहिचान बनाउन सफल हुनुभएको छ । उहाँ आफ्नो व्यवसाय सँगसँगै समाजसेवामा समेत लगानी गर्दै आउनुभएको छ । सानैदेखि अरुलाई सहयोग गर्ने बानी भएको र जीवनमा सामाजिक क्षेत्रमा आफ्नो पहिचान बनाउने उहाँले प्रतिबद्धता जाहेर गर्नुभयो ।

कार्यक्रमसँगै विद्यालयले सहयोगी हातहरुको योग्दानको उच्च मूल्यांकन गर्दै दोसल्ला, कदर पत्र र मायाको चिनोले सम्मान गरेको थियो । कार्यक्रमका प्रमुख अतिथि विद्यालयका संस्थापक अध्यक्ष छन्दबहादुरसिंह जिसीले सहयोगी दाताहरुलाई योग्दानको कदर गर्दै यस किसिमका कार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । शिक्षा र स्वास्थ्य एक सिक्काका दुई पाटा भएकाले स्वास्थ्य क्षेत्रतर्फ पनि नजरअन्दाज गर्नुपर्ने समेत सुझाव दिनुभएको थियो ।

कार्यक्रममा विद्यालयका अध्यक्ष जगतबहादुर जिसीले सहयोगी हातहरुलाई सकारात्मक काममा निरन्तर अगाडि बढाउन शुभकामना दिनुभयो । समाजमा यस किसिमको व्यक्तित्व पहिलो पटक देखेको बताउँदै जिसीले समाजसेवामा निरन्तर आफ्नो पाइला अगाडि बढाउन सुझाव दिनुभयो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रामविलास मण्डल, शिक्षक अभिभावक संघका सदस्य ऋषिराम खनाल, रेडियो भ्वाइसका स्टेशन म्यानेजर संजीव गहतराज लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।