
अन्तर्राष्ट्रि बजारबाट औषधि नेपालमा वर्षेनि ठूलो परिमाणमा भित्रिँदै आएको छ । राज्यले तोकेको मापदण्डभित्र रहेर नेपाली व्यवसायीहरूले वार्षिक २५ सय करोड रुपियाँ बराबरको औषधि आयात हुने गरेको तथ्याङ्क छ । व्यवसायीहरूले विदेशबाट आयात गरेको औषधिले स्वदेशी औषधि कम्पनीले उत्पादन गरेका औषधिलाई समस्या परेको गुनासाहरू पनि आइरहेका छन् । औषधि आयातमा राज्यका निकायले हदैसम्म अप्ठ्यारो र समस्या दिन थालेपछि तीन महिना अगाडि औषधि आयातकर्ताहरू संगठित बनेका छन् । उनीहरूले आफूहरूको व्यावसायिक हकहितका लागि भनेर खोलेको यो संस्थालाई क्रियाशील बनाउँदै लगेका छन् । यी र यस्तै घोँचपेच तथा आक्षेपहरूका विषयमा नेपाल औषधि आयात कर्ता संघका महासचिव पवन आचार्यसँग हाम्रा सहकर्मी विमल योगीद्वारा गरिएको कुराकानी :
० औषधि आयातकर्ताहरूका विषयमा राज्य खासै सकारात्मक छैन भनिन्छ के हो बास्तविकता ?
– हामीले विदेशबाट अन्तर्राष्ट्रिय मापदण्डमा रहेका औषधिहरू सस्तोमा ल्याएर नेपाली जनतालाई उपलब्ध गराइरहेका छौँ । राज्य हामीसँग सकारात्मक नै छ । बेलाबेला केही खटपट हुने गरेको छ । यस्तै कारणले गर्दा हामीले व्यवसायीहरूको हकअधिकारका लागि संघ गठन गरेका छौँ ।
० तपाईहरूले विदेशबाट आयात गर्ने औषधि गुणस्तरीय हुँदैन भन्ने आरोप पनि छ नि ?
– विदेशबाट आयात गरिने औषधिको गुणस्तर र मापदण्ड पहिला औषधि व्यवस्था विभागले हेर्छ । हामीले औषधि ल्याएर सिधै बजारमा लगेर बिक्री गर्ने होइन । राज्यका नियामक निकायमा जानकारी गराएर मात्रै बिक्री गर्ने हो । मैले ठोकुवाका साथ भन्छु । विदेशबाट आयात गरिएका औषधि गुणस्तरीय छन् र सस्तो पनि छन् ।
० विदेशबाट आयात गरिएका औषधि सस्तो छ भन्नु भयो तर, उपभोक्ताले त विदेशी औषधि महँगो भयो भन्छन् ?
– त्यस्तो कदापि होइन । विदेशी औषधि सस्तोमा पाइन्छ भनेर मैले स्वदेशी औषधिहरू महँगा छन् भन्न चाहेको छैन । तर, हामीले आयात गर्ने औषधिहरू तुलनात्मक रुपमा सस्ता छन् । स्वदेशी उत्पादनभन्दा पनि सस्तो रुपमा हामीले जनतालाई दिएका छौं ।
० विदेशबाट आयात गरिने औषधिमा कमिशन र मुनाफा धेरै हुन्छ भन्छन् हो ?
– व्यवसाय गरिसकेपछि व्यापारीले मुना निश्चय पनि खोज्छ । तर, औषधि जस्तो सम्वेदनशील कुरामा हामी व्यापारिक रुपमा कहिल्यै प्रस्तुत हुँदैनौँ । राज्य र जनताप्रति हाम्रो पनि दायित्व छ । हामीले आयात गर्ने औषधि हाम्रा आफन्तले पनि खान्छन् । औषधिमा कमिशन र मुनाफा धेरै छ भनेर आरोप लगाउनेहरूलाई के थाहा छैन भने औषधि आयात गर्दादेखि त्यसलाई विभागमा दर्ता र बजारसम्म पु¥याउन के–के गर्नुपर्छ भन्ने कुरा भुलेका हुन सक्छन् । हामीले राज्यलाई कर पनि तिरेका हुन्छौँ । यो कुरा भुल्नु भएन ।
० औषधि आयातमा तपाईहरूलाई के–के समस्या छन् ?
– औषधि आयातकर्ताहरूलाई राज्यले दोस्रो दर्जाको नागरिकका रुपमा हेरेको अनुभूति भइरहको छ । हामीले जनताको ज्यान जोगाउन गुणस्तरीय र सस्तो औषधिहरू आयात गरेका छौँ । तर, हामीलाई पर्ने मर्काहरू औषधि व्यवस्था विभागले बुझ्नै चाहँदैन । हामीले केही समय अगाडि डेढ दर्जन मागहरू औषधि व्यवस्था विभागमा बुझाएका छौँ । केही माग पूरा पनि भएका छन् । अरु माग पूरा भएका छैनन् ।
० नेपाली औषधिहरू महँगो छ कि सस्तो ?
– नेपाली औषधिहरू सस्ता पनि छन् । राम्रा पनि छन् । गुणस्तरीय पनि छन् । स्वदेशमा उत्पादन भएका औषधिलाई नकारात्मक रुपमा कदापि लिनु हुँदैन । स्वदेशी उत्पादनहरूलाई प्रोत्साहन दिनुपर्छ । यसो भन्दैमा विदेशबाट आयात गरिने औषधि गुणस्तरहीन र महँगा हुन्छन् भन्ने आरोप भने गलत हो ।
० तपाईहरूले विदेशबाट आयात गरेको औषधि कतिसम्म सस्तो दिने गर्नुभएको छ ?
– सस्तोमा दिएकै छौँ । स्वदेशी औषधिहरूभन्दा विदेशबाट आयात गरिएका औषधि धेरै सस्तो छन् । बजारमा गएर हेरे भइहाल्छ नि ।
० राज्यले त विदेशबाट आयात हुने कतिपय औषधिहरू रोक्नु पर्छ भनेको छ नि ?
– गुणस्तरीय र सस्तो मूल्यमा औषधि पाइन्छ भने रोक्दा भइहाल्यो नि । तर, प्रतिस्पर्धाको जमानामा उपभोक्ताले रोजेर आफूलाई आवश्यक पर्ने औषधि किन्न पाउनु पर्छ भन्ने मान्यता हामी राख्छौँ । जहाँ प्रतिस्पर्धा हुन्छ त्यहाँ उपभोक्ता ठगिने अवस्था अत्यन्तै कम हुन्छ । हामीले आयात रोक्न हुँदैन भनेका छौँ । अहिले यही विषयमा समस्या देखिएको छ । यसलाई आवेगमा आएर हतारमा निर्णय नगर्दा राम्रो हुने सल्लाह हामीले सरोकारवाला निकायलाई दिइसकेका छौँ । औषधि व्यवस्था विभाग हामी आयातकर्ताहरूलाई हतोत्साहित गर्ने अभियानमा लागेको महसुस भएको छ । यस्तो भयो भने नेपाली जनतालाई ठूलो घात हुनेछ ।
० नेपाल केही औषधिहरूमा आत्मनिर्भर भएको हो र ?
– औषधि व्यवस्था विभागले जुकाको औषधि, जीवनजल, प्यारासिटामोललगायतका औषधिमा आत्मनिर्भर भएको हो भनेर भनेको थियो । तर, भरखरै हामीले राष्ट्रिय पत्रिपत्रिकाहरूमा एक करोड ट्याबलेट प्यारासिटामोल अभाव भएको समाचार पढेका थियौँ । यसलाई तपाई के भन्नु हुन्छ ? भारत, बंगलादेश जस्ता राष्ट्रले आफूलाई पुग्नेभन्दा धेरै औषधि उत्पादन गर्छन् । तर, उनीहरूले औषधिमा आत्मनिर्भर भयौँ भनेर अहिलेसम्म भनेका छैनन् ।
० औषधि कम्पनीहरूका नाममा लागूऔषधि कारोबार पनि हुँदो रहेछ है ?
– हो । हामीले पनि पत्रपत्रिका पढेर यो कुरा थाहा पायौँ । नेपालमा ४५ वटा औषधि कम्पनीहरू छन् । तीमध्ये केहीले लागूऔषधिको कारोबार गर्दा रहेछन् भन्ने समाचार पढदा नराम्रो लाग्यो ।
० नेपालमा कुन कुनै रोगको औषधि उत्पादन हुँदैन ?
– किड्नी, क्यान्सर जस्ता रोगको औषधि बनेको मलाई थाहा छैन । यी औषधिहरू विदेशबाट आयात गर्नुपर्छ । नेपालमा २ सय प्रकारका औषधि उत्पादन हुन्छन् ।
० नेपालमा विदेशबाट कति प्रकारका औषधि आयात हुन्छन् ?
– औषधि व्यवस्था विभागको तथ्याङ्कलाई ध्यान दिने हो भने विदेशबाट १५ हजार ब्राण्डका औषधि आएका छन् । ती औषधिहरू दर्ता भएको देखिन्छ ।
० नेपालमा सबैभन्दा धेरै औषधि आयात हुने मुलुक कुन हो ?
– भारतबाट बढी औषधि आयात हुन्छ । हामीले पनि भारतबाट धेरै औषधि ल्याउने गरेका छौँ । बंगलादेश र युरोपियन देशहरूबाट पनि औषधि आइरहेका छन् ।
० तपाईहरूलाई धेरै समस्याहरू के–के छन् ?
– औषधि व्यवस्था विभागमा नागरिक बडापत्र छैन । सेवाग्राहीलाई सेवा कसरी र कहिले दिने भन्ने स्पष्ट कुरा नै छैन । व्यवसायीहरूको फाइल कति दिनमा पास हुन्छ भन्ने कुरा नै हामीलाई थाहा हुँदैन । म्याद गुज्रिएका औषधिहरू नष्ट गर्ने प्रविधि छैन । यो प्रविधि ल्याउन माग गरेका छौँ । औषधिलाई जथाभावी फाल्न वा नष्ट गर्नु हुँदैन । त्यसले वातावरण र मानव जीवनमा ठूलो असर पुर्याउँछ । हाम्रो लाइसेन्सहरू प्रत्येक वर्ष नवीकरण गर्ने कुरालाई दुई वर्षका लागि नवीकरणको व्यवस्था गर्न माग गरेका छौँ । विदेशबाट नयाँ रोगका कुन–कुन औषधि आयात भएका छन् त्यसको जानकारी सबै नागरिकले सहज रुपमा पाउनु पर्छ भन्ने हाम्रो माग छ ।
० नेपालका औषधि उत्पादक कम्पनीहरूसँग तपाईहरूको लडाइँ छ ?
– कुनै कुरामा उहाँहरूसँग असहमति छैन । हामीले आफ्नो व्यवासय गरेका छौँ । उहाँहरूले आफ्नो काम गर्नुभएको छ । औषधि व्यवसाय सम्वेदनशील कुरा हो । यसलाई बिबाद वा ईष्याको रुपमा लिनु हुँदन । नेपाली जनतालाई त्यसले नोक्सानी हुन सक्छ ।















प्रतिक्रिया