
जाजरकोटमा बिहीबार सांझ भएको कहालीलाग्दो बस दुर्घटनाबारे घटनास्थल पुगेका जाजरकोटका पत्रकार दिनेश श्रेष्ठको रिपोर्टः
– अहिलेसम्म २५ जनाको ज्यान गएको छ । मृतकमध्ये १९ जना पुरुष र ५ जना महिला छन् । १३ जनाको घटनास्थलमै र बाँकीको उपचारका लागि ल्याउने क्रममा ज्यान गएको हो ।
– ३५ जना भन्दा बढी गम्भीर घाइते छन् । उनीहरुको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ ।
– मृत्यु हुनेमा भेरीमालिका नपा–४ का गणेश बोहोरा र नदिल चन्द, भेरीमालिका–३ का शान्त सुनार, भेरीमालिका–१० का सन्तोष चन्द, भेरीमालिका–११ का गोपाल सुनार, बहादुर भण्डारी र शर्मिला सुनार, दसेरा–१ का डिलबहादुर बुढा र दसेरा–२ का मनिराम जैसी, सिमा–९ का मदन पुन, लहँ–४ का रामबहादुर बस्नेत, साल्म–५ का नन्दलाल जैसी, पजारु–८ का नैने दमार्इं, मजकोट–७ का दले तिरुवा र रुकुम चौरजहारीका कृष्णबहादुर गिरी छन् । अन्य मृतकको सनाखत हुन सकेको छैन ।

– सनाखत हुनेमा जाजरकोट जिल्लाकै भीरमालिका–४ बोहोराका टोपबहादुर चन्द र सहचालक सोही ठाउँका नवीन चन्द रहेका छन् । दुर्घटनामा चालकको गल्ती देखिएको छ ।
– जाजरकोट सदरमुकामबाट पश्चिम साल्मा गाविसको खारा बजारका लागि बेलुकी ५ बजेतिर यात्रु लिएर हिंडेको ना २ ख २२७९ नम्वरको लोकल बस दुर्घटनामा परेको हो ।
– सदरमुकाबाट दुई किलोमिटर टाढा बोहोरा गाउँको घुम्तीमा पुगेपछि तीवग्रतिमा रहेको गाडीलाई नियन्त्रण लिन खोज्दा भीरबाट खसेर पासागाड खोलामा पुगेको छ । बस सडकबाट दुई सय मिटर तल खसेको छ ।
– घाइतेको अबस्था गम्भीर छ ।
– बाँचेका मानिसहरु पनि बोल्न सक्ने अबस्थामा छैनन् । मृतकको संख्या अझै बढ्ने अनुमान छ ।
– घटनास्थलमा कोलाहलपूर्ण अबस्था छ । आफन्तले यात्रा गरेका आफ्ना मान्छेलाई खोजिरहेका छन् ।
– यात्रा गर्ने मानिसमध्ये केही नागरिकता बनाउन बनाउन त केही उपभोक्ता समितिको रकम निकासाका लागि सदरमुकाममा आएर फर्केर थिए ।
– गाडी टुक्रा टुक्रा भएको छ । गाडी सडकबाट चार बल्याङ खाएको छ । नेपाल प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा उद्दार कार्य सकिएको छ ।
– जाजरकोटमा दुई बर्ष अघि २०७१ मंसिर ४ गते ५४ जनाको ज्यान जाने जारी गरी दुर्घटना भएको थियो । अर्को कहालीलाग्दो दुर्घटनाबाट मानिसहरु निराश बनेका छन् ।
घाइते बिनाकुमारी खत्री भन्छिन् – “सदरमुकामबाट एउटै सिटमा तीन जनालाई जर्बजस्ती राखेर बस गुड्यो, सहचालकले ‘प्रहरीलाई नभन्नू’ भनी यात्रुलाई हप्काएको थियो । बसपार्कबाट अलि पर खोलामा पुगेपछि दर्जनभन्दा बढी मान्छे गाडीको कोलिया भरिभराउ हुने गरी हालेर जथाभाबी बस हाँकिएको थियो । हामीले धेरै नहाँक भन्दा पनि केही मानेनन् । एक्कासि २० मिनेटमा बोहरा नजिक मोडमा पुग्दा बस मोड्नुपर्ने ठाउँमा सिधै पर्खाल बाहिर गयो । चालकले मदिरा सेवन गरे जस्तो पनि देखिन्थ्यो । यात्रुहरु कोचाकोच गरी बसमा बस्दा श्वास फेर्ने ठाउँसम्म थिएन ।”

अर्का घाइते रोकायगाउँ गाविसका सचिव टीकाराम रावतका अनुसार बस तीव्र गतिमा थियो, मानिस धेरै हालेका कारण टाउको समेत ठाडो गरेर बस्ने अवस्था थिएन । बच्चाहरु रोइरहेका थिए ।













प्रतिक्रिया