१ कार्तिक २०८३, आइतबार

‘डन’ दीपक मनाङ्गे समूहको ललितपुरमा आतंक, को–को छन् संलग्न ?

12.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ चैत । व्यक्ति हत्या र अपहरणको मुद्दामा केन्द्रीय कारागार सुन्धारामा सजायकाटीरहेका कथित ‘डन’ सुजन पौडेल अर्थात ‘रमेश बाहुन’ले जेलभित्रबाटै अपराध गरिरहेका छन् भन्दा तपाईलाई अचम्म लाग्न सक्छ । तर, रमेश बाहुनले सेन्ट्रल जेलमा बसेर यही अपराध गरिरहेका छन् । प्रहरीलाई यो खबर थाहा छ । थाहा हुँदाहुँदै पनि कमिशनको चक्करमा प्रहरीले रमेश बाहुनको गतिविधिलाई चालनपाएको जस्तो गर्दै आएको आरोप छ ।

स्रोतका अनुसार रमेश बाहुनले ललितपुरलाई आफ्नो केन्द्र बनाएर अपराधिक क्रियाकलाप गर्दै आएका छन् । उनलाई अपराधमा सहयोग गरिरहेका छन् स्थानीय गुन्डा नाइके युवराज खड्का र प्रकाश मालीले । यी दुई युवाले ललितपुरका उद्योगी, व्यापारी, जग्गाकारोबारी, हाउजिङ कम्पनीका मालिक, ठेकेदार, हार्डवेर व्यापारी आदिको सूची तयार पारेर ‘रमेश बाहुन’सम्म पु¥याउने गर्छन् । रमेश बाहुनले सेन्ट्रल जेलबाट फोन गरेर धम्काई रकम उठाउने गरेको एक पीडितको भनाइ छ । रमेश बाहुनले पैसा उठाउन युवराज खड्का र प्रकाश मालिलाई लगाउने गरेका छन् ।

एकजना पीडितले भने, ‘सेन्ट्रल जेलबाट म रमेश बाहुन हुँ । मेरो मान्छे प्रकाश माली र युवराज खड्का आउँछन् । पैसा दिनु होइन भने राम्रो हुँदैन भनेर धम्की आउँछ । बाध्य भएर पैसा दिनुपर्छ । सेन्ट्रल जेलबाट रमेश बाहुनको फोन आउँछ भन्दा पनि आफूलाई लाज लाग्छ ।’
रमेश बाहुन कथित ‘डन’ दीपक मनाङ्गेको संगतमा रहेका छन् । सेन्ट्रल जेलमा रहेका रमेश बाहुनले उठाएको रकमको केही हिस्सा प्रहरीका उच्च अधिकारी र सेन्ट्रल जेलका हाकिम तथा दीपक मनाङ्गेसम्म पुग्ने गरेको स्रोतले जनायो । ‘सेन्ट्रल जेलमा रहेको व्यक्तिलाई प्रहरीको मिलोमतोमा फोन प्रयोग गर्न दिइएको छ’, स्रोतले भन्यो, ‘जेलको हाकिम र बाहिर रहेका गुन्डाहरूको सहयोगमा रमेश बाहुनले जेलभित्रैबाट आफ्ना गतिविधि चलाइरहेका छन् ।’ यसअघि पनि पत्रपत्रिकमा रमेश बाहुनले सेन्ट्रल जेलबाट फोनमा धम्काउने तथा आपराधिक क्रियाकलाप गरेको समाचार बाहिर आइसकेको छ ।

प्रकाश माली र युवराज खड्काले दीपक मनाङ्गे र रमेश बाहुनको आडमा ललितपुर जिल्लामा जग्गा प्लटिङ, हाउजिङ, घरजग्गा कारोबार, बाटो निर्माण, रोडा ढुङ्गा, इँट्टा आदिबाट जबरजस्ती पैसा असुल्ने गरेको पीडितहरूको गुनासो छ ।

प्रकाश माली र युवराज खड्काको जोडीले काभ्रेका सुरेश लामा, उमेश लामा, चन्द्र लामा, विष्णु लामा, आइत लामालाई साथमा लिएर गुन्डागर्दी गर्दै आएका छन् । यी युवाहरू काभ्रेली गुन्डा नाइके दावा लामाका निकटका मानिन्छन् । दावा लामा पनि पछिल्लो समय ललितपुरतिर लुकेर बस्ने र त्यतैबाट आफ्ना गैरकानूनी क्रियाकलाप गर्ने गरेको स्रोतको भनाइ छ ।

जुवामा लगानी गरेर जग्गा कब्जा

प्रकाश माली र युवराज खड्काले जुवा खेलाएर तीन जनाको जग्गा नै कब्जा गरिदिएको रहस्य पनि बाहिर आएको छ । ललितपुरको चापागाउँका गोकुल खड्का, रवि विष्ट र श्याम तामाङलाई जुवा खेल्ने पैसा दिएर उनीहरूको जग्गाा जबरजस्ती पास गरेर कब्जा जमाएको स्रोतको भनाइ छ । प्रकाश–युवराजको समूहले ललितपुरमा जुवा खेलाउन कार्यलाई तीब्रता दिएका छन् । प्रकाश र युवराजको फोन आउने वित्तिकै सर्वसाधारण नागरिकहरू त्रसित हुने गरेका छन् ।

को हुन् प्रकाश माली र युवराज खड्का ?

दीपक मनाङ्गेको डिस्को क्लवमा कुनै बेला प्रकाश मालीले बाउन्सरको काम गर्थे । प्रकाश मालीको गुन्डागर्दीको शैली मनपराएर दीपक मनाङ्गेले आफ्नो अंगरक्षक बनाएर राखेका थिए । प्रकाश मालीलाई केही समय सँगै पनि हिँडाए । ललितपुर जिल्लाको ठेँचो गाउँका स्थानीय बासिन्दा प्रकाश मालीलाई प्रहरीले पटक–पटक अपहरण, हत्या, जबरजस्ती रकम असुली लगायतको मुद्दामा पक्राउ गरेर कारबाही गरिसकेको छ ।

प्रकाश मालीले दश वर्ष अगाडि धापाखेलमा नेपाली सेनाका भुतपूर्व हवल्दार चुडाबहादुर खड्काको हत्या गरेर दुई वर्षसम्म फरार भएका थिए । प्रकाशले चुडाबहादुर खड्कालाई कुटपिट गरेर हत्या गरेको भन्दै आफन्तले किटानी जाहेरी दिए पनि तत्कालीन प्रहरी प्रमुख एसएसपी पिताम्बर तिमिल्सिनाले दुई लाख रुपियाँ घुस खाएर हत्याको मुद्दालाई तामेलीमा राखिदिएको आरोप पीडितहरूको छ ।

यिनै प्रकाश मालीले रमेश बाहुनलाई दीपक मनाङ्गेसँग सम्पर्क गराइ दिएको स्रोतको भनाइ छ । नेपाली सेनाका भगौडा रमेश बाहुनले त्यसपछि आपराधिक क्रियाकलाप दीपक मनाङ्गेका लागि गर्दै आएका थिए । रमेश बाहुनका नजिकका मानिने युवराज खड्कालाई पनि अपराधमा यिनै प्रकाश मालीले ल्याएका हुन् । युवराज खड्काको काम भनेको सुराकी गरेर रमेश बाहुन समक्ष व्यापारीहरूको सूचना पुर्‍याउने कार्य हो ।

प्रकाश माली र युवराज खड्काको समूहले ठेँचोस्थित तीन सय रोपनीको जग्गा प्लटिङलाई निशाना बनाएका छन् । जग्गा प्लटिङबाट मात्रै यो समूहले ३० लाख जबरजस्ती कमिशन लिएको छ । यो जग्गा प्लटिङमा आपूर्तिमन्त्री दीपक बोहराको पनि लगानी रहेको स्रोतको भनाइ छ । प्रकाश माली र युवराज खड्काको समूहसँग डराएर मन्त्री दीपक बोहराले समेत हार खाएको स्रोतको भनाइ छ ।

प्रकाश–युवराजको समूहले दीपक मनाङ्गेको पैसा ललितपुरमा मिटर व्याजमा लगाउने गरेका छन् । मिटर व्याजको पैसा समयमा नबुझाए यी दुई जोडीले व्यक्तिको अपहरण गर्ने, कुटपिट गर्ने सम्पत्ति जफत गर्ने जस्ता गैरकानूनी क्रियाकलाप गर्दै आएको स्रोतको भनाइ छ । प्रकाश र युवराजको यो क्रियाकलापको जानकार रहेको ललितपुर प्रहरीले उनीहरूलाई किन छुट दिइरहेको छ भनेर पीडितहरू चकित परेका छन् ।

के भन्छन् ललितपुर का.बा. प्रहरी प्रमुख एसपी अशोक सिंह ?

ललितपुर जिल्लामा अपराधमा संलग्नहरू ३० जना जति गुन्डाहरूलाई पक्राउ गरेर सार्वजनिक मुद्दा चलाएका थियौँ । ललितपुरमा हुने आपराधिक क्रियाकलापमा दीपक मनाङ्गेको संलग्नता देखिएको सूचना आइरहेको छ । यी सबै गुन्डानाइकेहरूलाई प्रहरीले निगरानीमा राखिरहेको छ । पीडितहरूले मलाई सिधै आएर गोप्य रुपमा सूचना वा निवेदन दियो भने यी गुन्डा नाइकेहरूलाई ठाउँमा ल्याउन प्रहरी सक्षम छ ।

पीडितले हामीलाई भन्नु पर्छ । उजुरी दिनुपर्छ । त्यसपछि मात्रै प्रहरीले एक्सन लिने हो । कुनै पनि नागरिकलाई कारबाही गर्नु अगाडि प्रमाण चाहिन्छ । डराउनु हुँदैन । सबै गुन्डा नाइकेहरू प्रहरीको निगरानीमा छन् । गुन्डानाइकेहरूको डरले पीडितहरूले निवेदन दिन नआए पनि प्रहरीले सूचना संकलन गरिरहेको छ । अपराध गर्ने कसैले पनि छुट पाउँदैन ।

प्रकाश माली र युवराज खड्काले संगठित रुपले आपराधिक काम गरेको सूचना प्रहरी समक्ष आइसकेको छ । हामीले ‘एक्सन’ लिन्छौँ । तपाईहरूले केही समयभित्र रिजल्ट देख्न पाउनु हुन्छ । काभ्रेली गुन्डानाइके दावा लामा समूहले पनि ललितपुर जिल्लालाई सेल्टर बनाएको सूचना आएको छ । गुन्डा नाइकेहरूलाई तह लगाउँछौँ ।