काठमाडौं, ४ चैत । भूकम्पपछि असुरक्षित महसुस गर्दै नेपाल भ्रमणमा आउन नचाहने विश्वभरका नागरिकलाई लक्षित गरी जापानी नागरिक मिजुतानी कोजीले ‘मेरी नेपाल’ अर्थात् ह्याप्पी नेपाल अभियान सुरु गरेका छन् ।
भूकम्पको पीडालाई नजिकबाट बुझ्ने भएकाले नेपालको आर्थिक विकासका लागि सहयोग गर्ने उद्देश्यका साथ मेरी नेपाल प्रोजेक्ट नै स्थापना गरी कोजीले यो अभियान थालेका हुन् । राजधानी दैनिकले समाचार छापेको छ ।
‘भूकम्पपछि नेपाल भ्रमणमा आउन जोकोही विदेशी नागरिक डराइरहेका छन्, नेपाल सुरक्षित छैन, नेपाली सुरक्षित छैनन् भन्ने मान्यता उनीहरूमा रहेकै कारण नेपालमा आउन हच्किएका हुन्, उनीहरूलाई नेपाल सुरक्षित छ, नेपाली खुसी छन्, तिमीहरू नेपाल भ्रमणमा आउनुपर्छ भन्ने सन्देश दिन मेरी नेपाल अभियान थालिएको हो,’ अभियानकर्ता कोजुले भने ।
उनका अनुसार विश्वभर सुरक्षित नेपाल र खुसी नेपाली छन् भन्ने सन्देश दिई नेपालमा पर्यटक बढाउनु अभियानको मुख्य उद्देश्य हो । ‘हँसिलो मुहार भविष्यको आशा हो, नेपालको भविष्य राम्रो छ, भूकम्पको पीडालाई पराजित गर्दै नेपाली खुसी छन्, उनीहरू विकासको बाटोमा छन् भन्ने मेरी नेपाल अभियानको मुख्य सन्देश हो,’ उनी भन्छन् ।
यही सन्देश फैलाउन आईजीसी फाउन्डेसनको संयोजन र प्रेस चौतारी नेपालको आयोजनामा बिहीबार काठमाडौंको बौद्धस्थित बौद्धनाथ स्तुपामा विशेष कार्यक्रमसहित मेरी नेपाल अभियान सम्पन्न गरिएको छ ।
भूकम्पपछि पुनर्निर्माण भएको बौद्धनाथ स्तुपाबाट नेपाल सुरक्षित छ भन्ने सन्देश दिन आयोजित कार्यक्रममा मुस्कानसहितको तस्बिर खिचिएको छ ।
सो तस्बिरलाई युरोप, अमेरिकालगायत ३० राष्ट्रमा प्रदर्शनी गरी नेपाल भ्रमणको निमन्त्रणा दिइने अभियानकर्ता कोजीले जानकारी दिए । नेपाललाई विश्वभर चिनाउन अभियानलाई साथ दिएको आईजीसी फाउन्डेसनका संयोजक गणेशमान लामाले नेपालमा विदेसी पर्यटक भिœयाउन अभियान निकै महत्वपूर्ण रहेको बताए ।
‘सुरक्षित नेपाल, खुसी नेपाली भन्ने सन्देश दिई सम्बन्धित मुलुकमै पुगेर नेपाल भ्रमण गर्न प्रेरित गर्न अभियान थालिएको हो,’ लामाले भने, ‘नेपालीमा भूकम्पपछिको मानसिक तनाव पनि कम भएको छ र हामी नेपाल बनाउन सक्छौं भन्ने सन्देश पनि कार्यक्रममार्फत दिन खोजिएको हो । भूकम्पबाट क्षतविक्षत भई पुनर्निर्माण सम्पन्न बौद्धनाथ स्तुपामा ५० जना पत्रकारले मुस्कानसहित सामूहिक तस्बिर खिचाएर नेपाल सुरक्षित छ भन्ने सन्देश दिएको उनले बताए । ‘भूकम्पपछि जताततै नेपालबारे दुःखको समाचार प्रवाह भइरहेको छ, अब नेपाल दुःखी होइन, खुसीका साथ समृद्धितिर लागेको छ भन्ने सन्देश दिन कार्यक्रम आयोजना गरिएको हो,’ संयोजक लामाले भने ।
मुस्कानसहितको फोटो खिचाउने अभियानमा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत, पूर्वअध्यक्ष गगन विष्ट, वरिष्ठ उपाध्यक्ष माधव नेपाल, महासचिव राजेश राई, नेपाल पत्रकार महासंघका महासचिव उजिर मगरलगायत ५० जनाभन्दा बढी पत्रकार सहभागी भएका थिए । अभियानकर्ता कोजीका अनुसार बौद्धनाथ स्तुपामा खिचिएको मुस्कानसहितको फोटो ह्याप्पी टोकियोमा प्रदर्शनी गर्दै जापानमा रहेका सबै विदेशीलाई नेपाल भ्रमणको निम्तो दिइनेछ । त्यसपछि युरोप, अमेरिकालगायत ३० मुलुकमा प्रदर्शनी गरी नेपाल भ्रमणका लागि आह्वान गरिने कोजीले बताए ।












प्रतिक्रिया