५ मंसिर २०८३, शनिबार

जाजरकोट अपडेटः नाइटभिजन हेलिकप्टर अवतरण हुन नसकी फर्कियो, मृतकको संख्या २५, घाइते ४१

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जाजरकोट, २६ फागुन । जाजरकोटमा बस दुर्घटनामा परी घाइते भएकाहरुलाई उद्दारका लागि गएको नेपाली सेनाको नाइटभिजन हेलिकप्टर ल्याण्ड हुन नसकी फर्किएको छ ।

काठमाडौंबाट गएको सेनाको नाइटभिजन हेलिकप्टर अवतरण हुन नसकी रुपन्देहीमा ल्याएर राखिएको छ ।

३९ जना घाइतेलाई थप उपचारका लागि रुकुमको चौरजहारी ल्याइएको छ । जाजरकोट सदरमुकाम खलङ्गाबाट साल्मा–५ खारातर्फ गइरहेको ना ३ ख २२७९ नं को यात्रु बस आज पासागाड खोलामा दुर्घटनाग्रस्त हुँदा २५ जनाको मृत्यु भएको हो ।

भेरीमालिका नगरपालिका–४ पासागाडमाथि घुमाउरो सडकबाट करिब चार सय मिटर तल खसेर बस दुर्घटना भएको थियो । दुर्घटनामा परी ४१ जना घाइते भएको प्रहरीले बताएको छ । सदरमुकामबाट ४३ यात्रु लिएर गुडेको सो बसमा थप यात्रु चढेको घाइतेको भनाइ छ ।

मृत्यु हुनेमा भेरीमालिका नपा–४ का गणेश बोहोरा र नदिल चन्द, भेरीमालिका–३ का शान्त सुनार, भेरीमालिका–१० का सन्तोष चन्द, भेरीमालिका–११ का गोपाल सुनार, बहादुर भण्डारी र शर्मिला सुनार, दसेरा–१ का डिलबहादुर बुढा र दसेरा–२ का मनिराम जैसी, सिमा–९ का मदन पुन, लहँ–४ का रामबहादुर बस्नेत, साल्म–५ का नन्दलाल जैसी, पजारु–८ का नैने दमार्इं, मजकोट–७ का दले तिरुवा र रुकुम चौरजहारीका कृष्णबहादुर गिरी छन् । अन्य मृतकको सनाखत हुन सकेको छैन ।