कञ्चनपुर, ४ चैत । झापाबाट सुरु भएको एमालेको मेची–महाकाली राष्ट्रिय अभियान कञ्चनपुरको महेन्द्रनगर पुगेको छ । बिहीबार कञ्चनपुरको महेन्द्रनगर खुलामञ्चमा बृहत् जनसभा आयोजना गरेर अभियानको अन्तिम सभा आयोजना गरिएको हो । अभियानमा एमालेका एक हजार कार्यकर्ता प्रत्यक्ष सहभागी छन् । नयाँपत्रिका दैनिकले समाचार छापेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि हालतमा स्थानीय तहको निर्वाचन गर्नुपर्ने बताएका छन् । अभियानको समापन सभालाई सम्बोधन गर्दै उनले मधेसीलाई संविधानको अपनत्व गराउने नाममा निर्वाचन रोक्न नहुने बताउँदै संविधान कार्यान्वयन र निर्वाचन भाँड्न संविधान संशेधन प्रस्ताव ल्याएको आरोप लगाए ।
निर्धारित गरेको मितिमै निर्वाचन गराउनुपर्नेमा उनले जोड दिए । अआगामी ७ माघभित्र तीनै तहको निर्वाचन गराउन नसके मुलुकमा फेरि संवैधानिक संकट उत्पन्न हुने भन्दै ओलीले निर्वाचन कुनै पनि बहानामा टार्न नहुने बताए । ‘संविधानसभामा मधेसीको माग भन्दै दर्ता गराएको प्रस्तावले ५ नम्बर मात्रै होइन, सिंगो देश टुक्र्याउने खेल भएको छ,’ उनले भने, ‘एमालेले मुलुक टुक्राटुक्रा पार्न दिँदैन ।’
चुनाव गराउन नसके कुर्सी त्याग्न सुझाब
एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले चुनावबाट भाग्न नहुने बताए । सरकारले घोषाणा गरेको मितिमा स्थानीय तहको निर्वाचन गर्नुपर्नेमा जोड दिँदै नेपालले कुनै पनि हालतमा चुनाव गराउनुपर्नेमा जोड दिए ।
‘चुनाव गराउन नसके कुर्सी त्याग्नुस्,’ उनले भने, ‘चुनाव एमालेले गराउँछ ।’ एमाले महासचिव ईश्वर पोखरेलले निर्वाचन टार्ने षड्यन्त्रलाई एमालेले चिर्ने बताए ।
तराईलाई पहाडबाट कुनै पनि हालतमा अलग्याउन नदिइने उनको भनाइ थियो । एमाले उपाध्यक्ष तथा ७ नम्बर प्रदेशका इन्चार्ज भीम रावलले चुनाव हार्ने डरले मधेसीहरूले एमालेको अभियान भाँडेको आरोप लगाए ।
‘भौगोलिक अखण्डता र स्वतन्त्रताबारे कसैसँग सम्झौता गर्दैनौँ’
कैलाली-एमालेका अध्यक्ष केपी ओलीले भौगोलिक अखण्डता, स्वतन्त्रता र स्वाभिमानबारे आफ्नो पार्टीले कसैसँग सम्झौता नगर्ने बताएका छन् । ‘राष्ट्रलाई विकासतर्फ अघि बढ्न नदिने, संविधान कार्यान्वयनमा बाधा पुर्याउने षड्यन्त्र केही देशभित्रका तत्व र बाहिरबाट भइरहेको छ,’ बिहीबार धनगढीमा आयोजित सभालाई सम्बोधन गर्दै ओलीले भने ‘एमाले ती दुष्प्रयासलाई विफल पार्न र जनतालाई सचेत गराउन मेची महाकाली अभियान गरिरहेको छ ।’
उनले लोकतन्त्रकोे सुदृढीकरण, समाजिक सद्भाव, राष्ट्रिय एकता र राष्ट्रलाई समृद्धितर्फ अघि लग्न एमाले लागिपरेको बताए । ‘भाषा, भूगोल वा जातिका नाममा हुने कुनै पनि प्रकारका विखण्डनलाई हामी स्वीकार गर्दैनौं,’ उनले भने ‘अबको कार्यभार समृद्धि हो । अबको ध्यान त्यसैमा केन्द्रित हुनुपर्छ ।’ उनले जनतालाई भड्काउका पछि नलाग्न आग्रह गरे ।
सचिव भीम आचार्यले एमालेको अभिायनले संविधान कार्यान्वयनमा जनदबाब सिर्जना गरेको उल्लेख गर्दै अभियानमा लाखौँ जनताको सहभागिताले जनता कसका पक्षमा छन् भन्ने प्रस्ट भएको बताए । ‘यसबाट एमालेले लिएका नीतिहरू सही र समयसापेक्ष छन् भन्ने देखिएको छ । हामी थप उत्साहित भएका छौँ,’ उनले भने ।
एमालेद्वारा सहिद गौतम परिवारलाई पाँच लाख
एमालेले पुनर्वास–८ मा कल्भर्ट निर्माणको विषयलाई लिएर भारतीय सुरक्षकर्मीको गोलीबाट मारिएका सहिद गोविन्द गौतमको परिवारलाई नगद पाँच लाख आर्थिक सहयोग गरेको छ । मेची–महाकाली राष्ट्रिय अभियानको बिहीबार महेन्द्रनगरमा समापन समारोहमा एमाले अध्यक्ष केपी ओलीले कञ्चनपुरका पार्टी अध्यक्ष तारा लामा तामाङलाई पाँच लाखको चेक हस्तान्तरण गरेका हुन् । एमालेले गोविन्दका सन्तानका लागि एक थान ल्याप्टअपसमेत प्रदान गरेको छ ।












प्रतिक्रिया