बनेपा, ३ चैत । काभ्रेली ‘डन’ अर्थात गुन्डा नाइके दावा लामा हिरासतबाट छुटेको दुई हप्तापछि सार्वजनिक कार्यक्रममा देखिएका छन् ।
काभ्रे जिल्लाको कोशीपारीको भुम्लु गाउँपालिकाको वडा नम्बर १०मा दावा लामा आफ्ना साथीहरूसँग देखिएका हुन् । उनीसँगै तरुण दलका नेता महेश खरेल पनि देखिएका छन् ।
बोलेरो, हाइलक्स पिकअप लगायतका महँगा गाडी लिएर कोशीपारी पुगेका कथित ‘डन’ दावा लामाले कांग्रेसको झण्डा अगाडि राखेर कार्यक्रम समेत गरेको एक सहभागीले बताए ।
‘महेश खरेल, दावा लामासहितको समूह आएका थिए । गाउँमा खानाखान पनि दियौँ । भेटघाट कार्यक्रम पनि थियो’, कार्यक्रममा सहभागी कांग्रेसका एकजना स्थानीय नेताले भने ।
राजनीतिक कार्यक्रमका लागि भन्दा पनि आफ्नो रवाफ देखाउन आएको जस्तो देखिएका दावा लामाले आफ्ना अगाडि पछाडि हिँड्ने लठैतहरूलाई बेलाबेला विशेष निर्देशन दिने गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।
काठमाडौंको दरबारमार्गमा युवा व्यवसायीलाई सांघातिक आक्रमण गरेर एकसाता हिरासतमा बसेर कांग्रेसी नेताहरूको दबाबमा धरौटीमा रिहा भएका दावा लामालाई प्रहरीले उच्च निगरानीमा राखेको छ ।
जबरजस्ती पैसा असुल्ने, व्यक्ति अपहरण, कुटपिट, ठेक्का पट्टा, व्यवसायीहरूसँग महिनावारी रकम असुल्ने आदि आरोप दावा लामालाई लागेको छ । विभिन्न अपराधमा जेल सजाय भोगीसकेका दावा लामालाई कांग्रेस नेताहरूको ठूलो संरक्षण छ ।











प्रतिक्रिया